ad ad

राजनीति


गृहमन्त्री खाँणद्वारा राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको निरीक्षण

गृहमन्त्री खाँणद्वारा राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको निरीक्षण

नेपालखबर
माघ ९, २०७८ आइतबार १८:२०, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको निरीक्षण गरेका छन्। हिमपात, शीतलहर, अत्यधिक चिसोलगायत विपद्को जोखिम बढेपछि न्यूनीकरणका लागि आवश्यक पर्ने पूर्वतयारीबारे जानकारी लिनका लागि गृहमन्त्री खाँणले केन्द्रको अवलोकन गरेका हुन्।

सिंहदरबारमा रहेको केन्द्रले प्राकृतिक विपद्को न्यूनीकरणका लागि योजना बनाउने र विपद्बाट क्षति हुन नदिन कसरी अगाडि बढ्ने भन्ने कार्ययोजना बनाउँछ। 

निरीक्षणका क्रममा मन्त्री खाँणले केन्द्रले अहिले हिमपात, शीत लहरबाट हुन सक्ने जोखिम एवं सम्भावित जनधनको क्षति न्यूनिकरणका लागि पूर्वतयारी एवं प्रतिकार्यका लागि गरेको प्रयासबारे जानकारी लिएका थिए।

मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव प्रदीप कोइरालाले अहिलेसम्म गरेको पूर्वतयारी र प्रतिकार्यका लागि गरेको प्रयासबारे मन्त्री खाँणलाई जानकारी गराएका थिए। केन्द्र महाशाखा अन्तर्गत पर्छ। 

गत मंसिर २९ गते गृहमन्त्रीस्तरीय निर्णयबाट आपतकालिन बन्दोबस्तीका सामग्री खरिद गर्न ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, रसुवा, धादिङ, मनाङ, मुस्ताङ, गोरखा, रुकुम पूर्व, हुम्ला, जुम्ला, मुलु, डोल्पा, कालिकोट, बझाङ, बाजुरा र दार्चुलालाई चार लाखका दरले पठाउने निर्णय भएको थियो। त्यो निर्णय कार्यान्वयनका लागि जिल्ला जिल्लामा पठाइसकिएको कोइरालाले मन्त्री खाँणलाई जानकारी गराए। 

त्यस्तै सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुलाई १२ लाख रुपैयाँ तथा नवलपरासी पूर्व, दाङ, बाँके, बर्दिया, कञ्चनपुर र कैलालीलाई ८ लाखका दरले विपद व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्णय गरी खर्च गर्न जिल्ला प्रशासन कार्यालयमा पठाइ सकिएको जानकारी मन्त्री खाँणलाई गराए। 

मन्त्री खाँणले मुलुकभर भएका विपद्का घटनाबारे तत्काल केन्द्रसम्म कसरी जानकारी आइपुग्छ र केन्द्रबाट तत्कालको लागि राहतका सामग्री पठाइन्छ भनेर जिज्ञासा राखेका थिए।

मौसमको पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाबाट सिधै आउने र अन्य विपद्का घटना जिल्ला प्रशासन कार्यालयमार्फत सिधै केन्द्रमा आउने जानकारी केन्द्रका कर्मचारीहरूले मन्त्रीलाई गराएका थिए। 

गृहमन्त्री खाँणले बिहानमात्रै लुम्बिनी र मधेश प्रदेशका मुख्यमन्त्री तथा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर शीतलहरको अवस्था र न्यूनीकरणका लागि भएको पूर्वतयारीबारे जानकारी लिएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .