राजनीति


आईपीएस सम्मेलनमा अष्ट्रेलियामा प्रधानसेनापति, सांसदहरुले उठाए प्रश्न

आईपीएस सम्मेलनमा अष्ट्रेलियामा प्रधानसेनापति, सांसदहरुले उठाए प्रश्न

फाइल तस्बिर


नेपालखबर
साउन १३, २०७९ शुक्रबार १३:३६, काठमाडौँ

प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासफिक कमान्डद्वारा आयोजित विभिन्न मुलुकका सैनिक प्रमुखहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अष्ट्रेलिया गएकोबारे सांसदहरुले प्रश्न उठाएका छन्। 

अमेरिकी इन्डो प्यासिफिक सैन्य रणनीतिमा नेपाल नबस्ने कुरा भइरहेका बेला त्यसकै सम्मेलनमा सरकारले प्रधानसेनापतिलाई पठाएको भन्दै चर्को आलोचना भएको हो।

शुक्रबारको संसद बैठकमा परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग प्रश्न गर्दै सांसदहरुले अमेरिकी सैन्य रणनीतिको सम्मेलनमा शर्मालाई पठाएर गल्ती गरेको बताएका छन्। 

नेकपा एमालेका सांसद नारायण खतिवडाले प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे प्रश्न उठाउँदै सरकारले फेरि अर्को विवादित कदम चालेको उल्लेख गरेका छन्। 

त्यसैगरी नेकपा एमालेकै सांसद महेश बस्नेतले सरकारको आलोचना गर्दै प्रधानसेनापतिको अष्ट्रेलिया भ्रमण विवादित भएको उल्लेख गरेका छन्। 

'नेपालको परराष्ट्र नीति असंलग्न छ। पञ्चशीलको सिद्धान्त अख्तियार गर्छ। हामी त्यही आधारमा सरकार र दललाई समर्थन गर्छौँ', बस्नेतले भने, 'कतिपय साथीहरुले सैन्य रणनीतिक स्ट्राटेजीमा सहभागी भए थानकोट काट्छु भनेका छन्, यसतर्फ मन्त्रीज्यू र सरकारको ध्यान किन नगएको?'

उनले एसपीपी अघि नबढाउने भनेर १९ जुलाईमा पत्र लेखेको भनिरहेका बेला प्रधानसेनापति शर्मा अमेरिकी सैन्य रणनीतिको सम्मेलनमा गएको भन्दै आपत्ति जनाए। 

'अस्ट्रेलियामा हुने इन्डो प्यासिफिक चिफ अफ डिफेन्स सम्मेलनमा प्रधानसेनापति प्रभुराम शर्मा जानु भएको खबर छ', उनले भने, 'उहाँ किन जानु भएको हो? किन सरकारले पठाएको हो? यसमा परराष्ट्र मन्त्रीले मात्रै नभएर प्रधानमन्त्रीले पनि जवाफ दिनुपर्छ।'

त्यसैगरी अर्की सांसद विमला विकले पनि प्रधानसेनापतिलाई अस्ट्रेलिया भ्रमणको अनुमति कसले दिएको भन्दै प्रश्न गरेकी छन्। 

त्यस्तै सांसद चाँदतारा कुमारीले पनि प्रधानसेनापति आईपीएसको सम्मेलनमा गएको भन्दै यसबारे सरकारले जवाफ दिनुपर्ने अडान लिएकी छन्। अर्की सांसद दिलकुमारीले पनि प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणबारे प्रश्न उठाइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad