ad ad

राजनीति


'म्याराथन भेट' सकेर फर्किइन् अमेरिकी उपमन्त्री, मुख्य चासो तिब्बती शरणार्थीमा

'म्याराथन भेट' सकेर फर्किइन् अमेरिकी उपमन्त्री, मुख्य चासो तिब्बती शरणार्थीमा

सन्तोष घिमिरे
जेठ ८, २०७९ आइतबार २२:३, काठमाडौँ

अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपाल भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किइन्।

भ्रमणको अन्तिम दिन आइतबार उपविदेशमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदास बैरागीसँग भिन्दाभिन्दै भेटवार्ता गरिन्। उनले आजै दिउँसो प्रधानमन्त्री पत्नी आरजु देउवासँग बेग्लै भेटिन्। 

देउवासँगको भेटमा नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवमा उच्च तहमा भ्रमण आदान—प्रदान बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए। 

उपविदेशमन्त्री जियाले नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी) सँगको सम्झौता अनुमोदन गरेकोमा धन्यवाद दिएकी थिइन्। उनले रुसले युक्रेनमाथि गरेको आक्रमणका विषयमा नेपाल युक्रेनको पक्षमा राष्ट्रसंघीय मञ्चहरुमा उभिएकोमा पनि सराहना गरिन्। 

त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेनको फ्ल्यागसिप प्रोग्राम ‘समिट फर डेमोक्रेसी’ मा प्रधानमन्त्री देउवाले गत डिसेम्बरमा सहभागिता जनाएकोमा धन्यवाद दिएको परियारले बताए। 

‘मानवअधिकार, अन्तर्राष्ट्रिय कानुन र लोकतन्त्रका विषयमा समिट फर डेमोक्रेसीमा दिएको मन्तव्यमा प्रधानमन्त्री देउवाले व्यक्त गरेको प्रतिबद्धताप्रति उहाँले धन्यवाद दिनुभयो,’ परियारले भने। 

प्रधानमन्त्री देउवाले अमेरिकाले नेपालको विकास प्रक्रियामा जारी राखेको सहयोगका लागि धन्यवाद दिए। उनले लोकतन्त्र र मानवअधिकारका सवालमा नेपाल प्रतिबद्ध रहेको बताए। 

गृहमन्त्रीले भनेः चीन र भारतको सुरक्षा संवेदनशीलतामा सचेत छौँ 
गृहमन्त्री खाण र परराष्ट्रमन्त्री खड्कासँगको भेटमा उपविदेशमन्त्री जियाले तिब्बती शरणार्थीलाई नेपाल सरकारले निर्बाध रुपमा आवागमन गर्न नदिएको र उनीहरुको अभिव्यक्ति स्वतन्त्रमा अंकुश लगाइएको बताएकी थिइन्। उनले सन् १९८९ यता नेपालमा जन्मेका तिब्बती शरणार्थीलाई परिचय दिन भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेकी थिइन्। भारतमा प्रवासी तिब्बती धर्मगुरु दलाई लामालाई भेटेर नेपाल आएकी अमेरिकी उपविदेशमन्त्री जियाले यहाँ आएर पनि मूलतः तिब्बती शरणार्थीकै मुद्दामा आफ्ना चासो प्रकट गरिन्। उनले तिब्बती शरणार्थीका समस्यामा सहानुभूति देखाइन्।  

शनिबार दिनभर तिब्बती शरणार्थीसँग भेटेर उनीहरुका गुनासा सुनेकी उपविदेशमन्त्री जियाले गृहमन्त्री खाणसँग तिब्बती शरणार्थीलाई आवासीय परिचयपत्र दिनुपर्ने बताइन्। 

जवाफमा मन्त्री खाणले सन् १९८९ भन्दाअघि नेपाल आएका तिब्बतीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको बताएका थिए। उनले जियाले आग्रह गरेझैँ सन् १९८९ अघि यहाँ आएका वा जन्मेका तिब्बतीलाई परिचयपत्र दिनेबारे स्पष्ट बताएनन्। 

भेटमा सहभागी गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोख्रेलले सन् १९८९ यता तिब्बती शरणार्थीबाट जन्मेका बच्चालाई आवासीय परिचय पत्र दिने सरकारको तयारी नरहेको बताए। तर उनले मानवीयताका आधारमा सरकारले यहाँ उनीहरुलाई आश्रयका लागि बाधा नपुर्याएको बताए। 

‘तिब्बतीका सन्तानको जन्मदर्ता हुने गरेको छ। उनीहरुलाई यहाँ स्कुल जान पनि समस्या छैन,’ उनले भने। 

उपविदेशमन्त्री जियाको तिब्बती शरणार्थी मामिलाबारेको भूराजनीतिक र रणनीतिक चासोबारे मन्त्री खाणले पनि कूटनीतिक जवाफ नै दिए। मन्त्री खाणले छिमेकी चीन र भारतका सुरक्षा संवेदनशीलताप्रति प्रतिबद्ध रहेको बताएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। 

आफ्नो स्वशासित क्षेत्र तिब्बत टुक्र्याउन अमेरिकाले नेपालमा रहेका तिब्बतीलाई सहयोग दिँदै आएकोप्रति चीन रुष्ट छ। अमेरिकाले प्रवासी तिब्बतीलाई चीनविरुद्ध हतियारका रुपमा उपयोग गर्न खोजेको चिनियाँ विदेश मन्त्रालयले शुक्रबार बताएको थियो। 

अमेरिकी उपविदेशमन्त्री जियाले मुख्य सचिव बैरागीसँग पनि आइतबार नै भेट गरिन्। प्रधानमन्त्री कार्यालय सिंहदबारमा भएको भेटमा तिब्बती शरणार्थीलाई परिचय पत्र दिने विषयमा नेपाल सरकारको नीतिबारे जिज्ञासा राखेकी थिइन्। 

प्रधानमन्त्रीपत्नीलाई बेग्लै भेटिन् 
विगतमा प्रधानमन्त्री पत्नीलाई अमेरिकी अधिकारीले बेग्लै भेट्ने गरेका थिएनन्। यसपालि जियाले आरजु देउवालाई पनि एक्लै भेटिन्। उनले आरजुलाई किन बेग्लै भेटेकी हुन्, प्रष्ट छैन। आरजु लामो समयदेखि अमेरिकासँग निकट सम्बन्ध बनाएकी कांग्रेस नेतृ हुन्। अमेरिकी दूतावासका अधिकांश कार्यक्रममा आरजु सहभागी हुने गरेकी छन्। 

आरजु पछिल्लोपटक गत शुक्रबार बेलुकी अमेरिकी राजदूत निवासमा आयोजित कार्यक्रममा पनि सहभागी हुन गएकी थिइन्। त्यस कार्यक्रममा महिला अधिकारीकर्मीद्वय भूमिका श्रेष्ठ र मुस्कान खातुनलाई सम्मान गरिएको थियो। 

शरणार्थीसँगका भेटबारे सरकारी निकाय अनविज्ञ
आइतबारका सबै भेटवार्ताबारे परराष्ट्र मन्त्रालय पूर्वजानकार थियो। ती सबै भेटवार्तामा परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी देखिन्थे। तर अधिकारीहरुका अनुसार जियाले शुक्रबार दिउँसो काठमाडौ उत्रेदेखि शनिबार साँझसम्म कहाँ र कस्ता भेटवार्ता गरिन् त्यसको औपचारिक जानकारी परराष्ट्र र गृह मन्त्रालयलाई भएन। 

परराष्ट्र मन्त्रायकी प्रवक्ता सेवा लम्सालले शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा तिब्बती शरणार्थीलाई अमेरिकी अधिकारीले भेट्नबारे मन्त्रालय जानकार नरहेको बताएकी थिइन्। उनले नेपालका नीतिभित्रै रहेर अमेरिकी अधिकारीले भेटवार्ता गर्ने विश्वास व्यक्त गरेकी थिइन्। 

गृह मन्त्रालयका प्रवक्ता पोख्रेलले अमेरिकी उपविदेशमन्त्रीले तिब्बती शरणार्थीलाई शनिबार भेटेकोबारे आफूले पनि सुनेको बताए। 

‘उनले कहाँ कसलाई भेटिन् भन्ने हामीलाई जानकारी छैन,’ उनले भने। 

अमेरिकी उपविदेशमन्त्री जिया र अमेरिकी दूतावासका कर्मचारीले शनिबार दिउँसो साढे दुई घण्टा जावलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगेर शरणार्थीका समस्या सोधेका थिए। उनीहरु त्यसपछि बौद्धस्थित गुम्बाको अवलोकन भ्रमणमा गएका थिए। त्यहाँ अमेरिकी टोलीले केही तिब्बती भिक्षु र शरणार्थीसँग भेटेको थियो। 

शनिबार साँझ फ्लाइ दुबईको विमानबाट वासिङ्टन फर्किनुअघि जियाले तिब्बती शरणार्थी र बौद्धस्थित गुम्बा भ्रमण गर्दा लिएको सेल्फी ट्विटरमा पोस्ट गरेकी छन्। जियाले नेपालमा भेटवार्ता हुँदासम्म चाहिँ तिब्बती शरणार्थीलाई भेटेको तस्बिर राखेकी थिइनन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .