ad ad

राजनीति


‘थन्क्याउन’ लगिने प्रधानमन्त्री कार्यालयमै ७ सचिवको दरबन्दी, यी हुन् बढुवा हुन दौडिरहेका सहसचिव

​ पूर्वमुख्यसचिव विमल कोइराला भन्छन्ः बढीमा दुई जना भए पुग्छ
‘थन्क्याउन’ लगिने प्रधानमन्त्री कार्यालयमै ७ सचिवको दरबन्दी, यी हुन् बढुवा हुन दौडिरहेका सहसचिव

सचिवमा बढुवा हुने दौडमा रहेका सहसचिवहरू शंकर खरेल, केशवकुमार शर्मा, विश्वबाबु पुडासैनी र रामआधार शाह


सन्तोष घिमिरे
पुस २१, २०७८ बुधबार २०:५१, काठमाडौँ

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको दरबन्दी सात पुर्याएको छ। 

प्रधानमन्त्री कार्यालयमा अहिले पाँच सचिवको दरबन्दी छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा एक इन्जिनियरिङ सेवाका र एक प्रशासन सेवाका गरी दुई सचिवको दरबन्दी थप्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रधानमन्त्री कार्यालयका पाँच सचिवले नै काम नपाइरहेको बेला अझ दुई जना थपिएपछि त्यहाँ कार्यरत सचिवहरु नै आश्चर्यमा परेका छन्। 

अहिले प्रधानमन्त्री कार्यालयमा रहेका सचिवको कार्यभार निकै कम छ। उनीहरूलाई अधिकार पनि निकै कम दिइएको छ। 

‘यहाँ सचिवको दरबन्दी थप्नु आवश्यक छैन। अहिले यहाँ भइरहेका हामी पाँच जना सचिवको नै खासै काम छैन। न हामीलाई अधिकार दिइएको छ, न हामीले हेर्ने क्षेत्र स्पष्ट छ,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले नेपालखबरसँग भने। 

प्रधानमन्त्री कार्यालयका सचिवलाई सरकारी निकायको अनुगमन गर्ने र आवश्यक परे ती निकायलाई नीतिगत सल्लाह दिने खालको भूमिका दिइएको छ। त्यसैले सकेसम्म कुनै पनि सचिव प्रधानमन्त्री कार्यालयमा सरुवा भएर जान चाहँदैनन्। 

कुनै सचिवलाई मन्त्रालय वा अन्य सरकारी निकायबाट सरुवा गर्नुपर्यो भने प्रधानमन्त्री कार्यालयमा लगेर थन्क्याउने गरिएका उदाहरण छन्। 

‘प्रधानमन्त्री कार्यालयमा सरुवा गरिदिनु भनेको बेकामे बनाइदिनु हो भन्दा फरक पर्दैन,’ अर्का एक सचिवले भने। 

संघीय मन्त्रालय वा निकायका सचिवको मन्त्रीसँग कार्यगत वा व्यक्तिगत असमझदारी भए सरुवा हुने गरेको छ। त्यस अवस्थामा सचिवलाई ‘लो प्रोफाइल’ भनेर चिनिएको प्रधानमन्त्री कार्यालयतिर ‘मिल्काइदिने’ गलत परिपाटी बसालिएको छ। 

प्रधानमन्त्री कार्यालयमा बढीमा दुई सचिवको दरबन्दी पर्याप्त 
पूर्वमुख्यसचिव विमल कोइराला प्रधानमन्त्री कार्यालयमा धेरै सचिवको दरबन्दी राख्नु निरर्थक भएको बताउँछन्। 

‘एकजना सचिवले प्रधानमन्त्रीलाई सघाउने र अर्कोले मुख्यसचिवसँग निकट रहेर काम गर्ने व्यवस्था गर्दा उपयुक्त हुने देख्छु,’ कोइरालाले नेपालखबरसँग भने। 

आफू मुख्यसचिव हुँदा प्रधानमन्त्री कार्यालयमा रहेका तीन सचिवको दरबन्दी घटाएर दुई जनामा सीमित गरेको उनी सम्झिन्छन्। 

मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा कर्मचारीको संख्या घटाउनेमा ध्यान दिनुपर्ने उनको सुझाव छ। 

‘यसैपनि हाम्रो कर्मचारीतन्त्र भद्दा छ। संघीय संरचनामा देश गइसकेको बेलामा पनि अनावश्यक कर्मचारी थपेर बोझ सिर्जना गर्नुहुँदैन। बरु छरितो र सेवामुखी प्रशासन कसरी बनाउने त्यसतर्फ हामीले सोच्ने बेला आएको छ,’ कोइरालाले भने। 

अहिले प्रधानमन्त्री कार्यालयमा शिशिरकुमार ढुंगाना, लक्ष्मण अर्याल, रामप्रसाद थपलिया र सूर्य गौतम सचिव छन्। कानुनतर्फका धनराज ज्ञवाली सचिव छन्। त्यसैगरी सरकारले सचिव रमेशकुमार सिंहलाई प्रधानमन्त्री कार्यालय मातहत अतिरिक्तमा राखेको छ।

अवकाश पाउन लागेका सहसचिवका लागि दरबन्दी थप                           
हाल लोकसेवा आयोगमा रहेका सहसचिव शंकरप्रसाद खरेललाई सचिव बनाउन प्रशासनतर्फको पद सिर्जना गर्न लागिएको सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दियो। सहसचिव खरेलले माघ ४ गते निजामती सेवाबाट अवकाश पाउँदैछन्। २०४४ साल साउन १ मा सेवा प्रवेश गरेका उनी ५८ वर्षे उमेरहदका कारण निवृत्त हुँदैछन्। खरेल २०६९ फागुन २६ मा सहसचिवमा पदोन्नति भएका थिए। 

सहसचिव खरेललाई केही दिनकै लागि भए पनि सचिव बनाउन प्रधानमन्त्री कार्यालयमा प्रशासन सेवातर्फ सचिवको दरबन्दी सिर्जना गरिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए। 

‘खरेल बढुवा भए केही दिन मात्रै हाजिर गर्न पाउलान्। तर उनी आफ्नो नाम जसरी भए पनि सचिवको सूचीमा राख्न कम्मर कसेर लागेका छन्। उनकै लागि प्रधानमन्त्री कार्यालयमा सचिवको दरबन्दी खडा गरिएको छ,’ ती अधिकारीले नेपालखबरसँग भने।

त्यसैगरी प्रधानमन्त्री कार्यालयमा अर्का एक इन्जिनियरिङ सेवाको सचिव पदको दरबन्दी समेत थपिएको छ। 

थपिएका दरबन्दीमा सचिव बन्न सहसचिव रामआधार साह र विश्वबाबु पुडासैनीले राजनीतिक दौडधुप गरेका छन्। पुडासैनी प्रशासन सेवाका सहसचिव हुन् भने शाह इन्जिनियरिङ सेवाका सहसचिव हुन्। 

त्यसैगरी केही समययता अर्का सहसचिव केशवकुमार शर्मा बिडारी समेत सचिव बन्न दौडधुपमा लागेका थिए। तर शर्माको तत्काल सचिवमा बढुवा हुने सम्भावना छैन। 

लगानीमा बोर्डमा पनि एक सचिवको दरबन्दी थप 
त्यसैगरी लगानी बोर्डमा एक सचिवको दरबन्दी थप्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। संघीय मामिला मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण खारेज भएसँगै त्यहाँ सचिवको जिम्मेवारीमा रहेका सुशील तिवारीलाई अब लगानी बोर्डमा व्यवस्थापन गर्न लागिएको हो। त्यसैका लागि बोर्डमा नयाँ दरबन्दी गर्ने निर्णय लिइएको हो। 

राजनीतिक शक्तिकेन्द्रको भनसुनमा सचिव पदको दरबन्दी सिर्जना भएको सामान्य प्रशासन मन्त्रालयका एक अधिकारी बताउँछन्। सरकारले तीन वटा दरबन्दी थपेसँगै अब सचिवको दरबन्दी ७४ पुगेको छ। अहिले संघ र प्रदेशका विभिन्न सरकारी निकायमा ७१ सचिवको दरबन्दी छ।

साविकको सचिव दरबन्दी नै आवश्यकताभन्दा बढी देखिएका बेला अवकाश पाउन लागेका केही सहसचिवलाई बढुवा गरिदिन सचिवको दरबन्दी थप्नु गलत रहेको प्रशासनविद्हरु बताउँछन्। 

‘राजनीतिक नेतृत्वले कुनै कर्मचारी विशेषको स्वार्थमा सचिवको दरबन्दी सिर्जना गर्नु गलत हो। यसो गर्दा राजनीतिक व्यक्तिले कर्मचारीलाई आफ्नो स्वार्थमा चलाउने खतरा हुन्छ,’ पूर्वमुख्यसचिव कोइरालाले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .