ad ad

राजनीति


प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आजदेखि

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आजदेखि

नेपालखबर
साउन २२, २०७९ आइतबार ७:२४, काठमाडौँ

प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज दल दर्ता सुरु गर्दै छ। 

आयोगले शुक्रबार सूचना जारी गरी साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो। 

यसअनुसार मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन चाहने दलहरूले आज निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरु गर्नेछन्। 

साउन ३१ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ, काठमाडौंस्थित कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आयोगले भनेको छ।

निवेदनको ढाँचा आयोगको वेबसाइट बाट डाउनलोड गर्न वा आयोगको सचिवालयबाट प्राप्त गर्न सकिनेछ।

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति समेत उल्लेख गर्नुपर्नेछ।  

दल दर्ताको लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशको लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ। 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा सो भन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनको लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ बमोजिमको ढाँचामा निवेदन दिनु पर्ने व्यवस्था गरिएको छ।

‘दल दर्ताको लागि निवेदन पेस गर्दा संविधानको धारा २६९ को उपधारा ४ बमोजिमका शर्तहरु पूरा गरेको र यी शर्तहरु पूरा गर्ने प्रतिवद्धता जनाएको पत्र समेत निवेदनसाथ संलग्न हुनुपर्ने र आयोगबाट स्वीकृत रुजुसूची (चेक लिस्ट) भरी प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरी पेस गर्नुपर्ने छ’ आयोगले भनेको छ।

दल दर्ता प्रयोजनका लागि सार्वजनिक बिदाका दिनमा समेत आयोगको कार्यालय खुला रहने र अन्य थप जानकारीका लागि आयोगको टोलिफोन नं ०१–५३२३१८२ र ४२२९६४३ मा सम्पर्क राख्न सकिने समेत व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .