ad ad

राजनीति


घनश्याम भुसालले भने : चीनलाई चिढ्याएर कांग्रेसले नेपाललाई युक्रेनको बाटोमा लग्यो

घनश्याम भुसालले भने : चीनलाई चिढ्याएर कांग्रेसले नेपाललाई युक्रेनको बाटोमा लग्यो

नेपालखबर
असार १, २०७९ बुधबार १६:३७, काठमाडौँ

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रमुख सत्तारुढ नेपाली कांग्रेसको नेतृत्वमा नेपाललाई युक्रेनको बाटोतर्फ लान थालिएको बताएका छन्। 

'कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो' शीर्षकको अन्तरक्रिया कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ल्याएर कांग्रेसले नेपाललाई युक्रेनको बाटोमा लान थालिएको बताएका हुन्। 

भुसालले संसदको पहिलो तेस्रो र पाँचौँ, सातौँ पार्टी कम्युनिष्ट भए पनि देशमा शासन भने दोस्रो दल कांग्रेसले गरिरहेको पनि बताए। 

'कम्युनिष्ट फुटेपछि के हुँदो रहेछ? हेर्नुस् त अमेरिकाबाट नेशनल गार्ड ल्याउँछु भनेर लागेको कांग्रेसले शासन गरेको छ। चीनको आँगननजिकै लगेर विषालु सर्पको खेती गर्ने योजनामा छ कांग्रेस', भुसालले भने, 'ती सर्प चीनतिर फर्किएपछि फ्वाँफ्वाँ गर्लान्। हामीलाई कांग्रेसले जेलेन्सीकै बाटोमा लाँदैछ। जेलेन्सकीलाई त हतियार दिए तर हामीलाई त कसैले केही दिँदैनन्।'

उनले २०३२ सालमै खम्पा विद्रोह जन्माउने नाममा अमेरिकी सेना नेपालमा आइसकेको स्मरण गरे। 

'२०३२ सालको खम्पा विद्रोह त बेलैमा टुंगो लाग्यो। तर खम्पा विद्रोह २ जन्माउनेहरूले अहिले कम्युनिष्टको तेलमा कम्युनिष्टको धुलाइ गरिरहेका छन्, माछाको तेलमा माछा फ्राई गरे जस्तै', उनले भने, 'म पनि यो त ठीक भएन भन्दैछु,  प्रचण्ड पनि भएन भन्दैछन्। अहिले पनि कम्युनिष्ट मिल्दा बहुमत छ। हामी कम्युनिष्ट एक भएको भए ५७५ स्थानीय तह जितिन्थ्यो तर विडम्बना अहिले टुटेर फुटेर नुन खाएको कुखुरा हुनुपरेको छ।' 

भुसालले नेपालमा अन्तर्राष्ट्रिय भूराजनीतिक संकट खुट्टैमुनि आइपुगेको पनि बताए। 'नेपालमा अन्तर्राष्ट्रिय भूराजनीतिक संकट हाम्रो खुट्टामुनि आइपुगेको छ', उनले भने, 'हामीलाई रिस उठेर संसद उडाइदिँदा यो संकट आएको हो। यसको दोष हामी कम्युनिष्टहरुले नै लिनुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .