ad ad

राजनीति


प्रस्तावित पाँच राजदूतको नाम अनुमोदन, यस्ता छन् उनीहरुका योजना

प्रस्तावित पाँच राजदूतको नाम अनुमोदन, यस्ता छन् उनीहरुका योजना

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूतहरु। तस्बिर : नेपालखबर


सन्तोष घिमिरे
जेठ ७, २०७९ शनिबार २०:४, काठमाडौँ

संसदीय सुनुवाइ समितिले पाँच देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम अनुमोदन गरेको छ। 

समितिको शनिबार बसेको बैठकले जापानका लागि प्रस्तावित नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, ब्राजिलका लागि निर्मल राज काफ्ले, इजिप्टका लागि सुशील कुमार लम्साल, अष्ट्रियाका लागि भरत कुमार रेग्मी र बहराइनका लागि तीर्थराज वाग्लेको नाम सुनुवाइपछि अनुमोदन गरेको हो। उनीहरु सबै परराष्ट्र सेवाका सहसचिव हुन्। 

बैठकमा आफ्नो कार्ययोजना पेश गर्दै राजदूत सुवेदीले नेपालको जापानसँगको राजनीतिक, आर्थिक, सांस्कृतिक र धार्मिक सम्बन्ध सुदृढ गर्न ध्यान केन्द्रित गर्ने बताए। 

उनले आफ्नो कार्यकालमा दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान सुचारु गर्न पहल गर्ने र त्यसको सुरुवात नेपाल–जापान संसदीय मैत्री समूहबाट हुने बताए। 

सुवेदीले जापानमा आफू राजदूत भएर गएपछि वार्षिक ५० हजार जापानी पर्यटक भित्र्याउने लक्ष्य राखेको बताए। 
‘भविष्यमा १ लाखसम्म जापानी पर्यटक नेपाल भित्र्याउने मेरो लक्ष्य छ’, उनले भने। 

त्यसैगरी नेपालबाट जापानमा निर्यात बढाउन पहल गर्ने उनले बताए।  उनले आफू राजदूत भएपछि कार्यकालको कुनै पनि समय खेर नफाल्ने बताए। 

दूतावासमार्फत चुस्त सेवा प्रवाह गर्ने प्रतिबद्धता उनले जनाए। ‘नेपालीको भिषा र कन्सुलरसम्बन्धी कुनै पनि काममा मैले ढिलाइ हुन दिने छैन। ‘नो टुमरो पोलिसी’ लागू गर्नेछु’, उनले भने। 

सुवेदीले आफूलाई दाेहाेर्याएर राजदूत बनाइएकाेबारे समितिमा भने, ‘विगतमा झरेन्द्र नारायण सिंह चार पटक र डा. भेषबहादुर थापा चार पटक राजदूत नियुक्त हुनुभएको थियो। हालै ज्ञानचन्द्र आचार्य समेत पुनः राजदूत नियुक्त हुनुभएको अवस्था छ। मैले बेलायतमा राजदूत भई काम गर्दाको मेरो कार्यसम्पादनको मूल्यांकन तथा समग्र मेरो योग्यता, क्षमता र कार्यसम्पादनको कदर गरेर सरकारले पुनः मलाई राजदूत नियुक्त गरेको हो भन्ने ठानेको छु।’ 

सुवेदीले आफू अहिले परराष्ट्रको सबैभन्दा पुरानो कर्मचारी रहेको बताए।

‘३४ वर्ष परराष्ट्र सेवामा बिताइसकेको छु। सेवा प्रवेशका आधारमा भन्नुपर्दा म भन्दा पुरानो कर्मचारी परराष्ट्र सेवामा अहिले कोही छैन। म र शंकरदास बैरागी दुईजना पुराना कर्मचारी हौं, उहाँ मुख्यसचिव हुनुहुन्छ। त्यसैगरी अहिले राजदूत सिफारिस भएका परराष्ट्रका सहसचिवमा पीएचडी गरेको सहसचिव म मात्रै हुँ’, उनले भने। 

सुनुवाइका क्रममा समितिका सदस्यले प्रस्तावित राजदूत सुवेदीलाई राजनीतिक कोटाबाट नियुक्त राजदूतहरुले परराष्ट्र मन्त्रालयबाट सोचेजस्तो सहयोग, सहकार्य र समन्वय नपाउने गरेको गुनासोबारे जिज्ञासा राख्दै परराष्ट्र सेवाका राजदूतलाई मन्त्रालयबाट कत्तिको सहयोग हुन्छ भनेर सोधका थिए। 

जवाफमा राजदूत सुवेदीले भने, ‘म बेलायतमा राजदूत हुँदा परराष्ट्र मन्त्रालयबाट समन्वय र रेस्पोन्स भएको थियो। तर पर्याप्त चाहिँ थिएन।’ 

समितिले ब्राजिलका लागि प्रस्तावित नेपाली राजदूत निर्मलराज काफ्लेको पनि सुनुवाइ गर्यो।

काफ्लेले राजदूत भएर गएपछिका कार्ययोजना सांसदहरुलाई सुनाए। ‘ल्याटिन अमेरिका क्षेत्रमा उदाउँदो अर्थतन्त्र ब्राजिलसँगको राजनीतिक तथा आर्थिक सम्बन्ध विस्तारका लागि मेरो प्रयास रहनेछ,’ उनले भने। 

काफ्लेले द्विपक्षीय सम्बन्धका अलावा संयुक्त राष्ट्रसंघ, साउथ—साउथ को–अपरेशन र ब्रिक्सजस्ता बहुपक्षीय तथा क्षेत्रीय मञ्चमा सहकार्य गरी नेपालले राष्ट्रिय स्वार्थ पूरा गर्ने अवसर रहेको बताए। 

नेपालमा ब्राजिलका लगानीकर्ता भित्र्याउन आफूले पहल गर्ने उनले बताए। ‘ब्राजिलबाट मासु प्रशोधनसम्बन्धी प्रविधि भित्र्याउन सकेमा त्यसबाट नेपाललाई फाइदा हुनेछ। त्यसका लागि पनि पहल गर्नेछु’, काफ्लेले भने। 

परराष्ट्र मन्त्रालयले बनाएको आर्थिक कुटनीतिसम्बन्धी देशगत नीतिअनुसार आफूले आर्थिक प्रवद्र्धनका लागि पहल गर्ने उनले बताए। 

बैठकमा समिति सदस्यहरुले ब्राजिलसँग नेपालको द्विपक्षीय व्यापार तथा राजनीतिक अन्तरक्रिया निकै न्यून रहेकाले नेपालले त्यो देशमा दूतावास राख्नुको औचित्य नरहेको समेत बताए। 

प्रस्तावित राजदूत काफ्ले ल्याटिन अमेरिकी क्षेत्रमा राजनीतिक प्रतिनिधित्वका हिसाबले तथा उदाउँदो अर्थतन्त्र भएकाले ब्राजिलसँगको सहकार्यबाट नेपालले भविष्यमा फाइदा लिनसक्ने बताए। 

समितिले इजिप्टका लागि प्रस्तावित राजदूत सुशीलकुमार लम्सालको पनि सुनुवाइ गर्यो। उनी पनि परराष्ट्र सेवाका अर्का सहसचिव हुन्। 

लम्सालले इजिप्टसँग विगतमा हस्ताक्षर भएका सहमति र सम्झौताको कार्यान्वयनका लागि पहल गर्ने बताए। 

त्यसैगरी दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदानका लागि कोशिश गर्ने उनले बताए। इजिप्टमा रहेका नेपाली कामदारको समस्या र हकहितका लागि आफूले पहल गर्ने लम्सालले बताए। 

इजिप्टबाट निकै न्यून संख्यामा पर्यटक नेपाल आउने गरेको चर्चा गर्दै उनले त्यहाँको पर्यटन हेर्ने निकाय र नेपाल पर्यटनबोर्डबीच सहकार्य स्थापित गर्न पहल गर्ने बताए। 

चीन र बंगलादेशमा कार्यवाहक राजदूत भएर काम गरेको आफ्नो अनुभव र कुटनीतिक ज्ञानका आधारमा इजिप्टसँगको सम्बन्धलाई नेपालको हितमा प्रयोग गर्न आफूले सक्दो पहल गर्ने उनले बताए। 

‘राजदूत नियुक्त भएमा मेरो दक्षता,  कार्यानुभव र भियना कन्भेन्सन अनुशार राजदूतका रुपमा निर्वाह गर्नुपर्ने भूमिका सक्रिय रुपमा निर्वाह गर्नेछु’, लम्सालले भने। 

समितिले अष्ट्रियाका लागि प्रस्तावित राजदूत भरत कुमार रेग्मी तथा बहराइनका लागि प्रस्तावित राजदूत तीर्थराज वाग्लेको पनि सुनुवाई गर्यो। रेग्मीले अष्ट्रियासँगको द्विपक्षीय सम्बन्ध विस्तार तथा त्यहाँ रहेका संयुक्त राष्ट्रसंघीय निकायसँग अन्तरक्रिया बढाएर मुलुकको हितमा काम गर्ने प्रतिवद्धता जनाए। 

बहराइनका लागि प्रस्तावित नेपाली राजदूत वाग्लेले बहराइनसँगको आर्थिक र श्रम कुटनीतिलाई बढाउन आफूले पहल गर्ने बताए। 

बहराइनसँग सन् २००८ मा हस्ताक्षरित श्रम सम्झौताको कार्यान्वयनका लागि काम गर्ने उनले बताए। 

‘बहराइनमा करिब २५,००० नेपाली कामदार छन्। उनीहरुको हक हितका लागि काम गर्नेछु। नेपालबाट दक्ष तथा अदक्ष कामदारको संख्या बढाउन कोशीश गर्नेछु’, उनले भने। 

त्यसैगरी बहराइनका पर्यटक भित्र्याउन पहल लिने उनले बताए। केही समयअघि बहराइनका राजकुमार पर्वतारोहणका लागि नेपाल आएको उनले चर्चा गरे। 

समितिले आइतबार बंगलादेशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्दैछ। सरकारले डेढ महिनाअघि २० देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .