ad ad

राजनीति


आयोगले बोलाएको बैठकमा एमाले र एकीकृत समाजवादीका नेताबीच घोचपेच

आयोगले बोलाएको बैठकमा एमाले र एकीकृत समाजवादीका नेताबीच घोचपेच

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार १५:२, काठमाडौँ

निर्वाचन आयोगले शुक्रबार बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) र एमालेबाटै विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) का नेताबीच घोचपेच भएको छ।

बैठकमा सहभागी एकीकृत समाजवादीका नेता रामकुमार भट्टराईले एमालेका उपमहासचिव विष्णु रिमाललाई लक्षित गर्दै संसदमा ‘अनावश्यक अवरोध’ खडा गरेको बताए।

आयोगले निर्वाचनका लागि कानुन निर्माण गर्नुपर्ने बताएपछि भट्टराईले ‘नेकपा एमालेले संसद अवरोध गरेको छ, अनि कसरी कानुन बन्छ?’ भनी प्रश्न गरेका थिए।

बैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी लगायत दलले निर्वाचन लगायत अन्य कानुन बनाउन संसदकाे अवराेध हट्नुपर्ने बताएका थिए।

त्यसपछि भट्टराईले रिमाललाई घाेचपेच गर्दै संसदमा अनावश्यक बखेडा झिकेर एमालेले अवराेध गरेकाे बताएका हुन्।

जवाफमा रिमालले मौजुदा कानुन अनुसार नै निर्वाचन गर्न सकिने बताएको सहभागी एक नेताले जानकारी दिए।

आयोगले शुक्रबार राष्ट्रिय सभा निर्वाचन, मतदाता नामावली संकलन र आगामी स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको थियो।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले उपमहासचिव रिमालले तोकिएको समयभित्र स्थानीय तहको निर्वाचन गर्नुको विकल्प नरहेको आयोगले जानकारी दिएको बताए। 

‘एउटा कुरा उहाँहरुले के राख्नुभयो भने निर्वाचन बाहेक स्थानीय तहमा अर्को कुनै विकल्प छैन। स्थानीय तहका पदाधिकारीको म्याद थप्न पनि पाईंदैन र उसले गर्ने काम अरु कसैले गर्न पनि पाउँदैन। त्यसकारण एउटै मात्र विकल्प भनेको तोकिएको समयभित्र निर्वाचन गर्नु हो। तोकिएको समय भनेको आगामी २०७९ साल जेठ ५ गते भन्दा अगाडि। त्यहाँ चाहीँ पद बहाली गराउने गरी निर्वाचन गर्नुपर्छ भन्ने उसको भनाई थियो’ रिमालले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .