नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन बनाएर आफूहरुको भविष्य समाप्त गर्न खोज्नेहरु पराजित भएको बताएका छन्।
गृहजिल्दा दाङको तुलसीपुर उपमहानगरपालिकामा बुधबार आयोजित बधाई तथा शुभकामना सभालाई सम्बोधनका क्रममा पोखरेलले यसो भनेका हुन्।
'एमालेको भविष्य समाप्त गर्न खोजियो। तर पाँच दलीय गठबन्धनको चुनौती चिर्दै हामी सुरक्षित भयौँ', उनले भने, '२०७४ मा भन्दा धेरै जनादेश एमालेले अहिले पाएको छ। जसले गठबन्धनबाट चुनाव लडेकाछन् उनीहरुले भविष्य कमजोर बनाएका छन्।'
पोखरेलले अब एमालेले जस्तोसुकै शक्तिसँग लड्न सक्ने बताए। 'एमालेले अब जुनसुकै शक्तिसँग मुकाबिला गर्ने, लड्न सक्ने सामर्थ्य एमालेले बनाएको छ', उनले भने, '६ महिनापछि हामी फेरि चुनावमा जानुपर्ने छ। अब एमालेसँग मुकाबिला गर्ने सामर्थ्य कसैसँग छैन।'
उनले एमालेलाई खडेरी र चट्टानबीच हुर्केको विरुवा जस्तै रहेको बताए।
'एमाले खडेरी र चट्टानबीच हुर्किएको विरुवा जस्तै भएको छ', उनले भने, 'अब एमालेका जनप्रतिनिधिहरुले आफ्नो जीवन शैली र आचरण व्यवहारलाई जनपक्षीय बनाउनु होला। एमाले अझै शक्तिशाली हुँदैछ।'
Shares
प्रतिक्रिया