राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनयन गर्दा विधानको उल्लंघन तथा पक्षपात भएको आरोप लगाएका छन्।
हालै काठमाडौंमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हरेक निर्णयको विरोध गरिरहेका छन्।
यसअघि उनले राप्रपा काभ्रे जिल्ला समितिका अध्यक्षलगायत नेतालाई पार्टीबाट निष्कासन गरिएकाे निर्णयप्रति आपत्ति जनाएका थिए।
यो पनि : कमल थापाको आरोप : राजेन्द्र लिङ्देनको निर्णय अवैधानिक
अहिले राप्रपा केन्द्रीय समितिमा सदस्यहरूको मनोनय गर्दा पनि थापाले प्रश्न उठाएका हुन्।
राप्रपाका पूर्वअध्यक्ष थापाले बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनयन गर्दा एकपक्षीय र पूर्वाग्रही रूपमा गरिएको आरोप लगाएका हुन्।
‘राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रही रूपमा गरिएको मनोनयनको भत्सर्ना गर्दछु’, थापाले भनेका छन्, ‘३३ प्रतिशत अनिवार्य महिला मनोनीत गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन भएको छ। मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको छ। जनाधार भएका नेताहरूलाई उपेक्षा गरी चुनाव हारेकालाई मनोनीत गरिएको छ।’
Shares
प्रतिक्रिया