ad ad

राजनीति


पार्टी एकता समारोहमा माधव नेपाल नाचेपछि...

पार्टी एकता समारोहमा माधव नेपाल  नाचेपछि...

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी) एकीकरण कार्यक्रममा मंगलबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललागयत अतिथि नृत्य गर्ने क्रममा। तस्बिर : कृष्णराज गौतम, रासस


नेपालखबर
पुस १३, २०७८ मंगलबार १९:२२, काठमाडौँ

दिनहुँजसो राजनीतिक भेटघाटमा व्यस्त रहने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हात हल्लाएर कम्मर भाँचेर नाचेको दृश्यले कार्यक्रमका सहभागी तथा दर्शकले रमाइलो अनुभूति गरेका छन्। 

पार्टी निकट सांस्कृतिक सङ्गठनका गायक नवीन पौडेलले मंगलबार एक औपचारिक कार्यक्रममा ‘आयो समाजवादी’ बोलको गीत गाउँदा पूर्वप्रधानमन्त्री नेपालले प्रस्तुत गरेको नृत्यले सभाहलमा भएका दर्शकलाई मनोरञ्जन दिएन, गीतले प्रतिगमनकारी कदम चाल्नेविरुद्ध राम्रो सन्देश पनि दिएको छ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा नेपाल कम्युनिस्ट पार्टी जनवादी आज समाहित हुन राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा अतिथि दीर्घामा बसेका सबै अतिथिले प्रतिगमनविरुद्ध सामूहिक रूपमा नृत्य प्रदर्शन गरेका थिए।

पूर्वप्राधानमन्त्री नेपाललाई पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र पोलिटब्युरो सदस्य दीलुकुमारी पन्तले साथ दिएर नाच्दै गर्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो कला कौशल प्रस्तुत गरे। 

लोक दोहरी गायनमा अभ्यस्त मन्त्री श्रेष्ठको लचिलो नृत्यलाई सबै अतिथिले साथ दिएपछि सांस्कृतिक माहोल तातेको थियो।

जनवादी पार्टीका ४५ सदस्यीय केन्द्रीय समितिसहित १ हजार १९२ जना नेकपा एकीकृत समाजवादीमा समाहित भएको उक्त कार्यक्रममा अन्य सांस्कृतिक गतिविधि गरिएका थिए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले जनवादी पार्टीका नेतालाई पार्टीमा स्वागत गर्दै राजतन्त्र अन्त्य भएसँगै एक वंशको शासनको निरङ्कुशता समाप्त भएको अवस्थामा एक व्यक्तिको निरङ्कुशताले प्राप्त भएका उपलब्धि सङ्कटमा परेकाले समान विचारधारा भएका कम्युनिस्ट पार्टी एकीकरण गरी जनअधिकारका साथै राष्ट्रियता रक्षाका लागि नयाँ पार्टी स्थापना गरिएको बताए।

सामाजिक विकासमा समर्पित, इमान्दारी, निष्ठावान् व्यक्तिको सामूहिक अठोटले समाजमा सकारात्मक परिवर्तन गर्न सकिने धारणा राख्दै उनले भने,  ‘विचार सही छ र उद्देश्य पवित्र छ भने जस्तोसुकै सङ्कल्प पनि पूरा हुन्छ।’

राष्ट्रिय राजनीतिको विकास क्रममा पार्टीले निर्वाह गरेको भूमिकाका कारण आफ्नो पार्टीप्रति देशैभर जनताको आकर्षण बढेको दाबी गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा पार्टीको सङ्गठन अब्बल रहेको तथा बागमती र १ नम्बर प्रदेशमा सरकारको नेतृत्व पार्टीले गरेको बताए। 

पूर्वप्रधानमन्त्री नेपालले कसैले पनि नेकपा एकीकृत समाजवादीलाई कमजोर नआँक्न चेतावनी दिँदै समाजका विसङ्गति, भ्रष्ट प्रवृत्तिविरुद्ध अब युवा वर्ग क्रियाशील भई सुशासनको प्रत्याभूति गर्नुपर्ने र समग्र समस्या समाधन गर्ने सक्षमताको विकास गरी पार्टीको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताए। 

अध्यक्ष नेपालले सिङ्गो मुलुकलाई सही दिशा निर्देशन गर्न खाँचो औँल्याउँदै जनताको समृद्धिलाई केन्द्रमा राखेर नेपाली परिवेशको समाजवाद विकास गरी उद्यमशीलताका माध्यमबाट उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए। 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणका क्रममा समाहित भएको नेकपा (जनवादी)बाट पार्टीलाई बलियो बनाउन सहयोग पुग्ने विचार राखे। विगतमा भएका राजनीतिक परिवर्तनले जनताको आर्थिक उन्नति तथा जीवनस्तरमा सुदृढीकरण हुन नसकेकाले अब नीति निर्माण तथा कार्य योजनामा ती विषयवस्तु प्राथमिकतामा राखिने उनले बताए। 

पार्टीका महासचिव डा. बेदुराम भुसालले कम्युनिस्ट आन्दोलनलाई पुनःगठन गरी देशलाई समुन्नत दिशातर्फ रूपान्तरण गर्न छरिएका वामपन्थी पार्टीलाई एकताबद्ध गरिने प्रतिबद्धता व्यक्त गरे। 

नेकपा (जनवादी) का नेता डीएस महतले नेकपा एकीकृत समाजवादीको नेतृत्व निष्कलङ्कका साथै राष्ट्रवादी भएको तथा अधिकतर नेताको जीवनशैली सादगी भएकाले आफूहरू समाहित भएर राम्रो पार्टी निर्माणमा योगदान गर्ने विचार राखे।रासस  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .