नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले बजेट भाषणपछि मन्त्रिमण्डल फेरबदल हुनसक्ने बताएका छन्।
नेपालखबरसँग विशेष कुरा गर्दै नेता पुनले स्थानीय तहकै चुनावअघि मन्त्रिपरिषद् फेरबदलको चर्चा चले पनि बजेटसम्म रोकिएको जानकारी दिए।
‘निर्वाचनअगाडि मन्त्रिमण्डल फेरबदलको अलिअलि चर्चा चलेको थियो’, पुनले नेपालखबरसँग भने, ‘अहिले बजेट छ, नीति तथा कार्यक्रम छ भनेर रोकियो।’
सरकारले यसवर्षको बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्दै छ। बजेटअघि सरकारले जेठ १० गते नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ।
चुनावअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल फेरबदल गर्न चाहेको पुनले खुलासा गरे।
उनले भने, ‘प्रधानमन्त्रीले केही मन्त्री हेरफेर खोज्नुभएको थियो, दुईवटा मन्त्रालय त्यतिखेर खाली पनि थिए, समाजवादीका साथीहरुले आफ्नो टीमलाई फेर्न खोज्नुभएको थियो,’ नेता पुनले थपे।
उनले बजेट सार्वजनिक भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको चर्चा चल्ने बताए।
‘अब बजेटपछि विस्तारै आवश्यक छलफल होला, ‘अहिले पनि एउटा रक्षा मन्त्रालय खाली नै छ,’ उनले भने।
(पुनसँग नेपालखबरले गरेको विस्तृत कुराकानी केहीबेरमा प्रकाशित हुनेछ– सं)
Shares
प्रतिक्रिया