ad ad

राजनीति


अमेरिकी राष्ट्रपतिकी दूतले दलाई लामालाई भेटिन्, भोलि नेपाल आउने

अमेरिकी राष्ट्रपतिकी दूतले दलाई लामालाई भेटिन्, भोलि नेपाल आउने

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १४:९, काठमाडौँ

नेपाल आउनु ठीक एक दिनअघि अमेरिकी अमेरिकी राष्ट्रपति जो बाइडेनकी तिब्बत मामिला विशेष संयोजक उज्रा जियाले तिब्बतका निर्वासित धर्म गुरु दलाई लामासँग भेटवार्ता गरेकी छिन्। 

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा अवस्थित दलाई लामाको निवास पुगेर जियाले अमेरिकी जनता र राष्ट्रपति बाइडेनको सन्देश सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यसक्रममा जियाले लामाको सु—स्वास्थ्यको कामना गरिन्। ‘विश्व शान्तिका लागि यहाँको सन्देशप्रति हामी आभार ब्यक्त गर्न चाहन्छौं’ जियाले भेटवार्तामा भनिन्। 

उपविदेशमन्त्री जियालाई चीन र दलाई लामा वा उनका प्रतिनिधिबीच निःशर्त संवादलाई प्रोत्साहन गर्ने जिम्मेवारी छ। 

बाइडेन राष्ट्रपतिमा नियुक्त भएयता दलाई लामा र तिब्बत हेर्ने वरिष्ठ अमेरिकी अधिकारीबीच पहिलोपटक प्रत्यक्ष भेटवार्ता भएको हो। 

उपविदेशमन्त्री जिया अमेरिकी विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ मा नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार हेर्ने प्रमुख अधिकारी हुन्। 

उज्रासँग ३२ वर्ष अमेरिकी विदेश सेवामा काम गरेको अनुभव छ। उनी नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार हेर्ने अमेरिकी उच्च अधिकारी हुन्। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जियालाई गत डिसेम्बर २० मा तिब्बती मामिला हेर्ने विशेष संयोजक नियुक्त गरेका थिए। 

अमेरिकाका तर्फबाट तिब्बतीहरुको मानवअधिकार, उनीहरुको धार्मिक, भाषिक र सांस्कृतिक पहिचानका लागि लड्ने जिम्मा पनि उनको छ। 

त्यसैगरी प्रवासमा रहेका लगायत सम्पूर्ण तिब्बतीहरुको मानवीय आवश्यकता, तिब्बतसम्मको पहुँच बढाउँदै लैजान, तिब्बती पठारमा देखिएका वातावरणीय तथा पानी सुरक्षाका चुनौतीको अध्ययन गर्ने जिम्मेवारी पनि उनको छ। 

यतिबेला अमेरिकी प्रशासनका अधिकारी र सांसद तिब्बती प्रवास सरकारसँग निरन्तर संवादमा छन्। दुई दिन नेपालमा रहँदा उपविदेशमन्त्री जियाले उच्चस्तरीय भेटवार्ता गर्ने तय भएको छ। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकर बैरागीसँग भिन्दाभिन्दै भेटवार्ता गर्नेछिन्। 

त्यसैगरी यहाँस्थित केही मानवअधिकारकर्मी तथा नागरिक समाजका व्यक्तिलाई पनि उनले भेट्नेछिन्। विगतमा पनि तिब्बत मामिला हेर्ने अमेरिकी अधिकारी नेपाल आएका छन्। 
उनीहरुले खासगरी सन् १९९० यता नेपालमा जन्मेका तिब्बतीले परिचयपत्र नपाएका सवाल सरकारी भेटवार्तामा जोडतोडका साथ उठाउने गरेका छन्।

त्यसैगरी तिब्बतबाट भागेर नेपाल हुंदै भारतको धर्मशाला जाने र त्यहाँबाट फर्केर नेपाल आउने तिब्बतीको आवागमनमा अवरोध नगर्न अमेरिकाका तर्फबाट दबाब दिने गरिएको पूर्व गृह सचिव गोविन्द कुसुमले आफ्नो पुस्तक ‘प्रशासनभित्रका प्रशाशन’ मा लेखेका छन्। 

सन् १९९० मा अमेरिकाको सहजिकरणमा नेपाल सरकार र राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसीआर) भएको अलिखित समझदारीअनुसार शरणार्थीको निर्वाध नेपाल हुंदै भारत प्रवेश र फिर्तीको कुरा अमेरिकाले उठाउने गरेको छ। 

अमेरिकाले प्रवासी तिब्बतीलाई आफ्नाविरुद्ध उचालेकोमा चीन रुष्ट छ। चीनले तिब्बत आफ्नो अभिन्न अंग रहेकाले अमेरिकाको अनावश्यक चासो आफूलाई मान्य नहुने बताउँदै आएको छ। तिब्बत टुक्राउने प्रयासस्वरुप अमेरिकाले दलाई लामालाई प्रयोग गर्दै आएको चीनको भनाई छ। 

अमेरिकाले दलाई लामालाई रणनीतिक हतियारका रुपमा प्रयोग गरेर चीनलाई सुरक्षा चुनौति दिन खोजेको चिनियाँ विज्ञहरु बताउँछन्। 

सन् २०२० मा अमेरिकी संसदले पास गरेको ‘टिबेट पोलिसी एन्ड सपोर्ट एक्ट’ मा अमेरिकी विदेशमन्त्रीले तिब्बतीहरुको पक्षमा नेपालसँग आवाज उठाउने स्पष्ट उल्लेख छ। 

जसप्रति चीनले चर्को आपत्ति जनाएको थियो। अमेरिकी कांग्रेसको उक्त एक्टको कार्यान्वयनका लागि अमेरिकाले नेपाल र भारत लगायत दक्षिण एसियाली मुलुकलाई राजी गराउने प्रयास गरिरहेको छ। उक्त एक्ट कार्यान्वयनकै सिलसिलामा जिया नेपाल आउन लागेको बताइएको छ।

चीन सरकार र दलाई लामाबीच वार्ता नभएको १२ बर्ष बितेको छ। चीनका उच्च अधिकारी र दलाई लामा समर्थित प्रवासी तिब्बती सरकारबीच सन् २००२ देखि २०१० सम्म नौ चरणका वार्ता भए। तर, कुनै पनि वार्ता सफल भएनन्। सन् २०१० यता वार्ता सुचारु हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .