ad ad

राजनीति


लोसपालाई पार्टी एकताका लागि उपेन्द्र यादवको आह्वान

'फुटेर हैन, जुटेर अघि बढौँ'
लोसपालाई पार्टी एकताका लागि उपेन्द्र यादवको आह्वान

शैलेन्द्र महतो
जेठ २५, २०७९ बुधबार १०:४४, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले लोसपालाई पार्टी एकताका लागि आह्वान गरेका छन्। विगतमा नेकपा एमाले अध्यक्ष ओलीको भड्काउमा जसपाबाट महन्थ ठाकुरको समूह फुटेर जाँदा घाटा भएको बताउँदै उनले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको दाबी गरे। 

बुधबार बिहान जनकपुरधाममा प्रेस मञ्चले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यस्तो कुरा बताएका हुन्। 

'ओलीको भड्काउमा हिजो जसपाबाट महन्थ ठाकुर नेतृत्वमा एक समूह फुटेर जानु भयो। आज समीक्षा गर्ने समय छ, पार्टी फोडेर कसलाई के फाइदा भयो ? जनमत बाँडिदा मधेशी जनतालाई नै घाटा भएको छ। त्यसैले यो विभाजनको औचित्य म आज देखिरहेको छैन', अध्यक्ष यादवले भने,'आउनुस् अहिले पनि समय छ। फुटेर हैन जुटेर अघि बढौं। यदि जुटेर अगाडि बढ्न लोसपाका साथीहरु तयार छन् भने हामी खुला हृदयले स्वागत गर्न तयार छौं'

अर्को प्रसंगमा उनले खर्चिलो र लामो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने विचार व्यक्त गरे। ,'निर्वाचन प्रणाली खिचडी जस्तै छ। गलत निर्वाचन प्रणाली भएकोले अत्यधिक खर्चिलो, अनेक विकृतिमय छ। त्यस कारण यो निर्वाचन प्रणाली परिवर्तन हुनु आवश्यक छ' अध्यक्ष यादवले भने। 

उनले अहिले नागरिकताको समस्या अविलम्ब समाधान गर्नु पर्नेमा जोड दिए। अहिले पनि लाखौं जन्मसिद्ध नागरिकका सन्तान नागरिकताबाट वञ्चित रहेकाले तिनीहरुको समस्या समाधान र आगामी निर्वाचनमा मतदानको अधिकारको लागि अब बस्ने संसदबाट नागरिकता विधेयक पास गरी पारित गर्नु पर्ने बेला आएको बताए।

यादवले आगामी निर्वाचनको लागि पनि पाँच दलीय गठबन्धन मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .