ad ad

राजनीति


ताइवानमा तनाव बढ्दा नेपालले कस्तो नीति लिने? यसो भन्छन् विज्ञ

ताइवानमा तनाव बढ्दा नेपालले कस्तो नीति लिने? यसो भन्छन् विज्ञ

सन्तोष घिमिरे
साउन १९, २०७९ बिहिबार ७:३३, काठमाडौँ

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीन-अमेरिकाबीच तनाव बढेका बेला काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले बुधबार विज्ञप्ति जारी गरी ताइवानका सवालमा नेपालले लिएको नीतिको सराहना गरिन्।

राजदूत होउले ‘ताइवान स्वतन्त्रता’ मुद्दामा नेपालले दृढतापूर्वक विरोध गरिरहेकामा प्रशंसा मात्र गरिनन्, आगामी दिनमा पनि त्यो समर्थन कायमै रहने विश्वास व्यक्त गरिन्। 

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणले चीन र अमेरिकाबीच सम्बन्ध तनावको शिखरमा पुगेका बेला चिनियाँ राजदूत होउले ताइवान मामिलामा नेपालको प्रतिबद्धता स्मरण गराएकी हुन्।

राजदूत होउको वक्तव्यमा दुई कुरा प्रस्ट छन्। पहिलो - चीनको अभिन्न अंग ताइवान टुक्र्याउने गतिविधि मान्य छैन र त्यसमा अमेरिकाको हस्तक्षेप किमार्थ स्वीकार्य छैन। यस मामिलामा नेपालले अहिलेसम्म लिइरहेको अडान ठीक छ। दोस्रो - अबका दिनमा पनि नेपालले त्यसैगरी ताइवान मामिलामा चीनलाई सहयोग गरिदेओस् भन्ने आशय व्यक्त गरिएको छ। 

राजदूत होउको वक्तव्यलाई जानकारीमा लिएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए।

‘चीन हाम्रो निकटतम छिमेकी हो। ताइवान उसको कोर इन्ट्रेस्ट जोडिएको संवेदनशील विषय छ। त्यसकारण यस विषयमा थप छलफलपछि बताउनेछौं। अहिले केही भनिहाल्ने अवस्था छैन’, मन्त्रालयका एक उच्च अधिकारीले भने। नेपाल एक चीन नीतिमा विचलित नहुने उनको भनाइ छ। 

पेलोसीको भ्रमणसँगै ताइवान मामिलामा अमेरिका र चीनको टकराव अझ बढ्ने अनुमान भइरहँदा अमेरिकाले ताइवानजस्ता चीनका संवेदनशील मुद्दामा अबका दिनमा नेपाललाई डोर्याउन खोजेको खण्डमा नेपाललाई परराष्ट्र सम्बन्ध सञ्चालनमा निकै चुनौतीपूर्ण परिस्थिति आउन सक्ने परराष्ट्र सम्बन्धका जानकारहरुको बुझाइ छ। 

नेपालले एक चीन सिद्धान्तअन्तर्गत ताइवान, तिब्बत र हङकङलाई चीनको अभिन्न अंग मानेको छ। चीनसँग हुने औपचारिक/अनौपचारिक कुराकानीमा नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाउने गरेकै छ।

नेपालले एक चीन नीतिमा निरन्तर प्रतिबद्धता जनाइरहे पनि अहिले अमेरिकी सभामुखको ताइवान भ्रमणका बेला चिनियाँ राजदूतले नेपालको समर्थन किन मागिन् भनेर कूटनीतिक वृत्तबाट समेत चासो व्यक्त भएको छ।

पूर्वराजदूत शम्भुराम सिंखडा ताइवान मामिलामा नेपालको नीति स्पष्ट रहेको बताउँछन्।

‘हामी ताइवानलाई चीनको एक अभिन्न अंग मान्छौं। एक चीन नीतिमा हाम्रो प्रतिबद्धता स्पष्ट छ। तत्काल यसमा कुनै परिवर्तन त के, परिवर्तन सोच्न सक्ने अवस्थामा पनि नेपाल छैन’, संयुक्त राष्ट्रसंघका लागि पूर्वस्थायी प्रतिनिधिसमेत रहेका सिंखडाले नेपालखबरसँग भने। 

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणले अमेरिकाले ताइवानलाई हेर्ने नीति परिवर्तन गर्न लागेको हो कि भन्ने ठाउँ दिएको उनले बताए।

‘अमेरिकाका तर्फबाट सभामुख तहको भ्रमण भयो। यसले अबका दिनमा अमेरिका र चीनबीच टकराव झन चर्काएर लैजान सक्छ। तर, चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रे पनि नेपाल आफ्नो असंलग्न परराष्ट्र नीतिप्रति अडिग रहनुपर्छ’, उनले भने।

चीन तथा अमेरिका दुवैसँग नेपालको असल द्विपक्षीय सम्बन्ध रहेकाले अबका दिनमा उनीहरुबीच टकराव भएको अवस्थामा पनि त्यो कायम हुनुपर्ने सिंखडाले बताए। 

उनले भने, ‘हामीले अमेरिका र चीन दुवैलाई भन्न सक्नुपर्छ कि तिमीहरु दुई देशबीचको टकरावको असर नेपाल मामिलामा देखिनु हुँदैन। हाम्रो नेपाली भूमिलाई उनीहरुका भूराजनीतिक चलखेलको बिन्दु हुन सक्दैन भन्ने कुरा पनि दुवैलाई स्पष्ट शब्दमा व्यक्त गर्नुपर्छ।’

अबका दिनमा ताइवान मुद्दामा चीन र अमेरिकाबीच टकराव गहिरिए त्यसले नेपालमा कस्तो प्रभाव  पर्न सक्छ भन्नेबारे सतर्क भएर नियाल्नुपर्ने उनले बताए। 

चीनका लागि पूर्वनेपाली राजदूत डा. महेशकुमार मास्के पनि अमेरिकी सभामुखको भ्रमणले चीन र अमेरिकाबीच टकराव बढ्न सक्ने बताउँछन्।

‘पेलोसी अघोषित भ्रमणमा आइन्। बाइडेनले उनलाई भ्रमणमा नजान भनेका समाचार पनि आए’, मास्केले नेपालखबरसँग भने, ‘यद्यपि चीन र अमेरिकाबीचको सम्बन्धमा यसले लामो समयसम्म नकारात्मक असर पार्ने देखिन्छ। किनकि उनी अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछि तेस्रो वरीयतामा पर्छिन्। उनको भ्रमण अमेरिकी सरकारको नीति र सल्लाहअनुसार नै भएको देखिन्छ।’

मास्केले चीन र अमेरिकाबीच ताइवानका विषयमा तनाव चुलिए पनि नेपालले चीन चिढ्याउने गरी कुनै गतिविधि गर्न दिन नहुने बताउँछन्। एक चीन नीतिको मान्यतामा नेपाल विचलित हुन नहुने उनले बताए।

‘अमेरिकी सभामुखले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाको रणनीतिक स्वार्थ बढाउन भ्रमण गरेको देखिन्छ’, मास्के भन्छन्, ‘उनले ताइवानमा दिएको वक्तव्यले पनि त्यही भन्छ। हामी चीनका विरुद्ध अमेरिकाका सैन्य रणनीतिमा सहभागी हुनु हुँदैन।’ ​

ताइवान स्वतन्त्रताविरुद्ध नेपाल बोलिदियोस् भन्ने चाहना छ : चिनियाँ विज्ञ 
नेपाललगायत साना छिमेकी मुलुकले अमेरिकी सभामुखको भ्रमणलाई कसरी हेर्छन् भनेर चिनियाँ पक्षले मिहिन रू​पमा नियालिरहेको एकजना चीन सरकारनिकट विज्ञ बताउँछन्।

पाकिस्तान र म्यानमारले अमेरिकी सभामुख पेलोसीको भ्रमणको विरोधमा वक्तव्य निकालिसकेका छन्। नेपालले पनि ताइवान मामिलामा बोलिदियोस् भन्ने चीनको अपेक्षा रहेको उनले बताए। उनका बुझाइमा देउवा नेतृत्वको सरकारप्रति केही अविश्वास र संशय चीनलाई छ।

‘युक्रेन मामिलामा झैं ताइवानका मुद्दामा पनि कतै पश्चिमा मुलुकसँग लहसिन्छ कि अथवा असंलग्न परराष्ट्र नीति छाड्छ कि भन्ने संशय चिनियाँ पक्षमा छ। त्यही कारण अहिले राजदूत होउले पेलोसी ताइवानमै रहेका बेला विज्ञप्ति निकालेर एक चीन नीतिको स्मरण गराएकी हुन्’, उनले भने।

हालैका महिनामा अमेरिकी अधिकारीले सरकारको अनुमतिमा तिब्बती शरणार्थीका शिविर भ्रमण गरेकामा समेत चीन सशंकित रहेको ती चिनियाँ विज्ञले बताए।

उनले नेपालखबरसँग टेलिफोनमा भने, ‘तिब्बत, ताइवान र हङकङका मामिलामा नेपालको नीति कागजमा ठीक छ। तर व्यवहारमा बेलाबखत विचलन आएका पनि छन्।

जस्तो : केही समयअघि तिब्बत हेर्ने अमेरिकी अधिकारी उज्रा जियाले काठमाडौंमा तिब्बती शरणार्थी शिविर घुमिन्, त्यो पनि नेपाल सरकारको स्वीकृतिमा। त्यसकारण अहिले राजदूत होउले देउवा सरकारलाई ताइवान मामिलामा अमेरिकी बहकाउमा नपर्न आफ्नो हिसाबमा सचेत गराएको हुनुपर्छ।’

चीन र अमेरिकाबीच विश्वव्यापी विवादका विषयमध्ये एक हो - ताइवान मामिला। चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ र अमेरिकाले सम्बन्ध बढाए विरोध गर्ने गरेको छ। ताइवानसँग रणनीतिक र आर्थिक सम्बन्ध बढाएर आफूलाई काउन्टर गर्ने अमेरिकी नीति रहेको चीनको बुझाइ छ। अमेरिकाका व्यवहार हेर्दा त्यस्तो देखिन्छ पनि।

किनभने अमेरिकाले एकातिर ताइवानलाई ठूलो मात्रामा हतियार बिक्री गर्छ, अर्कातिर औपचारिक रुपमै भए पनि ताइवान चीनकै भूभाग रहेको दोहोर्याउन पनि पछि पर्दैन। साउथ चाइना सी र ताइवानको आकाशमा चीनले सैनिक विमान उडाए त्यसको विरोध अमेरिकाकातर्फ हुने गरेको छ।

अमेरिकी हिन्द प्रशान्त रणनीतिमा ताइवानलाई पनि एक महत्त्वपूर्ण रणनीतिक बिन्दु मानिएको छ। ताइवानमा अमेरिकी सभामुखको भ्रमण हुनुलाई चीनले अमेरिकाको एक चीन सिद्धान्त र विगतमा दुई देशबीच भएका सहमतिको विचलनका रुपमा लिएको छ।

ताइवान भ्रमण गरेकी अमेरिकी सभामुख पेलोसीले आफ्नो भ्रमण ताइवानको लोकतन्त्रका लागि समर्थन जनाउन भएको प्रतिक्रिया दिएकी छिन्। उनले आफ्नो भ्रमण अमेरिकाको एक चीन नीतिविपरीत नरहेको दाबी पनि गरेकी छन्।

अमेरिकी सभामुख पेलोसी २४ घण्टे भ्रमण पूरा गरेर ताइपेईबाट उडिसकेकी छन्। तर, अबका दिनमा ताइवानप्रति चीनको व्यवहार कस्तो हुन्छ र अमेरिकाले ताइवान मामिलामा कस्तो रणनीति अख्तियार गरेर चीनलाई ‘काउन्टर’ गर्ने प्रयास गर्छ, त्यसले चीन-अमेरिका सम्बन्धको भविष्य बताउने कूटनीतिक मामिला जानकारहरूको भनाइ छ।

चीन र अमेरिका तनाव साम्य बन्यो भने त ठीकै होला, तनाव बढेका खण्डमा त्यसको दबाब नेपाललाई पनि पर्ने संकेत देखिइसकेको छ । तनाव बढेका बेला चीन र अमेरिका दुवैले नेपाललाई आआफ्ना पक्षमा तान्न कोसिस गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .