निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठित संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन शुक्रबार दिउँसो सभामुखलाई बुझाउने भएको छ।
शुक्रबार दिउँसो ३ बजे समितिका संयोजक लक्ष्मणलाल कर्णले उक्त प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाउने भएका हुन्।
समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले बिहीबारै प्रतिवेदन लेखनको काम सकिएको बताएका थिए।
छानबिन समितिले दिउँसो ३ बजे बुझाएको प्रतिवेदन आजै दोस्रो पटक बस्ने संसद बैठकमा प्रस्तुत गरिने भएको छ।
समिति बैठकको प्रतिवेदन समिति संयोजक कर्णले संसदमा पेश गर्नेछन्।
उक्त प्रतिवेदनमा असहमति रहेका नेकपा एमालेका सांसदहरुले आफ्ना लिखित कुराहरु कर्णलाई बुझाइसकेका छन्।
शर्मामाथि चालू आर्थिक वर्षको बजेट र त्यससँग सम्बन्धित आर्थिक विधेयक तयार गर्दा बाहिरी मान्छे संलग्न गराएको आरोप लगेको छ।
आर्थिक विधेयकमा बाहिरी व्यक्ति संलग्न गराएर करका दर हेरफेर र संशोधन गरिएको विषय संसदमा उठेको थियो।
त्यसपछि छानबिन गर्न विशेष समिति गठन भएको छ। गठित समितिलाई शुक्रबारसम्म प्रतिवेदन बुझाउनुपर्ने समयसीमा तोकिएको थियो।
समिति सदस्य खगराज अधिकारीले कतिपय बुँदाहरुमा सहमति भए पनि कतिपय बुँदामा छलफल पनि नभएको बताए।
Shares
प्रतिक्रिया