ad ad

राजनीति


मत सदरको माग गर्दै गठबन्धन दल अदालत जाने

मत सदरको माग गर्दै गठबन्धन दल अदालत जाने

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार १४:३९, काठमाडौँ

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार नभएको मत चिह्नमा परेको मत सदर माग गर्दै सत्ता गठबन्धन अदालत जाने भएको छ।

काठमाडौं महानगर, पोखरा महानगर, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, दाङको घोराही उपपमहानगरपालिका लगायतका २५ भन्दा बढी स्थानीय तहमा उम्मेदवार नभएको मतचिह्नमा मतदान भएकोले पराजित हुनुपरेको गठबन्धनको निष्कर्ष छ।

निर्वाचन आयोगले उम्मेदवार नभएको चिह्नमा मतचिह्न लगाएको मतलाई बदर गरेको थियो।

पाँच दलीय गठबन्धनका कारण धेरै ठाउँमा उम्मेदवार नै नभएको चिह्नमा मत परेपछि गठबन्धनका उम्मेदवार पराजित भएको भन्दै अदालत जाने तयारी भएको एक कानुन व्यवसायीले जानकारी दिए।

‘उम्मेदवार नभएको चिह्नमा परेको मत सदर हुनुपर्ने माग गरेर अदालत जान छलफल चलिरहेको छ’, एक कानुन व्यवसायीले नेपालखबरसँग भने, ‘जनताले दिएको मतको अपमान गर्न पाइँदैन भन्ने हाम्रो चाहना हो।’

ती कानुन व्यवसायीले अदालत जाने मिति खुलाउन चाहेनन्। नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार १५ स्थानीय तहमा आफ्ना उम्मेदवारको हारको मुख्य कारण अत्यधिक मत बदर हुनु हो।

निर्वाचन आयोगले उम्मेदवार नभएको पदमा मतचिह्न परेको भए त्यसलाई सदर गरेर गणना गर्ने भनेर पछि बदर गर्न निर्देशन दिएको भन्दै ती नेताले असन्तुष्टि जनाए।

उनले आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी भएको बताए। ललितपुर महानगर उपप्रमुखमा उम्मेदवार नभएको रुख चिह्नमा मत परेको, महालक्ष्मी नगरपालिका र दाङको घोराही उपमहानगरमा पनि उम्मेदवार नै नभएको रुख चिह्नमा अत्यधिक मत परेपछि माओवादी केन्द्रका उम्मेदवार पराजित हुनुपरेको ती नेताको भनाइ छ।

निर्वाचन शिक्षा नदिएको कारण मत बदर भएको भन्दै राजनीतिक दलहरुको आलोचना भइरहेको छ।

निर्वाचन आयोगले भने उम्मेदवार नभएको मत चिन्हमा परेको मतलाई आंशिक बदरमा राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .