ad ad

राजनीति


माओवादीले घोषणा गरेन पदाधिकारी, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी पक्का

माओवादीले घोषणा गरेन पदाधिकारी, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी पक्का

फाइल फोटो


नेपालखबर
असार २३, २०७९ बिहिबार १७:१७, काठमाडौँ

नेकपा माओवादी केन्द्रले जारी केन्द्रीय समिति बैठकबाट पनि पदाधिकारी चयन गर्न सकेन।

प्रज्ञा भवन कमलादीमा चार दिनदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५६ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका छन्।

तर पुसमा भएको आठौं महाधिवेशनबाट अध्यक्षमा फेरि दोहरिएका प्रचण्डले पदाधिकारीबारे निर्णय लिन अझै केही साता समय मागेका छन्। 

उनले केन्द्रीय सदस्यहरुसँग अझै केही दिन समय उपलब्ध गराइदिन अनुरोध गरे। 

'स्थानीय निर्वाचनमा भएको अन्तर्घात र अनुशासनहीन अवस्थाको छानबिन गर्न त हामीले टंक राई नेतृत्वको कमिटीलाई  १५ दिनभित्र प्रतिवेदन बुझाउन भनेका छौँ', उनले भने, 'पदाधिकारी बनाउने कुरामा पनि हामीलाई थोरै समय किन नदिने त?'

उनले पोलिटब्युरो र स्थायी समिति हाँसिखुसीसाथ टुंगिएको बताउँदै पदाधिकारी त सजिलै चयन गर्ने बताए। 

'अब जाबो पदाधिकारी त अब सजिलै टुंगिन्छ। अलिकति समय पुगेको छैन, सहमति बनाउन अझै दुई चार दिन चाहिएको छ', उनले भने, 'केन्द्रीय समितिसँग अनुरोध गर्दैछु, मलाई केही समय दिनुस्, म सबैलाई खुसी बनाएर पदाधिकारी पनि टुंगो गर्छु।'

प्रचण्डले पोलिटब्युरो र स्थायी समिति टुंगो गरिसकेकाले राहत महसुस भएको बताए। 'अब पदाधिकारी पनि हँसिलो अनुहार हुने गरी टुङ्ग्याउँछौँ', उनले भने, 'तर मलाई केही समय दिनुपर्छ तपाईंहरुले।'

अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नरहेको बताए। 

'वरिष्ठ उपाध्यक्षमा त नारायणकाजीको विकल्प छैन', उनले थपे, 'उता महराजी (कृष्णबहादुर) ले त जे भए पनि नारायणकाजीपछि मेरो नाम हुनुपर्यो भन्नु भएको छ।'

वरिष्ठ उपाध्यक्ष पदमा मात्रिका यादव र कृष्णबहादुर महराले पनि दाबी गरेका थिए। प्रचण्डले मात्रिकाको दाबी भए पनि नारायणकाजीको विकल्प नभएको उल्लेख गरे।

उनले आफूसँग महासचिवको नाम आफूसँग भए पनि अहिले वाचन नगर्ने बताए। केन्द्रीय सदस्यले अहिले नै सुनाउन भने पनि प्रचण्डले समय दिन आग्रह गरिरहे।

'मसँग सबै पदाधिकारीको नाम छ। महासचिवको प्रस्ताव पनि छ यहाँ', उनले भने, 'तर अहिले नै हतार नगरौँ। मलाई दुई चार दिन समय दिनु, म पदाधिकारी टुङ्ग्याउँछु।'

माओवादी केन्द्रमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहित १५ सदस्यीय पदाधिकारी व्यवस्था छ। प्रचण्डका अनुसार पदाधिकारीको संख्या केही बढ्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .