ad ad

राजनीति


आज सर्वदलीय बैठक बस्दै

आज सर्वदलीय बैठक बस्दै

नेपालखबर
माघ ८, २०७८ शनिबार ५:८, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज (शनिबार) सर्वदलीय बैठक बस्ने भएको छ। 

प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदको गतिरोध अन्त्य गर्ने, स्थानीय तह निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुनेछ।​

शुक्रबार बसेको पाँचदलीय गठबन्धनको बैठकले तीनै तहको निर्वाचन एकैसाथ गर्ने समझदारी गरेको छ।

बैठकमा तीनै तहको चुनावका लागि २०७९ मंसिर महिना उपयुक्त हुने निष्कर्ष सत्ता साझेदार नेताहरुले निकालेका छन्।

त्यसअघि प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा गरेको सम्बोधनमा पनि एक वर्षभित्र तीनै तहको निर्वाचन गर्ने उल्लेख गरेका थिए।

आज बस्ने सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुनेछन्। यसअघि पुस ४ गते पनि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक राखेका थिए। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन।

त्यसपछि प्रधानमन्त्री देउवाले पुस २४ गते बालकोट (ओली निवास) नै पुगेर एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। त्यसको २ सातापछि देउवाले पुनः सर्वदलीय बैठक राख्न लागेका हुन्।

एमालेले तत्कालीन अवस्थामा पार्टीको ह्विप उल्लंघन आरोपमा माधवकुमार नेपाल, रामकुमारी झाँक्रीलगायत १४ सांसदलाई कारबाही गरी संसद् सचिवालयमा पत्र पठाएको थियो। तर सोबमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूलाई सांसद पदबाट नहटाएको भन्दै एमालेले निरन्तर रूपमा प्रतिनिधि सभाको बैठकमा अवरोध गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .