ad ad

राजनीति


पेट्रोलियमको मूल्यवृद्धि : आफ्नै सरकारविरुद्ध सडकमा निस्कियो नेविसंघ

पेट्रोलियमको मूल्यवृद्धि : आफ्नै सरकारविरुद्ध सडकमा निस्कियो नेविसंघ

नेपालखबर
माघ ७, २०७८ शुक्रबार १४:१२, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै प्रर्दशन सुरु गरेको छ।

नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मीन भवन, माइतीघर मण्डलालगायत स्थानमा पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन्। 

त्यसक्रममा उनीहरुले मूल्य वृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन्। मूल्य वृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान पनि चलाइएको नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आर्दश मल्लले जानकारी दिए। 

उनले कोरोना संकटमा पनि सरकारले दैनिक उपभोग्य बस्तुहरुको चर्को मूल्य वृद्धि गरेकाले त्यसको विरोध गर्नु परेको स्पष्ट पारेका छन्। 

विरोध प्रर्दशनमा नेपाल विद्यार्थी संघ, अस्कल क्याम्पसका ईकाई समिति, नेपाल कमर्श क्याम्पसका इकाई समिति, कोटेश्वर बहुमुखी क्याम्पसका इकाई समिति र प्राविधिक विद्यार्थी परिषदले नेतृत्व लिएका छन्। 

उनीहरुले मूल्य वृद्धि खारेज गर्ने आफूहरुको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्य वृद्धि खारेज गर’ लेखिएको मास्क समेत सर्वसाधारणलाई वितरण गरेका थिए।

नेपाल आयल निगमले गत बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रुपैयाँ मूल्य बढाएको छ। 

यसले अन्य दैनिक उपभोग्य बस्तुहरुको समेत मूल्य वृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरु प्रर्दशनमा उत्रिएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .