ad ad

राजनीति


परराष्ट्रसचिव पौड्यालसँग महासचिव विराकुनको भेट, ठप्प 'सार्क प्रोसेस'बारे छलफल

परराष्ट्रसचिव पौड्यालसँग महासचिव विराकुनको भेट, ठप्प 'सार्क प्रोसेस'बारे छलफल

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०७८ शुक्रबार १८:२३, काठमाडौँ

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव एसला रुवान विराकुनले परराष्ट्र सचिव भरत राज पौड्यालसँग शुक्रबार भेटवार्ता गरेका छन्। 

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा महासचिव विराकुनले आफ्नो पाकिस्तान भ्रमणबारे सचिव पौड्याललाई जानकारी गराए। नेपाल अहिले सार्कको अध्यक्ष छ। 

कृत्रिम अवरोध हटे सार्क सम्मेलन गर्न पाकिस्तान तयार 
सार्क महासचिव विराकुन डिसेम्बर तेश्रो साता पाकिस्तान भ्रमणमा गएका थिए। पाकिस्तानी प्रधानमन्त्री इमरान खान, विदेशमन्त्री शाह मुहम्मद कुरेसी लगायत उच्च सरकारी पदाधिकारीसँग उनले भेटेका थिए। 

पाकिस्तानी प्रधानमन्त्री खानले सार्कमा देखिएका ‘कृत्रिम अवरोध’ हटे १९ औँ सार्क शिखर सम्मेलन आफू तयार रहेको बताएको त्यहाँको विदेश मन्त्रालयले जनाएको थियो। 

प्रधानमन्त्री खानको संकेत सार्कको अर्को सदस्य मुलुक भारततर्फ थियो। सिमापार आतंकवादलाई पाकिस्तानले बढावा दिएको आरोप लगाउँदै सार्क शिखर सम्मेलनमा भाग लिन भारतले असमर्थता जनाउँदै आएको छ।

२०१६ यता सार्क प्रोसेस ठप्प 
केही वर्षयता भारत र पाकिस्तानबीचको टकरावले  ‘सार्क प्रोसेस’ ठप्प बन्दै आएको छ। 

गत अगस्टमा सदस्य मुलुक अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि सार्कको भविष्य थप संकटमा परेको छ। तालिवानी शासनलाई विश्वका कुनै मुलुकले अहिलेसम्म मान्यता दिएका छैनन्। 

तालिवान शासनले अन्तर्राष्ट्रिय वैधता नपाएका कारण सार्कका सदस्य देशले समेत अफगानिस्तानलाई सार्कको कुनै पनि गतिबिधि सहभागी गराउन चाहेका छैनन्। जसकारण गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघ महासभाको साइडलाइनमा हरेक वर्ष हुँदै आएको सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठक समेत रद्ध भयो। 

‘यसै पनि सार्क प्रोसेस ठप्प छ। त्यसमाथि तालिवान शासनले वैधता नपाएसम्म सार्कमा अफगानिस्तानलाई सहभागी गराउने पक्षमा कुनै पनि सार्क सदस्य मुलुक छैनन्’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

श्रीलंकाका पूर्व विदेश सचिव विराकुन गत मार्चयता सार्क महासचिव छन्। उनी सार्कका १४ औं महासचिव हुन्। 

त्यसयता उनले भारत र पाकिस्तानको पहिलोपटक भ्रमण गरेका हुन्। गत अगस्टमा उनले भारत भ्रमण गरी भारतका विदेशराज्यमन्त्री रन्जन सिंह, विदेशसचिव हर्ष श्रृङ्गला लगायत उच्च अधिकारीसँग भेटी अवरुद्ध सार्क प्रक्रियाबारे छलफल गरेका थिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग चाहीँ भेट गर्न पाएनन्।

सार्कमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका सदस्य छन्। 

नेपालले सन् २०१४ मा १८ औँ सार्क शिखर सम्मेलन आयोजना ग¥यो। सार्कका शीर्ष नेताबीच १९ औँ शिखर सम्मेलन सन् २०१६ को नोभेम्बरमा पाकिस्तानमा आयोजना गर्ने सहमति भयो। तर, भारत र पाकिस्तानबीचको मनमुटावले सार्क शिखर सम्मेलन सात वर्षयता हुन सकेको छैन।  

शिखर सम्मेलनका लागि सबै सदस्य मुलुक तयार भए पनि उरीस्थित भारतीय सैनिक अड्डामा आतंकवादी हमला भएपछि भारतले त्यसको दोष पाकिस्तानलाई लगायो। 

त्यसयता भारतले सार्क शिखर सम्मेलन आयोजना हुन नसक्नुमा पाकिस्तानलाई दोष दिँदै आएको छ। पाकिस्तानले चाहिँ भारतको गैरजिम्मेवारीपनले सार्क मृतप्रायः रहेको बताउँदै आएको छ। 

भारत—पाकिस्तान दुस्मनी, कश्मीर विवाद र सिमापार आतंकवादबारे मतभेदका कारण विगतमा पनि सार्क शिखर सम्मेलन प्रभावित भएका थिए। छिटफुटबाहेक सार्कका विभिन्न संयन्त्रका बैठक हुन सकेका छैनन्। 

पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन नसके अब रोलक्रम अनुसार श्रीलंकाको पालो आउँछ। पाकिस्तानमा सम्मेलन हुन नसके श्रीलंकामा आयोजना गरेर भए पनि सार्कलाई गति दिन पहल गर्नुपर्ने क्षेत्रीय मामिला विज्ञहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .