ad ad

राजनीति


देउवाको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुनसक्छ, विवाद समाधान हुँदैन : निहार नायक (अन्तर्वार्ता)

देउवाको भारत भ्रमणमा पञ्चेश्वरबारे छलफल हुनसक्छ, विवाद समाधान हुँदैन : निहार नायक (अन्तर्वार्ता)

डा. निहार नायक


सन्तोष घिमिरे
चैत १५, २०७८ मंगलबार २३:०, काठमाडौँ

डा. निहार नायक भारतीय रक्षा मन्त्रालय मातहतको मनोहर पार्रिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालिसिसका रिसर्च फेलो हुन्। नायक भारत–नेपाल सम्बन्धका विज्ञ हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको सन्दर्भमा डा. नायकसँग नेपालखबरले गरेको संक्षिप्त कुराकानीः 

प्रधानमन्त्री शेरबहादुर देउवाले यही सप्ताहन्तमा भारत भ्रमण गर्दै हुनुहुन्छ। यो भ्रमणमा दुई देशका आपसी चासोका विषय के हुन सक्छन्? 
चार वर्षको अन्तरालपछि नेपालका प्रधानमन्त्रीको औपचारिक भारत भ्रमण हुँदैछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अप्रिल २०१८ मा भारतको औपचारिक भ्रमणमा आउनुभयो। उहाँ प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा भाग लिनेक्रममा मे २०१९ मा पनि भारत आउनुभयो। सीमा तनाव र कोरोना महामारीपछि प्रधानमन्त्रीको तहमा नेपालबाट हुन लागेको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो। पछिल्लो पटक प्रधानमन्त्री नियुक्त भएयता देउवा पहिलो औपचारिक भ्रमणमा भारत भ्रमणमा आउँदै हुनुहुन्छ। यद्यपि, देउवा र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा आयोजित राष्ट्रसंघीय जलवायु सम्मेलनको साइडलाइनमा भेटवार्ता भएको थियो। 

सीमा समस्या र कोरोना महामारीका कारण प्रभावित बन्न पुगेको द्विपक्षीय सम्बन्धलाई पुरानै लयमा फर्काउनु प्रधानमन्त्री देउवाको भ्रमणको उद्देश्य हो। पछिल्ला समयमा विकसित भूराजनीतिक घटनाक्रमहरुका साथै महामारी, प्राकृतिक विपद् र जलवायु परिवर्तनजस्ता जल्दाबल्दा मुद्दामा साझा दृष्टिकोण बनाउँदै द्विपक्षीय सम्बन्ध सुधार गर्न दुवै देशका शीर्ष नेतालाई अब हुन लागेको प्रधानमन्त्री देउवाको भ्रमणले अवसर प्रदान गर्नेछ। 

अर्को कुरा, महामारीका कारण द्विपक्षीय आर्थिक तथा विकास परियोजना प्रभावित भएयता नेपालमा मागभन्दा बढी विद्युत् उत्पादन भएको अवस्था छ। प्रधानमन्त्री देउवाको भारत भ्रमणमा नेपालमा बढी भएको विद्युत् पारस्परिक आर्थिक लाभका क्षेत्रमा कसरी उपयोग गर्ने भन्नेबारे दुई प्रधानमन्त्रीले छलफल गर्नसक्नुहुन्छ। 

नेपाल र भारतबीचको पञ्चेश्वर परियोजनामा सम्झौता भएको वर्षौँ भए पनि अझै कार्यान्वयनमा जान सकेको छैन। पञ्चेश्वबारे प्रधानमन्त्री देउवाको भ्रमणमा केही प्रगति होला? 

पञ्चेश्वर परियोजनाबारे भ्रमणमा छलफल हुनसक्छ। तर परियोजनामा देखिएका विवाद समाधान चाहिँ गर्न नसक्ला। दुवै देशका प्रधानमन्त्रीले यो परियोजनामा देखिएका मतभेद हल गर्न सम्बन्धित सरकारी अधिकारीलाई संयन्त्र बनाएर अघि बढ्न निर्देशन दिन सक्नुहुन्छ। 

यो भ्रमणमा भारतीय पक्षका प्राथमिकता के हुनसक्लान्? 
कनेक्टिभिटी, साझेदारी अभिवृद्धि, नेपालमा सञ्चालित भारतीय सहयोगका परियोजनाको प्रभावकारी कार्यान्वयन र विविध आर्थिक क्षेत्रमा नेपालसँग सहकार्य बढाउनु भारतका प्रमुख प्राथमिकता हुनेछन्।

नेपालमा अबको एक वर्षभित्र हुने चुनावलाई भारतले कसरी लिएको छ? प्रधानमन्त्री देउवाको भारत भ्रमण नेपालमा हुन लागेको चुनावलाई मध्यनजर गरी हुन लागेको चर्चा समेत भइरहेको छ। यहाँलाई के लाग्छ? 
निर्वाचन नेपालको नितान्त आन्तरिक विषय हो। यस्ता विषय द्विपक्षीय औपचारिक भ्रमणमा नउठ्न सक्छन्। तर भारतले लामो समयदेखि नेपालका चुनावमा प्राविधिक सहायता प्रदान गर्दै आएको छ। अबको चुनावमा पनि सहायताको निरन्तरताबारे छलफल हुनसक्छ। 

भ्रमणमा नेपालले सीमा समस्याबारे कुरा उठाउन सक्छ। सन् २०२१ मा कालापानी विवादका कारण नेपाल र भारतबीच सम्बन्धमा चिसोपना पनि आयो। सीमा समस्या हल गर्नेबारे यसपटकको भ्रमणमा छलफल होला?
यो भ्रमणमा नेपाल र भारतका प्रधानमन्त्रीले सम्बन्धित अधिकारीलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत् संवाद गरी सीमा समस्या हल गर्न  निर्देशन दिन सक्नुहुन्छ। 

अमेरिका र चीनबीच एमसीसी अनुदान सम्झौतालाई लिएर अघिल्लो महिना वक्तव्यबाजी भए। जसका कारण नेपाल भूराजनीतिक दबाबमा पर्यो। तर त्यो बेला दक्षिण छिमेकी भारत मौन देखियो। किन होला? चीनझैँ एमसीसी सम्झौताप्रति भारतका पनि केही संशय छन् कि? 
एमसीसी सम्झौता नेपाल र अमेरिकाबीचको द्विपक्षीय मामिला हो। यदि भारतले यसबारेमा आफ्नो धारणा बाहिर ल्याएको भए त्यसलाई नेपालको सार्वभौम मामिलामा भारतले हस्तक्षेप गरेको रुपमा व्याख्या गरिन्थ्यो। अर्को कुरा, सन् २०१७ को मार्च महिनामै अमेरिकासँग भारतले मानव तथा पूर्वाधार विकासमा एमसीसीको भूमिका स्वीकार गरिसकेको छ। 

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल आउनुअघि भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेशमन्त्रीसँग भेट्नुभयो। उहाँले सीमा समस्याका अलावा भारतीय पक्षसँग चीन-भारतबीच दक्षिण एसियाली मुलुकमा सहकार्यको अवधारणा (टु प्लस वान) बारे कुराकानी गर्नुभएको मिडियामा सार्वजनिक भयो। चीनले जोड दिँदै आएको ‘टु प्लस वान’ अवधारणालाई भारतले कसरी लिएको छ? 
भारतले चीनको यो प्रस्तावलाई चीन र नेपालसँगका छलफलमा पहिल्यै अस्वीकार गरिसकेको हो। अहिले पनि भारतले यसबारे चासो दिएको जस्तो लाग्दैन। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .