ad ad

राजनीति


वामदेवको पार्टीमा केन्द्रीय कमिटी ७४ सदस्यीय, सचिवालयमा नौजना

वामदेवको पार्टीमा केन्द्रीय कमिटी ७४ सदस्यीय, सचिवालयमा नौजना

नेपालखबर
असार १४, २०७९ मंगलबार १४:५८, काठमाडौँ

वामदेव गौतमले मंगलबार पार्टी घोषणा गर्दैछन्। तत्कालीन नेकपा विभाजित भएदेखि एमाले र माओवादी दुवैतिर नलागी निष्क्रिय रहेका उनले पार्टी खोल्न लागेका हुन्।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर झुकाव राख्दै आए पनि उनले आफ्नै नेतृत्वमा पार्टी खोल्ने पक्का भएको हो। 

यसअघि चलाउँदै आएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानलाई नै उनले पार्टीको स्वरुप दिन लागेका हुन्। 

वामदेव नेतृत्वको अभियानका प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेका अनुसार पार्टीमा हाल ७४ जना केन्द्रीय सदस्यमा रहनेछन्। 

त्यसैगरी पार्टीको कमाण्ड अघि बढाउन ९ सदस्यीय सचिवालय बनाइँदैछ। 'पहिले ७० सदस्यीय केन्द्रीय कमिटी भन्ने थियो। तर अहिले त्यो संख्या बढेर ७४ भएको छ', उनले नेपालखबरसँग भने, 'पार्टी हाई कमाण्ड ९ सदस्यीय हुनेछ। अहिलेसम्म ८ जनाको नाम तय भएको छ। एक जनाबारे टुंगो हुन बाँकी छ।'

एमाले छाडेपछि माओवादी र समाजवादीतिर पनि नगइ बसेका उनले तीन दिनअघि ललितपुरको सिद्धार्थ कटेजमा राष्ट्रिय भेला गरेका थिए। उक्त भेलाले पार्टी खोल्ने निर्णय लिएको थियो। त्यसपछि आइतवार केन्द्रीय कमिटीको बैठक बसेपछि पार्टी खोल्ने निर्णयलाई कार्यान्वयन गर्ने सहमति भएको थियो।

वामदेवले यसअघि आफूलाई एमाले र माओवादीलाई फेरि मिलाउने अभियानमा लगाउने बताएका थिए। तर उनको त्यो अभियानमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले चासो दिएनन्। 

अहिले पनि उनले नेपालका कम्युनिष्टहरूलाई मिलाउने अभियानमा रहेको बताउने गरेका छन्। केपी ओली एमालेमा हुन्जेल नफर्किने भन्दै बाहिरिएका उनी अब प्रतिनिधिसभा चुनाव आउन लागेसँगै नयाँ दलको अभियानमा लागेका हुन्। 

वामदेवको पार्टी सचिवमा हाललाई डीबी कार्की छन्। प्रचार विभाग प्रमुख पाण्डेले दिउँसो ३ बजे सबै केन्द्रीय सदस्य र सचिवालय सदस्यको नाम सार्वजनिक गरिने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .