नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कमजोर ठान्नेहरू गठबन्धन बनाएर हिँडिरहेको बताएका छन्।
देशका ६३ जिल्लामा शुक्रबार सुरु भएको एमाले जिल्ला अधिवेशनको केन्द्रीय कार्यालय थापाथली हाइटबाट सम्बोधन गर्दै उनले यसो भनेका हुन्।
उनले सम्बोधनका क्रममा देशको कम्युनिष्ट आन्दोलन फुटाएर माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको गफ हान्न हिँडेको पनि बताएका छन्।
'कुनै पार्टीको महाधिवेशन हामीले देखेका छौँ। दुईतिहाइ बहुमत टुक्राउने, अनेक तमासा गरेर सरकार गिराउने काम भएको छ', माओवादीतिर लक्षित गर्दै उनले भने, 'विपक्षीसँग मिलेर, विरोधी दर्शन सिद्धान्त र विरोधी उद्धेश्य शक्तिसँग मिलेर हिँड्ने अनि विकासको बाटोमा अगाडि बढेको सरकार ढालेर समाजवादको कुरा गरिरहेका छन्।'
पाँच दलीय गठबन्धनलाई पाँच दिशामा फर्किएको स्वार्थीहरुको समूहको पनि संज्ञा दिए।
'पाँच दिशातिर फर्किएको गन्तव्य नभएको स्वार्थ समूहहरूको गठबन्धनको सरकार बनाउने काम भएको छ। तिनैले समाजवाद निर्माणको गफ दिँदै गरेका छन्। हिँड्ने एकातिर भन्ने अर्कै होइन हाम्रो नीति', उनले भने।
उनले माओवादी र एकीकृत समाजवादीतिर संकेत गर्दै आफूलाई कमजोर देख्नेहरू गठबन्धनको सहारामा हिँडिरहेको पनि दोहोर्याए।
'जो जति कमजोर छ, त्यसलाई गठबन्धन चाहिएको छ। एमाले एक्लै चुनौती सामना गर्न सक्छ। एमालेलाई जनताबाट कसैले अलग गर्न सक्दैन', उनले भने, 'अहिले आर्थिक क्षेत्रमा ६ महिना खेर गयो। अझै यस्तो समय खेर जान्छ।'
ओलीले 'कोही भोकै पर्दैन, कोही भोकै मर्दैन' भन्ने पार्टी हो एमाले भएको पनि बताए। 'गरिबको घरमा छानो हालिदिने पार्टी हो एमाले। तुइन काटेर खोलामा हालिदिँदा पनि बोल्न नसक्ने होइन एमाले', उनले भने, 'पाँचतिर फर्किएका पाँच भाइ छन्। चुइँक्क बोल्न सक्दैनन्। सरम लाग्छ। त्यस्ताहरु सरकारमा बस्न कसरी हक राख्छन्?'
अहिलेको सरकार बस्नेहरुलाई त्यहाँ जानै नसुहाउने बताए। 'अहिलेको गठबन्धन सरकारमा बस्न सुहाउने नै होइन। संसदले सरकार परिवर्तन भएकै थाहा पाएन', उनले भने, 'संसदले प्रधानमन्त्री हटाइएको र अर्को प्रधानमन्त्री नियुक्त गरेको पनि थाहा पाएन।'
भिडिओ
Shares
प्रतिक्रिया