ad ad

राजनीति


मेडिकल कलेजका समस्या एक दुई दिनमै समाधान हुन्छन् : शिक्षामन्त्री पौडेल

मेडिकल कलेजका समस्या एक दुई दिनमै समाधान हुन्छन् : शिक्षामन्त्री पौडेल

नेपालखबर
पुस २९, २०७८ बिहिबार १८:५, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माफियाहरुबाट राज्य नडराउने बताएका छन्।

चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले कसैको धम्की, घुर्की र दबाव सरकारलाई मान्य नहुने बताएका हुन्।

उनले कानूनसम्मत काम नगरी विद्यार्थीहरूबाट जथाभावि शुल्क लिएको पाइए कानून बमोजिम कारबाही गर्ने बताए। 

मन्त्री पौडेलले कुनै पनि शक्तिले केन्द्रमा धाएर वा सरकारलाई दबाव दिएर कानून बिपरितको काम गरे मन्त्रालयले छुट नदिने भन्दै सम्बन्धित युनिभर्सिटीका प्रतिनिधिहरूलाई बोलाएर आज वा भोलिसम्म समस्याको समाधानमा लाग्ने बताए। 

उनले राज्यका निकायलाई धम्क्याउने, अनावश्यक प्रयोग, परिचालन गर्ने, कानून आफ्नो हातमा लिने, कानून विपरित काम गर्ने, शक्ति केन्द्रहरु धाएर कानून विपरितका कामहरु ढाकछोप गर्न खोज्ने प्रकारको प्रवृत्तिलाई शिक्षा मन्त्रालयले सहन नसक्ने बताए। मन्त्री पौडेलले शिक्षा मन्त्रालय यी कुरामा मूकदर्शक भएर नबसेको भन्दै मन्त्रालय र आयोग मिलेर सार्वजनिक धारणा बनाइ कारबाही अघि बढाउने बताए।

त्यस्तै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले आयोगको तर्फबाट गर्नुपर्ने कामका लागि आयोग पछि नहट्ने बताए। उनले सुरुका दिनदेखि नै आयोगले अनियमित कुराहरुलाई नियमित गर्न लागि परेको बताए। उनले बेथिति सुधारको अभियानमा उठाइएका हरेक आवाज आयोगको भएको बताए।

विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिइ एम.बी.बी.एस, बी.डी.एस र बी. एन. एसमा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले विद्यार्थीहरूसँग बढी शुल्क लिएको भन्दै शिक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्।

उनीहरुले शिक्षाजस्तो अत्यावश्यक सेवा आफ्नो चंगुलमा राख्ने र विद्यार्थीको अधिकार र भविष्यमा प्राप्त सफलतामाथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .