ad ad

राजनीति


अवकाश लिनु चार दिनअघि सहसचिव खरेलको सचिवमा बढुवा

अवकाश लिनु चार दिनअघि सहसचिव खरेलको सचिवमा बढुवा

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १९:४७, काठमाडौँ

सरकारले सहसचिव शंकर प्रसाद खरेललाई सचिव पदमा बढुवा गरेको छ। 

बढुवा समितिको सिफारिसमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई सचिवमा बढुवा गरेको हो। 

समितिले यही साता पहिलो नम्बरमा रामेश्वर दंगाल, दोस्रोमा मुकुन्द निरौला र तेस्रोमा खरेललाई सिफारिस गरेको थियो। 

सिफारिस भएकामध्ये वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने प्रचलन भएपनि मन्त्रिपरिषद्ले कनिष्ठ सहसचिवलाई बढुवा गरेको हो। 

अवकाश पाउनु चार दिनअघि मात्रै खरेलको सचिवमा बढुवा भएको हो। खरेल ५८ वर्षे उमेरहदका कारण सहसचिवबाट माघ ४ गते अवकाश पाउने क्रममा थिए। सचिवमा बढुवा हुन उनले राजनीतिक शक्तिकेन्द्रका ढोका चाहर्दै आएका थिए। उनी हाल लोकसेवा आयोगमा कार्यरत छन्। 

‘राजनीतिक पहुँच र प्रभावमा अवकाश पाउनै लागेका सहसचिवलाई सचिव बनाउनु प्रशासनतन्त्रको विकृति हो। यसमा कर्मचारी र नेताको स्वार्थ मिलेको देखिन्छ’ सामान्य प्रशासन मन्त्रालयका एक सहसचिवले भने, ‘खरेललाई किन सचिवमा बढुवा गरियो भन्ने रहस्य विस्तारै खुल्दै जाला।’ 

खरेललाई सचिव बनाउने योजना अनुसार नै अघिल्लो साता सरकारले प्रधानमन्त्री कार्यालयमा सचिवको नयाँ दरबन्दी समेत सिर्जना गरेको थियो। तर मन्त्रिपरिषद्को उक्त निर्णय गोप्य राखिएको थियो। 

खरेल २०४४ साल साउन १ मा सेवा प्रवेश गरेका थिए। उनी २०६९ फागुन २६ मा सहसचिवमा पदोन्नति भएका थिए। 

त्यसैगरी प्रधानमन्त्री कार्यालयमै अर्को एक विशेष सचिवको दरबन्दी समेत सिर्जना गरिसकिएको छ।

विगतमा पाँच सचिवको दरबन्दी रहेपनि सचिव खगेन्द्र प्रसाद नेपालका लागि विशेष दरबन्दी सिर्जना गरिएको हो। प्रधानमन्त्री कार्यालयमा रहने सचिवको संख्या नौ पुगेको छ। ती सबै सचिवलाई बस्नका लागि कुर्सीको समेत अभाव भएको छ। 

पछिल्लो मन्त्रिपरिषद् बैठकले दुई सचिवको दरबन्दी थपेसँगै सरकारका सचिवको संख्या ७४ पुगेको छ। 

अनावश्यक रुपमा सचिवको दरबन्दी थप्नु गलत रहेको पूर्व मुख्यसचिव विमल कोइराला बताउँछन्। 

‘औचित्य नै पुष्टि हुन नसक्ने गरी सचिवको दरबन्दी थप्दा त्यसले प्रशासन क्षेत्रमा अनावश्यक बोझ मात्रै हुन्छ’ उनले भने। 

‘नयाँ संघीय संरचनामा माथिल्लो तहदेखि तल्लो तहसम्म कर्मचारी घटाउँदै लानुपर्ने हो। तर राजनीतिक शक्तिकेन्द्रका भनसुनमा कर्मचारी दरबन्दी थपिएको थपिएकै छ’ उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .