ad ad

राजनीति


धोका दिए पनि कांग्रेससहितको गठबन्धनबाटै चुनावमा जाने माओवादी निष्कर्ष

धोका दिए पनि कांग्रेससहितको गठबन्धनबाटै चुनावमा जाने माओवादी निष्कर्ष

नेपालखबर
असार २३, २०७९ बिहिबार १९:०, काठमाडौँ

आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वर्तमान गठबन्धनलाई नै लिएर अघि बढाउनुपर्ने निष्कर्ष सत्ता साझेदार नेकपा माओवादी केन्द्रले निकालेको छ। 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै कांग्रेसले फाइदा मिल्ने ठाउँमा मात्रै गठबन्धनलाई केन्द्र बनाएको आरोप लगाए। 

प्रज्ञा भवनमा आयोजित बैठकमा प्रचण्डले ‘गठबन्धनको स्थिति’बारे केन्द्रीय सदस्यहरुमाझ चर्चा गरेका थिए। 

‘पहिलो कुरा स्थानीय निर्वाचनमा केन्द्रले जहाँ गम्भीर ढंगले हस्तक्षेप गर्यो, त्यहाँ परिणाम मूलतः राम्रो आएको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘जहाँ तल जिम्मा दिइयो, त्यहाँ राम्रो भएन। जो जता पनि गएर तालमेल गर्ने काम भयो। त्यो काममा कांग्रेस नै सबैभन्दा अगाडि देखियो।’

कांग्रेसले आफूलाई जहाँ फाइदा मिल्छ त्यहाँ मात्र गठबन्धन गरेको प्रचण्डको ब्रिफिङ थियो। 

‘नेपाली कांग्रेसले आफूलाई जहाँ फाइदा मिल्छ त्यही गर्यो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘हामीलाई केन्द्रमा ल है गर्नुपर्छ भनियो। तर आफू चाहिँ जता पनि मिल्यो। यसले समस्या पारेको हो।’

‘घोराहीमा धोका, भरतपुर र सिमरा ठिकै’
माओवादी बैठकमा प्रचण्डले गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनबारे ब्रिफिङ गरे। उनले कांग्रेसकै कारणले दाङको घोराहीमा हार्नु परेको समेत बैठकमा बताए। 

‘दाङको घोराही हामीले जित्नैपर्ने थियो, अन्य कारण पनि होलान्, मुख्य चाँही कांग्रेसभित्रको अन्तरविरोधले हारेका छौं,’ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘केन्द्रले बुझेर भरतपुर, धरान, सिमरा लगायतमा ठिकै परिणाम आयो। त्यहाँ गठबन्धनले काम गर्यो।’

‘अहिले नै गठबन्धनको विकल्प नसोचौँ’
प्रचण्डले अहिले नै गठबन्धन तोडेर अन्य कुरा सोच्न नहुने जानकारी बैठकमा गराएका छन्। 

‘अहिले नै गठबन्धन तोडेर अर्कोतर्फ जाने भन्ने नसोचौँ, त्यसो गर्नुपनि हुँदैन,’ बैठकमा प्रचण्डले राखेको भनाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘हामीले यही गठबन्धन भित्रबाट अधिकतम् फाइदा लिनुपर्छ।’

उनले आगामी निर्वाचनमा टिकट बाँड्दा यसअघि जस्तो गल्ती नगर्ने बैठकमा बताए। 

‘अब त प्रदेशको या संघको टिकट बाँड्दा अत्यन्तै ध्यान दिइन्छ,’ प्रचण्डले बैठकमा भने, ‘यो पटक कमाण्ड र कन्ट्रोल सीधै केन्द्रबाट हुन्छ। तालमेल गर्दा केन्द्रमा नै गम्भीर छलफल गरेर जानुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .