राजनीति


संसदमा प्रश्न : बलात्कार आरोपी सिद्धबाबालाई महायज्ञमै मन्त्रीले किन भेट्दैछन्?

संसदमा प्रश्न : बलात्कार आरोपी सिद्धबाबालाई महायज्ञमै मन्त्रीले किन भेट्दैछन्?

फाइल फोटो


नेपालखबर
साउन १३, २०७९ शुक्रबार १३:२०, काठमाडौँ

नेकपा (एमाले) की सांसद डा. शिवमाया तुम्बाहाङ्फेले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई महायज्ञमा पुगेर सरकारका मन्त्रीहरुले भेटेको भन्दै आपत्ति जनाएकी छन्। 

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद डा. तुम्बाहाङ्फेले पशुपतिनाथ परिसरभित्र चलेको महायज्ञमा अनुयायीमाथि बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सरकारका मन्त्री तथा उच्च पदस्थले भेटेकोप्रति आपत्ति जनाइन्। 

उनले गिरीको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको उल्लेख गर्दै त्यस्तो व्यक्ति रहेको महायज्ञमा सरकारका मन्त्री र महान्यायाधिवक्ता उपस्थित हुनुले नेपाली महिलाले के सोच्ने भन्ने प्रश्न गरिन्। 

सांसद तुम्बाहाङ्फेलेले आरोपित गिरीलाई अदालतले साधारण तारिखमा छोडेकोले न्यायाधीशमाथि पनि प्रश्न उठेको बताएकी छन्। 

‘पशुपति परिसरभित्र ९ दिने महायज्ञ भइरहेको सुनिरहेका छौँ। सबैतिर चर्चाको विषय बनेको छ। महायज्ञमा सुनसरी जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दासँग गाँसिएका आफ्नै अनुयायीलाई बलात्कार गरेको अरोप लागेका व्यक्ति पनि संलग्न छन् भन्ने कुरा छ। अदालतमा विचाराधीन मुद्दाबारे भन्नु केही छैन', उनले भनिन्, 'तर उक्त मुद्दासँग जोडिएका कृष्णबहादुर गिरी 'सिद्धबाबा' लाई भेट्न मन्त्री, महान्यायाधिवक्ता समेत महायज्ञमा गएर उपस्थिति जनाउँदा महिलाहरुले, नेपाली जनताहरुले के ठानेका छन् भन्ने कुरा सोच्ने कि नसोच्ने सरकारले?'

उनले मुद्दामा आरोपित व्यक्ति जति बेलासम्म फैसला हुँदैन तबसम्म आरोपितलाई सर्वोच्च अदालत र पुनरावेदन अदालत विराटनगरले पुर्पक्षको लागि थुनामा राख्नु भनेर आदेश दिएको कुरा  पनि उनले स्मरण गराइन्। 

'त्यसरी साधारण तारिखमा छोड्नुहुन्न भनिरहँदा, अदालतले आदेश दिइरहँदा अदालतका न्यायाधीशहरुले सादा तारिखमा छोडिरहँदा न्यायाधीशको आफ्नो कार्यकुशलतामाथि प्रश्नचिन्ह खडा भएको छ', उनले भनिन्,'त्यसैले त्यस विषयमा छानबिन हुन्छ कि हुन्न भनेर हामीले सम्बन्धित पक्षलाई प्रश्न गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad