ad ad

राजनीति


स्थायी कमिटीमा प्रचण्डको ब्रिफिङ : वर्षमानजी आएपछि महासचिवसहित पदाधिकारी चयन गर्छौँ

स्थायी कमिटीमा प्रचण्डको ब्रिफिङ : वर्षमानजी आएपछि महासचिवसहित पदाधिकारी चयन गर्छौँ

फाइल फोटो


नेपालखबर
माघ ८, २०७८ शनिबार २१:१८, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता वर्षमान पुन चीनबाट सोमबार फर्किएपछि पदाधिकारी चयन गरिने बताएका छन्।

गत पुस ११ देखि १५ सम्म भएको आठौं महाधिवेशन अध्यक्ष र केन्द्रीय समिति सदस्य मात्रै चयन गरेर सकिएको थियो।

यस्तोमा महासचिवसहितका पदाधिकारीहरु एकजना नेता वर्षमान पुन 'अनन्त' गम्भीर प्रकृतिको जण्डिसको उपचारका लागि चीनमा रहेकाले रोकिएको थियो।

महासचिवका प्रवल दाबेदार पुन चीनमै रहेपछि अध्यक्षबाहेकका पदाधिकारी नछानी सकिएको माओवादी महाधिवेशनले सबै केन्द्रीय सदस्य पनि चयन गरेको थिएन। 

यस्तोमा शनिबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनन्त सोमबार अपरान्ह ५ बजे चीनबाट काठमाडौं आइपुग्ने जानकारी गराएका थिए।

अनन्त नेपाल आएपछि पार्टी महाधिवेशनले टुंग्याउन बाँकी काम पनि पूरा गर्ने ब्रिफिङ उनले बैठकमा गरेका छन्। 

'वर्षमानजी सोमबार अपरान्ह ५ बजेपछि उपचार गरेर नेपाल आइपुग्दै हुनुहुन्छ', प्रचण्डले बैठकमा भने, 'उहाँ आइसकेपछि पदाधिकारी चयनसहितका बाँकी अरु प्रक्रिया पनि सुरु हुन्छ।'

बैठकमा प्रचण्डले कोरोना निको भएपछि जारी राजनीतिक दौडधूपबारे पनि बैठका जानकारी गराएका थिए। उनले माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको पछिल्लो प्रगति विवरण पनि पेश गरे। 

१९ पदका लागि हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र माओवादीसहितको पाँच दलीय गठबन्धनले सातै प्रदेशमा एमालेविरुद्ध मोर्चावन्दी गरेको छ।

उनले बैठकमा आफूले स्थानीय तह निर्वाचन मितिबारे गठबन्धनमा राखेको प्रस्तावबारे पनि जानकारी गराएका थिए। त्यसक्रममा उनले स्थानीय तहसहित तीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल भइरहेको पनि बताएका छन्। 

'पाँच दलीय गठबन्धनमा तीनै तहको निर्वाचन एकै चोटी गर्नेबारेमा पनि कुरा भइरहेको छ', उनले भनेका थिए, 'तर हामी छलफलकै चरणमा छौँ। यसबारेमा निर्णयमा पुग्न बाँकी नै छ।'

त्यसक्रममा स्थायी कमिटी सदस्यहरुले तीनै तहको निर्वाचन एकै पटक गर्दा राम्रो हुने सुझाव प्रचण्डलाई दिएका छन्। 

'तीनै तहको निर्वाचन एकै पटक गर्दा आर्थिक व्यवभार पनि कम हुन्छ', स्थायी कमिटी सदस्यहरुले सुझाव दिँदै भनेका थिए, 'त्यसो भएमा अहिलेको खर्चिलो निर्वाचन प्रणालीबारे पुनर्विचार गर्न पनि सहयोग गर्छ।' 

वर्षमान आउने 

माओवादी नेता ‘अनन्त’ ले सोमबार आफू नेपाल फर्किने जानकारी सामाजिक सञ्जालबाट दिएका छन्। 

लामो समयदेखि उनी थाइल्याण्ड र चीनमा उपचाररत थिए। लाखौँमा केही जनालाई देखिने जटिल प्रकारको जण्डिसको उपचारका लागि पुन १३ असोजमा बैंकक पुगेका थिए।

त्यहाँस्थित समितिभेज अस्पतालमा उपचारबाट सुधार नभएपछि पुनलाई १० मंसिरमा चीन लगेर थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा भर्ना गरिएको थियो। 

उक्त अस्पतालमा उपचार सुरु भएको केही दिनमै उनको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको थियो। 

चीनमा उपचारपछि निको भएर उनी स्वदेश फर्किन लागेका हुन्। उनी यसअघि आठौं महाधिवेशननमै सहभागी हुन आउने तयारीमा थिए।

तर उपचार बाँकी रहेपछि चीनबाटै उनले महासचिवसहितका पदाधिकारी चयन रोकिदिएका थिए। माओवादी महासचिवका लागि जनार्दन शर्मा, शक्ति बस्नेतसहितका नेताहरु पनि दौडमा थिए।

तर अनन्तले चीनमै बसेर अध्यक्षबाहेकका पदाधिकारी आफू नेपाल नआइ चयन नगर्न भन्दै रोकिदिएका थिए। अब उनी आएसँगै माओवादीका सबै पदाधिकारी टुंगो गर्ने योजनामा अध्यक्ष प्रचण्ड छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .