नेपाल कमर्स क्याम्पस मीनभवनबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अरुण लम्साल उच्च शिक्षा अध्ययनपछि सात वर्षअघि अष्ट्रेलिया गए। त्यहाँ उनले आम नेपालीले गर्नेजस्तै रोजगारी गरे। अहिले पनि उनी अष्ट्रेलिया–नेपाल आवत–जावत गरिरहन्छन्।
तन विदेशमा भए पनि मन नेपालमै रहने आम नेपालीको भावनात्मक पक्ष हो। लम्साल पनि यसको अपवाद रहने कुरै भएन। उनी भन्छन्, ‘मलाई रिसर्च एवं विश्लेषणमा खुशी लाग्छ। पब्लिक ओपिनियन मज्जा लाग्छ। रिसर्चसम्बन्धी नेपालमै काम गर्न रुची लाग्छ।’
राजनीति, समाज र अनुसन्धानको क्षेत्रमा काम गर्न रुची राख्ने लम्सालले एक–डेढ वर्षअघि ‘मिडिया आउटलेट’ नामको एउटा संस्था खोले। गैंडाकोट निवासी उनले यसको मुकाम र कार्यक्षेत्र पनि मुख्यतः चितवनतिरै केन्द्रित गरेका छन्। तथापि यसले देशभरि काम गर्ने उनी बताउँछन्।
लम्साल भन्छन्, ‘मैले यही विषय पढेर गरेको हैन, मेरो रुचीले हो। मिडिया आउटलेट खुलेको एक/डेढ वर्ष भयो। इलेक्सन क्याम्पेनिङ, पब्लिक ओपिनियन, रिसर्च एवं पार्टीहरुको नीति र नेताहरुलाई ट्रयाकिङ गर्ने भनेर शुरु गरेको हो।’
यही क्रममा लम्सालको संस्थाले वैशाख ३० को स्थानीय चुनावमा भरतपुरमा कसले जित्ला भनेर ‘एक्जिट पोल’ गर्ने निर्णय लियो।
बैशाख ३० कै साँझ रेनु दाहालले ४१.०८ प्रतिशत मत ल्याएर मेयरमा जित्ने मिडिया आउटलेटको सर्वेक्षण नेपालखबरमा प्रकाशित भयो। अहिले चुनावको नतिजा आउँदा ४०.७८ प्रतिशत मतका साथ जित हासिल गरेकी छिन्। लम्साल भन्छन्, ‘यो भनेको लगभग ४१ प्रतिशत नै हो।’
लम्सालको संस्थाले गरेको सर्वेक्षणमा एमालेका विजय सुवेदीले ३४.६१ प्रतिशत मत पाउने प्रक्षेपण गरेको थियो। नतिजा आउँदा सुवेदीले ३०.९५ प्रतिशत मत पाएका छन्। रिसर्चमा ३ प्रतिशत मार्जिन स्वाभाविकै मानिने लम्सालको तर्क छ।
त्यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको भुइँकटहरले १२.५४ प्रतिशत मत पाउने मिडिया आउटलेटको प्रक्षेपण थियो। नजिता आउँदा पौडेलले ११.५४ प्रतिशत मत पाए।
माओवादी, एमाले र बागीका सन्दर्भमा गरिएको एक्जिट पोल लगभग मिलेपछि लम्साल यतिबेला खुशी देखिएका छन्। अब आगामी संसदीय चुनाव र प्रदेशको चुनावमा विभिन्न पार्टी र नेताहरुका बारेमा एक्जिट पोल गर्ने उनले नेपालखबरलाई बताए।
भरतपुरको सफल एक्जिट पोल गरेका लम्सालले नेपालखबरसँग भने,‘अब कुनै पार्टी वा नेताहरुले आग्रह गरेमा प्रोफेसनल्ली क्याम्पेनिङ डिजाइन गरिदिन्छौं। सर्बे, क्याम्पेनिङ सबै गर्छौं। आफ्नो लागि गर्नेहरुलाई पनि डाटाहरु सुरक्षितरुपमा दिन्छौं। हामी प्राइभेसी मेन्टेन गरेर काम गर्छौं।’
उनी थप्छन्, ‘सबैभन्दा पहिले त हामी आफैं टेस्ट हुन बाँकी थियो। भरतपुरमा हामी सफल भयौं।’
हेर्नुहोस् वैशाख ३० मा प्रकाशित सर्वेक्षण : भरतपुर एक्जिट पोल : मेयरमा रेनुले जित्ने प्रक्षेपण
प्रस्तुत छ, अनुसन्धानकर्ता लम्सालसँग भरतपुरको एक्जिट पोलबारे नेपालखबरले गरेको कुराकानी–
तपाईहरुले यो स्थानीय चुनावमा मत सर्वेक्षणका लागि भरतपुर नै किन रोज्नुभयो ?
भरतपुरमा हामीले कुन पार्टी अगाडि गइराखेको छ भनेर आन्तरिकरुपमा सर्वेक्षण गरिराखेका थियौं। काठमाडौंको पनि आन्तरिकरुपमा अध्ययन गरिराखेका थियौं। काठमाडौं र भरतपुर दुईवटा क्षेत्रलाई टार्गेट गरेर हेरिरहेका थियौं। किनभने, यी दुबै महानगरमा धेरै मानिसको आँखा परेको थियो।
काठमाडौंमा चाहिँ हामीले आन्तरिक तथ्यहरु केलायौं। केशव स्थापितले के भन्दा उनको समर्थन बढिरहेको छ र के भन्दा घटिरहेको छ भन्ने हेर्यौं। बालेनको कसरी बढिरहेको छ भनेर ट्रयाकिङ गरिराखेका थियौं।
तर, एक्जिट पोलका लागि भरतपुर नै किन रोज्यौं भने स्रोत साधनको हिसाबले हामीलाई सजिलो भयो। हामीसँग थोरै स्रोत साधन थियो, काम धेरै गर्नुपर्ने थियो। काठमाडौंमा हामीलाई नेवारी कम्युनिटीका बारेमा धेरै कुरा थाहा थिएन। यसबारे अझै पढ्न र बुझ्न बाँकी भएकाले हामीले काठमाडौंको साटो भरतपुरलाई छनोट गरेका हौं।
भरतपुरलाई रोज्नुको कारण तीनवटै नेताहरु प्रचण्ड, केपी ओली र शेरबहादुर देउवा ठोक्किएको ठाउँ हो। रेनु दाहाल र विजय सुवेदी भन्दा पनि त्यहाँ ठूला नेताहरुको ध्यान थियो। त्यहाँ काम गर्दा रोमाञ्चक पनि लाग्यो, चुनौतीपूर्ण पनि लाग्यो।
एक्जिट पोल कसरी गर्नुभयो ? कति स्टाफहरु हुनुहुन्थ्यो ?
भरतपुरमा हामी तीनदिनदेखि २० जनाजति खट्यौं। त्यो भन्दा अगाडि ४/५ जनाले ओपिनियनहरु लियौं, ट्रयाकिङ गर्यौं। कुन एजेण्डामा के भइरहेको छ, त्यसमा रिसर्च गर्यौं।
कतिजनाको स्याम्पलिङ गर्नुभयो ?
हामीले ७५७ जनाको स्याम्पल लियौं।
कति मिल्यो त ?
७५७ जनामा ४१.०८ प्रतिशतले रेनुलाई भोट आउँछ भनेका थिए। चानचुन ४१ प्रतिशत नै आएको छ। अर्को, भूइँकटर फ्याक्टरलाई हामीले १२.५४ प्रतिशत दिएका थियौं। त्यो पनि लगभग मिलेकै छ। हामीले एमालेका विजय सुवेदीलाई ३४.६१ प्रतिशत दिएका थियौं। उहाँको ३१ प्रतिशत जस्तो आएको छ।
हामीले पूरै मतदान त गराएको होइन, कतिपयले हामीले भनेको जसरी कास्टिङ नगरेका हुन सक्छन्। त्रुटिहरु पनि हुन सक्छ। सामान्यतः तथ्यांकमा ५ प्रतिशत त्रुटि हुने गरेको मान्ने गरिन्छ। ३, ४ प्रतिशत ‘इरर’ आउनु सामान्य नै मान्ने गरिन्छ। तथापि हामीले डाटाचाहिँ ठ्याक्कै निकाल्यौं जस्तो लाग्छ।
भरतपुरमा १ लाख ८५ हजार ७५२ मतदाता थिए। ६५ वटा बुथ थिए। हामीले त्यहाँ ३/३ जना मान्छे खटाउने हो भने २ सय जति जनशक्ति चाहिन्थ्यो। त्यसका लागि स्रोत साधन पनि चाहिन्थ्यो। ठूलो बजेट लाग्थ्यो। त्यसैले हामीले दुईदिन लगाएर कहाँ–कहाँ कसरी स्याम्पल लिने भन्ने विश्लेषण गर्यौं।
माओवादीको बढी भोट आउने ठाउँको स्याम्पल लिँदा माओवादीको मात्रै बढी देखिने हो कि ? माओवादी वा कांग्रेसको प्रभाव भएको ठाउँको स्याम्पल लिँदा माओवादी वा भुइँकटहरको मात्रै बढी देखिने हो कि ? हामीलाई यो एकदमै चुनौतीपूर्ण रह्यो।
साथै, हामीले ६ महिनासम्म नेपालको भोटिङ प्याटर्न एवं ओपिनियन प्याटर्न पढिरहेका थियौं। हामीले क्षेत्रीय विविधता, राजनीतिक विविधता, बागी उम्मेदवार आइसकेपछि बनेको यी कुराहरु सबैलाई ध्यानमा राखेर हामीले एक्जिट पोलको निर्णय गर्यौं।
यही आधारमा हामी ७०० जनालाई सोध्दाखेरि पनि नजिक–नजिक पुगेको हौं। किनभने, १ लाख ८५ हजार मतदातामा ७०० जनालाई सोध्नु भनेको ज्यादै न्यून संख्या हो। यति थोरैलाई सोधेर मिलाउनु भनेको त हामीले जानी नजानी मतदाताको मन थाहा पाएछौँ।
तपाईहरुले नमूना मतपत्र नै बनाउनुभएको थियो ?
हो, हामीले नमूना मतपत्रमा पेन्सिलले चिह्न लगाउन लगाएका थियौं।
नमूना मत कसरी संकलन गर्नुभयो ?
हामीले स्टाफहरुलाई राम्रो तरिकाले सिकाएर पठाएका थियौं। हामी मिडिया आउट लेटबाट रिसर्चका लागि आएका हौं, तपाईले कसलाई मतदान गर्नुभयो, हाम्रो यो नमूना मतपत्रमा गोप्यरुपमा चिह्न लगाइदिनुहोला, तपाईको नाम केही पनि लेख्नुपर्दैन, गोप्य रुपमा जेमा भोट दिनुभएको छ, तपाईलाई सहज हुन्छ भने त्यसैमा चिह्न लगाइदिनुहोस् भन्यौं।
यहाँलाई मन लाग्दैन भने नगर्नुभए हुन्छ भन्यौं। कसैलाई पनि कर लगाएनौँ। हामीले कसैको पनि नाम लिएनौं। रेजा लगाएर आफैं पट्याउनुभयो, हामीले हेर्दा पनि हेरेनौं। हामीले धन्यवाद भन्यौं।
कसैबाट आशंका वा विरोध भएन ?
कतिपयले कुन डोनर संस्थाबाट आउनुभएको ? भन्नुभयो। डलर खान आएको पनि भन्नुभयो। कुन पार्टीबाट आएको भनेर पनि सोध्नुभयो। माओवादी साथीहरुले एमालेले पठाएको ठान्ने, एमालेका साथीहरुले चाहिँ माओवादीले पठाएको ठान्ने पनि भयो। तर, हामीले सबै पार्टीका नेताहरुलाई हामीले यस्तो गर्दैर्छौं, तपाईहरुबाट सहयोग होस् है भनेर जानकारी गराएका थियौं।
निर्वाचन आयोगको कार्यालयले यसरी मत सर्वेक्षण गर्न पाइँदैन भनेन ?
योचाहिँ हामीले अन्तिम घडीमा आचार संहिताअनुसार यस्तो रिसर्चहरु गर्न पाइँदैन भन्ने सुन्यौं। तर, हाम्रो मनसाय आम चुनावको डाटा लिने मात्रै थियो। फेरि, हामी यो डाटालाई मेनुपुलेट गर्नका लागि पनि दुरुपयोग गर्नेवाला थिएनौं।
हामीले त चुनावमा बाक्सामा भोट हालिसकेपछि मात्रै प्रकाशित गर्ने आशय भएको हुनाले डाटाको दुरुपयोग हुँदैन र यसले रेनु वा विजय सुवेदीको पक्ष–विपक्षमा माहौल बन्ने स्थिति थिएन। त्यही भएर यसबाट निर्वाचन आयोगको उद्देश्यलाई असर गर्दैन भनेर हामी ढुक्क थियौं। अहिलेसम्म हाम्रो यो कामप्रति कसैले पनि आपत्ति जनाउनुभएको छैन।
सुरक्षाकर्मीबाट केही सोधनी वा अवरोध भएन ?
कतिपय ठाउँमा पार्टीका प्रतिनिधिहरुले किन गर्नुभएको भनेर सोध्नुभयो, यत्ति हो। हामीले कसैलाई पनि जबरजस्ती मत दिन लगाएनौं।
नमूना मतदान कहाँ र कुन समयमा गर्न लगाउनुभयो ?
हामीले वैशाख ३० गते मतदान स्थलभन्दा ५ सय मिटर पर एक्जिट पोल गरेका हौं। विहान मतदान कार्य सुरु भएदेखि दिनभरिजसो पोलिङ गर्यौं। जसले मतदान गरेर औंलामा मसी लगाइसक्नुभएको छ, उहाँहरुलाई मात्रै सोधेको हो हामी। मतदान गरिसकेर फर्कँदै गरेकाहरुलाई सोधिएको हो।
दिनभरि मतदानस्थलहरुमा नमूना मत संकलन गरियो। अनि बाक्सा खोलेर हेरियो। जे–जे आएको छ, त्यसका आधारमा प्रकाशित गरियो।
वैशाख ३० गते देशैभरि मतगणना सकिएपछि साँझ ७ बजेतिर नै हामीले एक्जिट पोलको नतिजा नेपालखबरमार्फत् सार्वजनिक गर्यौं। सबै मतदान भइसकेपछि बल्ल प्रकाशित गरियो।
रेनुले जित्छिन् भन्ने दाबी सार्वजनिक गरेपछि कसैले गुनासो गरे कि ?
साथीहरुले भने। कतिपय पार्टीका साथीहरु हामीसँग नजिक हुनुहुन्थ्यो, हामीलाई रिपोर्ट त अर्को आएको छ, तिमीहरुले यस्तो दाबी गर्दैछौ भन्नेहरु निस्कनुभयो। तर, यो हाम्रो प्रोफेसन हो, हामीले जे देखेका छौं, आफ्नो प्रोफेसनमा हामी इमान्दार हुनुपर्यो। हामीले जे देख्यौं, त्यही नै सार्वजनिक गरेको हो।
पूर्वानुमान मिल्दा कति खुशी लागेको छ ?
अनुसन्धानमा तीन प्रतिशत भेरिएसन आए पनि खुशी नै हुनुपर्छ।
विदेशमा जस्तो नेपालमा चुनावी सर्वेक्षण र क्याम्पेनिङको प्रचलन खासै छैन। तपाईहरुले भरतपुरको गरेजस्तै सेतोपाटी डटकमले बालेन शाहले जित्ने प्रक्षेपण गरेको थियो। यसबाहेक ‘फ्याक्टस नेपाल’ भन्ने संस्थाले पनि २० स्थानीय तहमा एक्जिट पोल गरेको सुनिएको थियो। अब आगामी संसदीय चुनावमा तपाईहरुले यसलाई निरन्तरता दिनुहुन्छ कि?
नेपालमा जनताको ‘वेभ’ बुझ्ने विषयमा पार्टीहरु र जनताको तहमा अलि बढी ग्याप छ कि जस्तो लाग्छ। कार्यकर्तामा आधारित पार्टीहरुले यो बुझिराखेका छैनन् कि जस्तो लाग्छ।
अब कुन नेताहरु लोकप्रिय हुनुहुन्छ, कुन पार्टीको स्थिति के छ, प्रत्येक महिनाजस्तो अध्ययन गर्ने हाम्रो सोच छ। कुनै पार्टी वा नेतालाई आवश्यक छ भने पब्लिक ओपिनियनमा हामी उहाँहरुलाई व्यवसायिक रुपमा सहयोग गर्न सक्छौं। गोपनीयता मेन्टेन गरेर हामी यो कार्य गर्न सक्छौं। हाम्रो कामै यही हो।
कस्ता मानिसलाई फिल्डमा खटाउनुहुन्छ ?
जो अलिकति राजनीति र समाजप्रति चासो राख्छन्। जसलाई राजनीतिशास्त्र मनपर्छ, जसलाई समाजशास्त्र मन पर्छ, जो जिज्ञासु स्वाभावका छन्, जसले अध्ययनमा रुची राख्छन्, उनीहरुलाई हामीले इन्टर्नका रुपमा लिएर आउने हो। यसमा उनीहरुको रुची चाहिँ हुनुपर्यो।
प्रतिक्रिया