नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लै बहुमत ल्याउन सक्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित उपत्यका विशेष प्रदेश कमिटीको रणनीतिक कार्यशाला गोष्ठीमा उनले राम्रो मिहिनेत गरे एमाले ठूलो दल हुने वा बहुमतको सरकार बनाउन सक्ने उनले बताए।
‘एमालेलाई दुईतिहाइ चाहिन्छ। तर, अहिले हामीले दुईतिहाइ ल्याउने सम्भावना छैन', उनले भने, 'संगठित र योजनाबद्ध रूपमा काम गर्यौँ भने बहुमत ल्याउन सक्छौँ। केन्द्रमा एकल सरकार अप्ठेरो नपर्ने गरी सरकार बनाउन सकिन्छ।’
ओलीले यसअघि २०५१ सालमा मनमोहन अधिकारीको सरकारलाई पनि अदालतमार्फत चल्न नदिएको बताए
‘२०५१ सालमा एमालेको सरकार चल्न दिएनन्। उही अदालत प्रयोग गरियो। त्यसबेला पनि ठूलो दलको हैसियतले हामीले सरकार चलाएका हौँ', उनले भने, 'गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गर्दा सही, मनमोहन अधिकारीले विघटन गर्दा हराइयो। व्यक्तिलाई हेरेर अदालतबाट मुद्दाको छिनोफानो गरियो।;
उनले कांग्रेसले अहिले थप सुविधा पाएको बताए। 'वामपन्थी सरकार देख्न नचाहनेको सहयोग कांग्रेसले पायो', उनले भने, 'नत्र प्रश्न गर्न सक्ने हैसियतसम्म कांग्रेसको थिएन।’
ओलीले अहिले पनि कांग्रेस भनेको बन्चरो मात्रै भएको बताए। ‘अहिले पनि कांग्रेस भनेको बन्चरो मात्रै हो। बिँड त कम्युनिस्टधारी काठ हुन्', उनले भने, 'जब कम्युनिस्ट मजबुत हुन्छन् अनि ढाल्न थाल्छन्।’
Shares
प्रतिक्रिया