ad ad

राजनीति


स्थानीय निर्वाचन : पोखरामा निर्णायक हुन छाडे लाहुरे, अरुको प्रभाव कति?

स्थानीय निर्वाचन : पोखरामा निर्णायक हुन छाडे लाहुरे, अरुको प्रभाव कति?

फाइल फोटो


वाशुदेव मिश्र
बैशाख २७, २०७९ मंगलबार २२:५९, पोखरा

पोखरा महानगरपालिकाको मेयरमा २३  र उपमेयरमा ७ जना चुनावी मैदानमा छन्। 

सबै उम्मेदवारहरूले मंगलबार अन्तिम प्रचार सकाएका छन्। चुनाव नजिकिँदै गर्दा मेयरमा अन्तिम प्रतिष्पर्धा एमालेबाट उम्मेदवार बनेका कृष्ण थापा र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी र बीच हुने निश्चित छ। 

उपमेयरमा पनि मेयर र उपमेयरमा कांग्रेस (गठबन्धन) र एमालेकी मञ्जुदेवी गुरुङबीच नै अन्तिम स्पर्धा हुने ठानिएको छ। 

मेयर र उपमेयरका दुबै उम्मेदवारहरूले चुनावी रणनीति बनाउँदै गर्दा चुनावी परिणामलाई प्रभाव पार्ने तत्वहरुबारे भने भित्रभित्रै चर्चा चलेको छ। 

लाहुरेहरुको बस्ती हो,पोखरा। गण्डकीमा लाहुरे संस्कृतिले रेमिट्यान्स मात्रै भित्र्याएन, सभ्यता र संस्कृति पनि भित्र्यायो। 

लाहुरेहरुले नै अत्तर छर्केर हिँड्न सिकाए, साबुनले हात धुन सिकाए। विभिन्न क्रान्तिमा योगदान गरे। शहीद बने। 

कुनै बेला गण्डकीमा कांग्रेसको बलियो उपस्थितिको एउटा कारण थियो, राणा शासनविरुद्ध सशस्त्र आन्दोलनमा उत्रेका पूर्व भारतीय-बेलायती सैनिकहरूको प्रभाव। त्यही शक्तिमा कांग्रेसले निर्वाचनमा सफलता पनि पायो।

अर्कोतर्फ, कम्युनिष्टहरू गोर्खा भर्ती केन्द्रको विरोध गर्थे। सुन्दा मीठो लागे पनि लाहुरे समाजले त्यो नारा मन पराउँदैनथ्यो। तर, बिस्तारै भर्ती हुनेको संख्या घट्दै गयो। 

मेजर दीपकबहादुर गुरुङ नेतृत्वको नेपाल भूतपूर्व सैनिक संघ बेलायती नीतिको विरोध गर्दैनथ्यो। बेलायतसँग लडेर होइन, मिलेर अधिकार लिनुपर्छ भन्ने मान्यता राख्थ्यो। 

मेजरले नेतृत्व गरेको संस्था भएकाले त्यो स्वभाविक पनि थियो। २०४७ सालमा गोर्खा भूतपूर्व सैनिक संगठन (गेसो) स्थापना भयो। गेसोका तत्कालीन  अध्यक्ष पदमबहादुर गुरुङ बेलायती सेना छाडेर आएका व्यक्ति थिए। 

क्रान्तिकारी कुरा गर्ने उनी स्वभाविक रुपले वामपन्थी झुकाव राख्थे। पछि उनी एमालेसँग निकट भए। गेसोले विभेदकारी बेलायती नीतिविरुद्ध आन्दोलन चर्कायो। बेलायतको अदालतमा मुद्दा हाल्यो। 

आन्दोलनले सकारात्मक परिणाम दियो। बेलायत सरकार गोरखा सैनिकलाई पनि बेलायतीसरह तलब र पेन्सन दिन, भूतपूर्व गोरखा सैनिकका परिवारलाई आवासीय सुविधा दिन बाध्य भयो। 

गेसो एमालेको पर्याय थियो। गेसोले गरेको आन्दोलनले पेन्सन बढेकोमा भूतपूर्व गोरखा सैनिकहरु खुसी थिए। उनीहरुले नेतृत्वले जहाँ भन्छ, त्यहाँ मतदान गरे। पोखराजस्तो लाहुरेको बस्तीमा त्यही शक्ति निर्णायक भयो। 

गेसोले त्यस उपक्रममा मुद्दा लड्ने भन्दै भूपूहरुसँग आर्थिक संकलन अभियान चलाएको थियो। हिसाब–किताब नमिल्दा त्यहाँको अनियमितता छताछुल्ल भयो। अहिले गेसो सुस्ताएको छ। 

गेसो सुस्ताउँदाको असर एमालेलाई पनि परेको छ। अर्कोतर्फ, बेलायतले आवासीय सुविधा दिन थालेपछि धेरै भूतपूर्व सैनिकको परिवारले नेपाल छाडेको छ। 

सेनाकै अनुशासन अनुरुपको व्यवहार गर्ने, आर्थिक अनियमितता नगर्ने तथा टोलमा इज्जत बनाएका थुप्रै लाहुरेहरुको यतिबेला बेलायतमा बसोबास छ। 

जसले गर्दा पोखराको निर्वाचनमा निर्णायक मानिएको लाहुरेको मत कमजोर हो कि भन्ने देखिएको छ। 

करिब ५ हजार हाराहारीको संख्याका भूतपूर्व गोरखा र उनका परिवार बेलायतमा बसोबास गरेको आँकडा छ।

बेलायती सेनामा गुरुङ र मगर समुदायकै व्यक्ति छन्। अझ पोखरामा त गुरुङको संख्या बढी छ। 

सामूहिकतामा विश्वास गर्ने भएकाले पनि यो समुदायले सकेसम्म आफ्नै र नभए अग्रजले पत्याएकालाई मतदान गर्ने परम्परा बस्यो। त्यसलाई कतिपयले जातीय भोटको रुपमा पनि अर्थ्याए। 

दलहरुले ‘गुरुङ’ समुदायको मत तान्न त्यही समुदायका व्यक्तिलाई उम्मेदवार बनाउने चलन पनि चलाए। तर, पोखरालाई ‘लाहुरेको सहर’ बनाएका पूर्वसैनिकहरुको बेलायत बसाइँसराइले शक्तिमा भने ह्रास आएको छ।

तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर तमु पनि भूतपूर्व गोरखा सैनिकको बेलायत बसोवासले समुदायलाई केही क्षति गरेको स्वीकार्छन्।

‘हो त्यस्तो देखिएको छ तर बेलायत बसे पनि आउने जानेको संख्या ठूलो छ’,उनले भने,‘ अग्रजलाई सम्मान गर्ने समुदायका अग्रजहरू नहुँदा केही असर त पक्कै परिहाल्छ।’ 

जातीय उपस्थिति
कास्कीमा २७.८ प्रतिशत ब्राह्मण, १६.६ प्रतिशत गुरुङ, १४.६ प्रतिशत क्षेत्री र ८.६ प्रतिशत मगर तथा बाँकी अन्य जातजातिको बसोबास छ। निश्चित समुदायको भोट निश्चित व्यक्तिलाई जाँदा त्यसले परिणाममा असर गर्छ। 

२०६८ सालको जनगणना अनुसार  कास्कीका ४ लाख ९२ हजार ९८ कूल जनसंख्यामध्ये विदेशिनेको संख्या  ५७ हजार ३०५ रहेको थियो। तीमध्ये  पुरुषको संख्या ४८ हजार ३०४ थियो। 

हाल यो संख्या ६५ हजार २६० अर्थात् कुल जनसंख्याको ३.१ प्रतिशत पुगेको छ। तीमध्ये १५ हजार ९३२ महिला छन्।  अघिल्लो जनगणनाले गण्डकीबाट ३ लाख २२ हजार ७६२ जना विदेश भएको देखाएको थियो।

२०७८ सालको जनगणनाको प्रारम्भिक तथ्याङ्कले  त्यो संख्या घटेर २ लाख ८७ हजार ४५० देखाएको छ। हाल कास्कीको जनसंख्या ५ लाख ९९ हजार ५०४ रहेको छ। त्योमध्ये पोखराको जनसंख्या ५ लाख  १८ हजार ४ सय ५२ छ भने बालिग मतदाता २ लाख ७ हजार ७ सय ६ रहेका छन्।

‘अहिले लाहुरे मात्र नभएर रोजगारीको सिलसिलामा बाहिर जानेहरू पनि बढेका छन्’, पत्रकार विभु भुषाल भन्छन्, ‘निश्चित रुपले बेलायत बसाइँसराइले लाहुरे अगुवाहरु उता पुग्नु भएको छ। यसले यहाँको सामाजिक विकास र चुनावमा असर गरेको छ।’

त्यसो त कास्कीमा पछिल्लो समय जातीय समीकरण बिग्रेको छ। पछिल्लो पुस्ताले पहिचानको मुद्दालाई मन पराउन छाडेको छ। अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा उत्रने पुस्ताले त्यसको मतलब नराख्नु स्वभाविक हो। 

कास्कीको राजनीतिमा पछिल्लो समय क्षेत्री–काजीहरुले पनि प्रभाव देखाउन थालेका छन्। पछिल्लो जनगणनाको प्रारम्भिक नतिजामा कास्कीमा क्षेत्रीको जनसंख्या र मत कति छ भन्ने प्रष्ट चित्र सार्वजनिक गरेको छैन।

तर क्षेत्रीहरूको एकतालाई पनि चुनाव जित्ने आधारको रुपमा हेर्न थालिएको छ। बाहिर नभने पनि दलहरुले भित्रभित्रै यो समूहको विश्वास जित्ने रणनीति तय गरेका छन्। एमालेबाट मेयरका प्रत्यासी क्षेत्री समुदायका  हुन्। क्षेत्रीहरूको एकताको अभियान चाहिँ संविधान सभाको निर्वाचनताका भएको हो। 

गण्डकीलाई तमुवान बनाउने मागसहित आन्दोलन चर्कियो। यो माग माओवादीले उठाएको थियो तर जातीय संघ/संस्थाले त्यसलाई समर्थन गरे। उनीहरु ब्यानरसहित आन्दोलनमा उत्रिए। 

तमुवानको नारालाई यो क्षेत्रका ब्राह्मण–क्षेत्रीले खासै रुचाएनन्। आफूहरु पनि आदिवासी नै भएको जिकिर गरे/गरिरहेका छन्। उनीहरुले आन्दोलन छेडे। पछि पहिचानको मुद्दा त्यत्तिकै सेलायो।  

तर,संगठित भएका क्षेत्रीहरू सुस्ताएनन्। २०६६ सालमा महायज्ञ लगाए र भवन निर्माणको लागि पैसा जुटाए। पोखराको रामघाटनेर भवन किनियो। आन्दोलनका अगुवाहरुले सडकमा निस्केको शक्तिमा राजनीतिक भविष्य देखे। 

२०६९ सालको जेठमा हालका गण्डकीका भौतिक योजनामन्त्री कुमार खड्काको नेतृत्वमा अखण्ड नेपाल पार्टी स्थापना भयो। २०७० सालको संविधानसभा निर्वाचनमा अखण्ड नेपाल पार्टीले सहभागिता जनायो। 

समानुपातिकतर्फ ३६ हजार ८ सय २३ र प्रत्यक्षतर्फ १२ हजार ५ सय ९० मत प्राप्त गर्‍यो। पार्टीका अध्यक्ष कुमार खड्का समानुपातिक मतको आधारमा संविधानसभा सदस्य र मन्त्री नै भए। 

२०७४ असोजमा कुमार खड्काले अखण्ड नेपाल पार्टीलाई नेपाली कांग्रेसमा विलय भएको घोषणा गरे।  उनी प्रदेश सभा निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद बने। 

अहिले अखण्ड अस्तित्वमा छैन तर क्षेत्री समाजका गतिविधि भने भइरहेका छन्। गण्डकी प्रदेशको कुल जनसंख्याको २१.५ प्रतिशत जनसंख्यासहित ब्राह्मण पहिलो मुख्य जातिमा पर्दछ। कास्कीमा पनि ब्राह्मणकै बर्चस्व छ। तर, पछिल्लो समय जातीय भावना हराउँदै गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .