ad ad

राजनीति


सभापति देउवाले पेल्ने नीति लिएपछि कोइराला समूह सशंकित

नेताहरु भन्छन् : संघर्ष गर्छौँ तर आत्मसमर्पण गर्दैनौँ
सभापति देउवाले पेल्ने नीति लिएपछि कोइराला समूह सशंकित

बसेरा होटलमा आयोजित भेलामा डा. शेखर कोइराला पक्षका नेताहरु। तस्बिर : विक्रम राई/नेपालखबर


केशव सावद
पुस २१, २०७८ बुधबार २२:११, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पेलेरै अगाडि बढ्न खोजेपछि सशंकित भएको छ। 

चौधौं महाधिवेशनबाट सभापतिमा दोस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्रीसमेत रहेका देउवाका विभिन्न निर्णयबाट उनी पेलेरै अगाडि बढ्ने नीतिमा पुगेको भन्दै कोइराला समूहले प्रतिरोधको रणनीति बनाएको हो।

देउवाले पेलेर अगाडि बढ्ने संकेत देखेपछि सशंकित नेता कोइरालाले  बुधबार महाधिवेशनमा आफ्नो समूहबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूको बैठक बोलाए।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार नजिकै बसेरा होटलमा आयोजित बैठकमा सहभागी अधिकांश नेताहरुले भनाइ राख्ने क्रममा देउवाले आफूहरुलाई पेलेर अगाडि बढ्न खोजेको आशय व्यक्त गरेका छन्। 

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार अधिकांश नेताहरुले नेतृत्व आफूहरुको अपमान गरेर अगाडि बढ्न खोजेको भन्दै आपत्ति जनाएका छन्। 

‘बागमती प्रदेश सरकार पुनर्गठनदेखि बाँकी १६ जिल्लाहरुको अधिवेशन सार्ने विषयसम्म आइपुग्दा देउवाले पेलेर, अपमान गरेर अगाडि बढ्न खोजेको अधिकांशको भनाइ थियो,’ ती नेताले बैठकपछि नेपालखबरसँग भने। 

बागमती सरकार पुनर्गठन, १३ केन्द्रीय सदस्य मनोनयन, राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय र १६ जिल्ला अधिवेशन सार्नेबारे छलफल नगरेको भन्दै कोइराला समूह असन्तुष्ट छ। 

कोइराला समूहले महाधिवेशनको समीक्षाका लागि बैठक बोलाइएको बताएको छ। तर, संस्थापनसँग ‘भाग खोज्ने र पेलेर गए प्रतिवाद गर्ने’ रणनीति बनाउन समूहको बैठक बोलाएको बुझिएको छ।

जसको पुष्टि नेता कोइरालाले बैठकको सुरुवातमा राखेको लिखित मन्तव्यले पुष्टि गरेको छ। 

गगन थापा र धनराज गुरुङसहित नेताहरु। तस्बिर : विक्रम राई/नेपालखबर

‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नु भएको छ। नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौं,’मन्तव्यमा भनिएको छ, ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनु जरुरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ। निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्तालाई नियोजित किसिमले पाखा लगाउने कामविरुद्ध हामीले डटेर आवाज उठाउनु पर्छ।’ 

कोइराला समूहबाट उपसभापतिमा उम्मेदवारी दिएका नेता डा. चन्द्र भण्डारीले आफूहरुको बैठकलाई गुटको भेला भन्न नमिल्ने प्रतिक्रिया दिए। तर उनले सभापति देउवाले केन्द्रीय कार्य समितिमा गरेको मनोनयनप्रति आपत्ति जनाए। 

‘यसलाई तपाईंहरुले गुटको भेला नभनिदिनुस्। हामीले अहिलेसम्म महाधिवेशनको समीक्षा गरेका थिएनौं,’ उनले भने, ‘महाधिवेशनमा सभापति देउवाले अत्यधिक मत प्राप्त गर्नु भएको छ। त्यसैले उहाँलाई नै प्रश्न बनाउने, कपी काट्ने र नम्बर दिने पनि अधिकार छ। तर उहाँले कसैलाई नियुक्ति गर्दा मनोमानी गर्न पाउनुहुन्न।’  

कोइराला समूहबाट केन्द्रीय सदस्य बनेका अर्जुननरसिंह केसीले पनि १४ औँ महाधिवेशनपछि सभापति देउवाले दुई चरणमा १३ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्दा आफ्नो समूहसँग छलफल नगरेको भन्दै आक्रोश व्यक्त गरे। 

‘सभापतिले दुई चरणमा केन्द्रीय कार्यसमिति सदस्य मनोनीत गर्नुभयो,’ उनले भने, ‘तर, हामीसँग कुनै सल्लाह र छलफल भएन। सभापतिले त्यस्तो नियुक्ति गर्दा शक्ति सन्तुलन र न्यायोचित वितरण प्रणाली हेरेनन्।’

कोइराला समूहले आफ्नो समूहको अस्तित्व स्वीकार नगरिए सभापति देउवासामु समर्पण नगरिने पनि निष्कर्ष निकालेको छ।  

‘हामी सबैले दुर्घटनाबाट पार्टीलाई बचाउनुपर्छ। पार्टीभित्र एकता, सहमति र सहअस्तित्वलाई स्वीकारेर अघि जानुपर्छ,’ केसीले भने, ‘सहमति र सहअस्तित्व नस्वीकार्ने हो भने हामी समर्पण गर्दैनौँ। देउवासँग सहकार्य र संघर्ष दुवै हुन्छ।’

बैठकको सुरुमै नेता कोइरालाले सभापति देउवाको ‘लाइक’ र ‘डिस्लाइक’ बाट व्यक्तिको छनोट भए पार्टी दुर्घटनामा पर्नेसम्मको चेतावनी दिएका थिए। 

‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधानबाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने?,’ उनले प्रश्न गरे। 

डा. शेखर कोइराला र डा. मिनेन्द्र रिजाल संवाद गर्दै। तस्बिर : विक्रम राई/नेपालखबर

कोइरालाले भनेका थिए, ‘मलाई थाहा छ, हामी पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन सक्दैनौँ तर पार्टीभित्र हुने सबै कार्य न्यायसंगत, विधि र विधानसंगत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गरियोस् भन्ने चाहन्छौं। यी विषयहरुमा हामी आवाज उठाउन सक्ने कि नसक्ने? मलाई लाग्छ हामी सक्छौं।’

बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशनमा ४० प्रतिशत ल्याएको शक्तिलाई बेवास्ता गरे सैह्य नहुनेसम्म चेतावनी दिएको स्रोतको दाबी छ। 

‘४० प्रतिशत मत ल्याएको शक्तिलाई बेवास्ता गरेर पार्टी चल्न सक्दैन,’ बैठकमा सहभागी एक नेताले थापाको भनाइ उद्धृत गर्दै भने, ‘सभापति देउवालाई सहयोग गर्छौं तर बेवास्ता गरिए सह्य हुँदैन।’

कोइरालाले मंगलबार पनि आफ्नो पक्षका नेताहरुको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा राखेका थिए। जहाँ पनि कोइराला पक्षीय नेताहरुले महाधिवेशनमा वरिष्ठ न नेता रामचन्द्र पौडेलसहितको भूमिकाबारे चर्चा गरेका थिए।

त्यस्तै सभापति देउवा विधान र नीति विपरीत चलेको निचोड अनुपम फुडल्याण्डको बैठकले निकालेको थियो। सीमित नेताबीचको अनुपम फुडल्याण्ड बैठकबाटै बिहीबार बसेरामा भेला गर्ने निर्णय भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .