ad ad

राजनीति


हारेपछि ‘धुलोमा बसेर जनताको सेवा गर्छु’ भन्दै घरदैलो गरिरहेका बन्दीपुरका पूर्णसिंह

हारेपछि ‘धुलोमा बसेर जनताको सेवा गर्छु’ भन्दै घरदैलो गरिरहेका बन्दीपुरका पूर्णसिंह

सीताराम बराल
जेठ ९, २०७९ सोमबार ६:४२, काठमाडौँ

चुनावका बेला उम्मेदवारहरु मतदाता समक्ष प्रेमीले प्रेमिकासँग गरेझैँ असम्भव लाग्ने प्रण गर्छन्। मतदाताको दैलो–दैलोमा पुगेर पुरा गर्न नसकिने बाचा गर्छन्। 

यस्ता बाचा गरेर चुनाव जितेको केही समयपछि विजेता उम्मेदवारप्रति मतदाताको प्रतिक्रिया हुन्छ, ‘हामीलाई अनेक आश्वासनमा फसाएर चुनाव जित्यो। जितेपछि चाहिँ एकचोटि फर्केर आएको होइन।’ 

जित्नेको त यस्तो व्यवहार हुन्छ। हार्नेले चुनावपछि आएर हामीलाई भेटेन भनेर जनताले के गुनासो गर्नु! 

बन्दीपुर गाउँपालिका (तनहुँ) निवर्तमान अध्यक्ष पूर्णसिंह थापा मगरले भने गाउँपालिकाका जनतालाई चुनावपछि उम्मेदवारहरु भेट्न हाम्रो दैलो–गाउँमा आएनन् भन्ने अनुभूति गर्न दिएका छैनन्। पाँच दिनअघि गाउँपालिका अध्यक्षमा पराजयको नतिजा आएपछि उनी गाउँ डुल्न निस्केका छन्।

३० वैशाख (२०७९) मा भएको बन्दीपुर गाउँपालिकाको निर्वाचनको परिणाम ३ जेठमा आएको थियो। २०७४ मा निर्वाचित गाउँपालिका अध्यक्ष पूर्णसिंह यसपटक झिनो मतान्तरले पराजित भए। 

पराजित हुनु परे पनि पूर्णसिंह निराश र हतास भएनन्। निर्वाचन परिणाम आएको चौथो दिन शनिबार (७ जेठ) देखि उनी मतदातालाई भेटेरै धन्यवाद दिन निस्किएका छन्।  

पहिलो दिन गाउँपालिकाको वडा नं १ (डुम्रे बजार क्षेत्र) र दोस्रो दिन वडा नं २ (खहरे क्षेत्र) मा घरदैलोमार्फत् मतदातालाई धन्यवाद दिइसकेका छन्। यो हप्ता उनी यसैगरी प्रत्येक गाउँ र वडाका मतदाता समक्ष पुग्नेछन्।

पराजयपछि मतदातामाझ पूर्णसिंह थापा (बायाँबाट तेस्रो)

‘चुनावअगाडि भोटका लागिमात्र घरदैलो गर्नु अवसरवादी राजनीति हो, म त्यस्तो राजनीतिको पक्षमा छैन,’ उनले भने, ‘दुई दिनको घरदैलोबाट पाएको प्रतिक्रियाबाट म उत्साहित छु। मतदाताहरुले तपाईं हार्नुभएको छैन भनेर प्रोत्साहन दिनु भयो,’ उनले भने, ‘उहाँहरुले हाम्रो पाँचवर्षे कार्यकालको स्मरण गर्नुभएको छ, पाँच वर्षमा हामीले गरेको कामप्रति धन्यवाद दिनुभएको छ। यसैलाई मैले हाम्रो जित मानेको छु।’  

पर्यटकीय नगरीको नामबाट नामाकरण गरिएको गाउँपालिकालाई थप विकसित र सुन्दर बनाउन पूर्व स्वास्थ्यकर्मी पूर्णसिंह थापाले आफ्नो पाँच वर्षे कार्यकाल खर्चे। 

पाँच वर्षे कार्यकालमा उनको महत्वपूर्ण काम गाउँपालिकाको २० वर्षे गुरुयोजना निर्माण र त्यसबमोजिम पूर्वाधारहरुको निर्माण–सुरुवात थियो। 

‘पर्यटन, शिक्षा, कृषि, स्वास्थ्य, सहकारी र पूर्वाधारः समृद्ध बन्दीपुर निर्माणको मूल आधार’ पूर्णसिंह थापाको नेतृत्वमा बन्दीपुर गाउँपालिकाले निर्माण गरेको २० वर्षे कार्ययोजनाको नारा यही हो।  

‘नारा’ त जसले पनि बनाउन सक्छन्। तर, आफ्नो कार्ययोजनालाई उनले ‘नारा’ मा सीमित गरेनन्, तिनको कार्यान्वयन पनि सुरु गरे। 

कृषिको आधुनिकीकरणको लागि गाउँपालिकाले खेतीयोग्य जमिनको चक्लाबन्दी सुरु गरेको थियो। कतिपय वडामा साना–साना आकारका गह्रा र सुर्कासुर्कीलाई डोजरले सम्याएर फराकिलो गह्रा बनाइँदै थियो। 

बन्दीपुरमा चक्लाबन्दी हुँदै गरेको जमिनमा पूर्णसिंह थापा

किसानहरुलाई प्रोत्साहित गर्न गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर दूध बराबर एक रुपैयाँ अनुदान दिन सुरु गर्यो। अर्थात्, एक लिटर दूध उत्पादन गर्ने किसानले गाउँपाकिालबाट एक रुपैयाँ अनुदान प्राप्त गर्न थाले।  

किसानहरुले वर्षमा हजारौँ लिटर दूध उत्पादन गर्ने भएकाले हजारौँ रुपैयाँ अनुदानको रुपमा पाउँथे। यसले गर्दा गाईभैँसी पालेर दूध उत्पादन गर्न किसानहरु प्रोत्साहित भए। 

तरकारी उत्पादन गर्ने किसानहरुलाई पनि यसैगरी अनुदान दिएर गाउँपालिकाले प्रोत्साहित गरिरहेको थियो। 

स्वास्थ्य सुविधाअन्तर्गत गाउँपालिकाका ६ वटै वडामा आधारभूत स्वास्थ्यचौकी निर्माण भइरहेका छन्। गाउँपालिकाले ५० शय्याको अस्पतालपनि निर्माण गरिरहेको छ। 

उनकै कार्यकालमा प्रत्येक वडा कार्यालयसम्म पुग्ने गरी ग्राभेल गरिएको सडक बने। तिनलाई पिच गर्ने योजनामा उनी थिए। 

शिक्षा सुविधा अन्तर्गत उनले गाउँपालिकाभित्र रहेका सबै माध्यमिक विद्यालयमा छात्रावास निर्माणको योजना बनाए। यो योजनाअनुसार कतिपय विद्यालयमा छात्रावास निर्माण भइसकेका छन्। 

विद्यार्थीहरुलाई विद्यालय पुग्न सहज होस् भनेर पालिकाभित्र सबै विद्यालयको आफ्नै स्कुल बस राख्ने योजना पनि उनले बनाए। यो योजनाअनुसार स्कुल बसका लागि लाग्नेमध्ये ४० प्रतिशत खर्च स्कुलले र ६० प्रतिशत गाउँपालिकाले बेहोर्ने नीति बनाइएको छ। 

‘यो नीतिको कार्यान्वयन पवित्रा माविबाट सुरु भइसकेको छ,’ उनले भने, ‘कार्ययोजना अनुसार सबै विद्यालयका आफ्नै बस हुनेछ।’  

कुनै बेला पश्चिम नेपालको प्रमुख व्यापारिक थलो बन्दीपुरको परिचय दुई दशकयता नेपालकै एक प्रमुख ग्रामीण पर्यटकीय स्थल बनेको छ। भ्रमणका क्रममा हजारौँ स्वदेशी–विदेशी पर्यटक बन्दीपुर पुग्ने गरेका छन्। 

त्यहाँका पुराना घरमा खोलिएका रेस्टुराँ–होटलहरुको बसाइले धेरै पर्यटकहरुको ध्यान आकर्षित गर्ने गरेको छ। पश्चिम बंगालको दार्जिलिङजस्तै तनहुँको बन्दीपुरले ‘पहाडकी रानी’ को उपमा पाउन थालिसकेको छ। 

बन्दीपुरमा अझ धेरै पर्यटक आकर्षित गर्न पृथ्वी राजमार्गबाट बन्दीपुरसम्म पुग्ने गरी केबुलकार निर्माण भइरहेको छ। तार टाँगिसकिएका केबुलकारमा अब डिब्बा फिट गर्नमात्र बाँकी छ। यो काम आगामी दसैँअगाडि नै सम्पन्न भइसक्नेछ।  केबुलकारका साथ पाँच तारे होटल पनि निर्माणाधीन अवस्थामा छ। 

पीपीपी (सार्वजनिक निजी साझेदारी) मोडल अन्तर्गत निर्माण हुँदै गरेको केबुलकार र होटलमा गाउँपालिकाले पनि लगानी गरेको छ। 

उनको कार्यकालको सबैभन्दा रोचक योजना चाहिँ बन्दीपुरमा चीनको ग्रेटवाल जस्तै ‘मिनी ग्रेटवाल’ को निर्माण हो। यो पनि निर्माणको अन्तिम चरणमा छ। बन्दीपुर पुग्ने अधिकांश पर्यटकको आकर्षणको केन्द्र मिनी ग्रेटवाल पनि बन्ने गरेको छ।

बन्दीपुरको ‘मिनी ग्रेटवाल’

यति धेरै रचनात्मक काम गरे पनि थापा यसपटकको निर्वाचनमा अप्रत्याशित रुपमा एमाले उम्मदेवारबाट पराजित हुन पुगे। 

विजयी एमालेका सुरेन्द्रबहादुर थापाले ३ हजार २ सय २९ मत प्राप्त गर्दा माओवादी केन्द्रका पूर्णसिंह थापाले ३ हजार १ सय ६६ मत प्राप्त गरे। विजेता एमाले उम्मेदवार सुरेन्द्र र पराजित माओवादी केन्द्रका उम्मेदवार पूर्णबीच जम्मा ६३ मतको अन्तर रह्यो।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसले बाजी मार्यो। कांग्रेस उम्मेदवार पञ्चमाया गुरुङ ३ हजार २७ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रकी करुणा गुरुङले ३ हजार २५ मत प्राप्त गरिन्। अर्थात् करुणा सिर्फ २ मतान्तरले पराजित भइन्।  

थापाका भनाइमा अन्तिम समयमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवारलाई मत दिने गरी ‘अघोषित तालमेल’ हुनु नै उनको पराजयको प्रमुख कारण हो। टिकटको आशामा रहेका माओवादी केन्द्रका बन्दीपुर अध्यक्ष जीवन कायस्थको असन्तुष्टि पनि उनको पराजयको कारण बन्यो। 

‘आफ्नै पार्टीका मान्छे विपक्षी उम्मेदवारहरुको प्रचारमा लागिदिए। त्यसले स्थिति असहज बनायो,’ थापाले भने, ‘तैपनि जित हुनेमा विश्वस्त थियौँ। पहिलेभन्दा ३ सय बढी मत प्राप्त गरेका पनि हौँ। तर, प्रतिस्पर्धीहरुबीच अघोषित तालमेल र आफ्नै साथीहरुले अन्तर्घात गरेपछि हाम्रो केही लागेन।’ 

निर्वाचनमा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धा भएपछि हारजित पनि हुन्छ। त्यसैले, थापाले पराजयलाई स्वभाविक रुपमा लिएका छन्। 

‘त्यहीकारण पदमा नरहे पनि जनताकै बीचमा रहन्छु भन्ने भरोसा दिलाउन म घरदैलोमा गएको हुँ,’ उनले भने, ‘जनताको सेवा गर्नु मेरो कर्तव्य हो। फरक यत्ति हो– हिजो कुर्सीमा बसेर सेवा गरेको थिएँ, अब धुलोमा बसेर सेवा गर्नेछु। पराजयपछिको घरदैलोमा मैले जनतालाई यही कुरा भनिरहेको छु।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .