ad ad

राजनीति


भूपू गोर्खा सैनिकका मागबारे दोस्रो चरणको वार्ता चाँडै

भूपू गोर्खा सैनिकका मागबारे दोस्रो चरणको वार्ता चाँडै

नेपालखबर
असार १९, २०७९ आइतबार २०:४०, काठमाडौँ

परराष्ट्र मन्त्रालयले भूपू गोर्खा सैनिकका मागबारेमा बेलायतसँग चाँडै दोस्रो चरणको वार्ता हुने जनाएको छ। 

परराष्ट्र प्रवक्ता सेवा लम्सालले भूपू गोर्खाका माग बारे बेलायतसँग वार्ता गर्न दोस्रो चरणको वार्ताका लागि गृहकार्य भइरहेको जानकारी दिइन्। 
‘बेलायत र नेपालबीच भूपू गोर्खा सैनिकका मागबारेमा प्रारम्भिक वार्ता भएको छ। अब दोश्रो चरणको वार्ता हुनेछ। वार्ताको मितिका लागि

गृहकार्य हुन बाँकी छ’ उनले नेपालखबरसँग भनिन्। लम्सालका अनुसार वार्ताका लागि दुवै पक्षबीच कार्यविवरण ‘टीओआर’ टुंगिन बाँकी छ। 

गत जुन २१ मा लन्डनमा भएको प्रारम्भिक वार्तामा बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायतका रक्षा राज्यमन्त्री लियो डोचर्टीले आफ्ना वार्ता समितिको नेतृत्व गरेका थिए। 

मन्त्रिपरिषद् बैठकले गत फागुनमा भूतपूर्व गोर्खा सैनिकको मुद्दामा बेलायतसँग वार्ता गर्न राजदूत आचार्यको नेतृत्वमा समिति बनाएको थियो।

बेलायतको रक्षा मन्त्रालयले गत जेठ तेस्रो साता रक्षा राज्यमन्त्री लियो डोचेर्टीको नेतृत्वमा वार्ता समिति बनाएको जानकारी नेपाली दूतावास लन्डनमार्फत् परराष्ट्र मन्त्रालयलाई पठाएको थियो। 

बेलायतका लागि नेपाली राजदूत आचार्यले बेलायती अधिकारीहरुसँग भूपू गोर्खाका मुद्दामा वार्ताका लागि समिति बनाउन आग्रह गर्दै आएका थिए। 

सन् १९९७ भन्दाअघि बेलायती सेनाबाट निवृत्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका विषयमा चरम भेदभाव कायम रहेको बताउँदै आएका छन्। उनीहरुलाई बेलायती सैनिकभन्दा एक तिहाइ कम पेन्सन दिइएको छ।

यो समस्या समाधान गर्न नेपाल सरकारले ठोस पहल लिन नसकेको भूतपूर्व बेलायती गोर्खा सैनिकले आरोप लगाउँदै आएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .