नेपाली कांग्रेसले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को फैलावट रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
कांग्रेस सचेतक पुष्पा भुसालले दुई तीन हप्ताभित्र नै उच्च संख्यामा बढ्ने आकलन भइरहेका बेला स्वास्थ्यमन्त्री विरोध खतिवडालाई रोकथामका लागि सुझावसहित ध्यानाकर्षण गराएकी हुन्।
ज्ञापनपत्र बुझ्दै मन्त्री खतिवडाले ध्यानाकर्षणका गराइएका विषयहरु महत्वपूर्ण र संवेदनशील रहेको भन्दै मन्त्रालयले उठान भएका विषयहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन्।
ज्ञापनपत्रमा परीक्षणको दायरा बढाएर समयमै कोरोना नियन्त्रण गर्नका लागि तत्काल पहल गर्नुपर्ने, वृद्धवृद्धा, दीर्घरोगी र बालबालिका बढी जोखिममा पर्ने हुँदा उच्च प्राथमिकतामा राख्नुपर्ने उल्लेख छ।
नेपालमा तत्काल सबै नागरिकसामु खोप-बुष्टर- पुर्याउनुपर्ने दायित्व र प्राथमिकता सरकारको भएको हुँदा पर्याप्त खोप-बुष्टरमा सर्वसाधरणको सहज र सरल पहुँच पुर्याउन सम्बन्धित सबै संयन्त्रलाई परिचालन गर्नका लागि निर्देशन दिन पनि मन्त्री खतिवडाको ध्यानाकर्षण गराइएको छ।
नयाँ भेरियन्टका कारण बढ्न सक्ने संक्रमितको चापलाई मध्यनजर राख्दै देशभरीका स्वास्थ्य केन्द्र, अस्पतालहरुमा पर्याप्त तयारीका लागि सरकारबाट सक्दो सहयोग प्रदान गर्न, स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सुरक्षाकर्मी एवं कोरोना रोकथामका लागि खटिएका ‘फ्रन्टलाइनर’ लाई प्रोत्साहन स्वरुप कोरोना सुविधा, राहत प्रदान गर्दै सर्वसाधारणलाई समेत कोरोना बीमाको व्यवस्था गर्न पनि भनिएको छ।
ज्ञापनपत्रमा नयाँ भेरियन्ट फैलिन नदिन सीमामा हेल्थ डेक्स, होल्डिङ सेन्टर, आइसोलेसन सेन्टरको समयमा व्यवस्थापन गर्न केन्द्र, प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्न, कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारका तर्फबाट तुरुन्त योजना बनाएर कार्यान्वयन गर्न र कोरोना भाइरसलाई फैलिन नदिनका लागि आफू र अरुको जीवन रक्षाका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको छ।
Shares
प्रतिक्रिया