ad ad

राजनीति


विगतका सरकारले सुरक्षित गर्न नसकेको सीमा अब नेकपाले गर्छः खनाल

विगतका सरकारले सुरक्षित गर्न नसकेको सीमा अब नेकपाले गर्छः खनाल

नेपालखबर
मंसिर २, २०७६ सोमबार १०:२१,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताए।

चाँगुनारायणमा सोमबार चुनावी कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने बताए। यही मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा नेकपाले डीपी ढकलालाई उम्मेदवार बनाएको छ। उनले २१ औँ शताब्दीको दोस्रो दशकमा पार गरिरहँदा पनि हाम्रो देशको सिमाना अंकित हुन नसक्नु विगतका सरकारले यसमा ध्यान दिन नसकेको प्रस्ट भएको भनाइ राखे।

‘आज हामी कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि लडिरहेका छौँ, सुगौली सन्धिबाट हामीले प्राप्त गरेको भूमि विगतका सरकारले सुरक्षित गर्न सकेनन्’, उनले भने, ‘अब नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ, नेकपाको सरकार सीमा सुरक्षाको काम ऐतिहासिक रूपमा पूरा गर्न दृढरूपमा अगाडि बढेको छ।’

देशमा प्रशस्त बिजुली र पानी भएर पनि देश अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य गरी विद्युत्भार कटौती मुक्त देश बनाउँदै सरकारले राष्ट्रव्यापीरूपमा विद्युतीकरण गर्ने योजना अगाडि बढाएको बताए।

नेता खनालले भने, ‘नेकपाको सरकार बनेपछि लोडसेडिङ अन्त्य भएको छ, नेकपाको नेतृत्वको युग शुरु भएपछि उज्यालोको युग शुरु भएको छ।’

आफ्नै देशमा उत्पादनको क्षमता हुँदाहुँदै पनि अरू देशबाट आयात गरिएका गोलभेँडा, प्याज, फलफूल खाइरहनु परेको बताउँदै वर्तमान सरकारले यस्तो विदेशमुखी अवस्थाको अन्त्य गर्दै उत्पादनमुखी नीति लिएको भनाइ उनले राखे।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपालको राष्ट्रियताको सुदृढीकरण गर्ने, पार्टी एकीकरणलाई तल्लो तहसम्म पूरा गर्ने र देशलाई आर्थिक समृद्ध पूरा गर्ने जिम्मेवारी नेकपाको सरकारले पूरा गर्ने बताए।

कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले सरकार र स्थानीय तहमा नेकपा आएपछि चाँगुनारायण नगरपालिकाले विकासमा फड्को मारेको बताए।

कार्यक्रममा प्रदेशसभा सदस्य रामेश्वर फुँयाल, केन्द्रीय सदस्य एवं चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, नेकपा भक्तपुर इन्चार्ज एवं केन्द्रीय सदस्य दिलीप प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायत नेताहरुसमेत जनताको घरघरमा पुगेर नेकपालाई मतदान गर्न आग्रह गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .