ad ad

राजनीति


बहुपदीय नेतृत्व ब्युँताउँदै माओवादी, अध्यक्षमा हुने छैन चुनाव

बहुपदीय नेतृत्व ब्युँताउँदै माओवादी, अध्यक्षमा हुने छैन चुनाव

सागर न्यौपाने
पुस ५, २०७८ सोमबार ९:३६, काठमाडौँ

नेकपा माओवादी केन्द्रले आगामी राष्ट्रिय सम्मेलनबाट पार्टीमा पुनः बहुपदीय संरचना सक्रिय बनाउने तयारी गरेको छ। पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनमा बहुपदीय संरचना ब्युँताउन लागिएको हो।

अहिले सो पार्टीमा अध्यक्षबाहेकका पद अभ्यासमा छैनन्। विधानले भने अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष समेतको व्यवस्था गरेको छ।

राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष, महासचिव, सचिवलगायत चयन गर्ने माओवादी केन्द्रका एक नेताले बताए। तर, पार्टी अध्यक्षका लागि चुनाव भने हुने छैन। 

२०६९ माघ २० देखि २४ सम्म मकवानपुरको हेटौंडामा भएको महाधिवेशनबाट १ अध्यक्ष, २ उपाध्यक्ष, १ महासचिव, ३ सचिव र १ कोषाध्यक्षसहित माओवादी केन्द्र बहुपदीय संरचनामा गएको थियो।

तर, पार्टी विभाजन र २०७३ मा विभिन्न पार्टीसँग एकता भएपछि माओवादीको संरचना छिन्नभिन्न बनेको थियो। ०७५ मा नेकपा एमालेसँग एकता गरेर नेकपा बनेपछि माओवादी केन्द्रको अस्तित्व नै रहेन। 

सर्वाेच्च अदालतको फैसलापछि ब्युँतिएको माओवादी केन्द्रले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो पनि गठन गर्ने ती नेताले बताए। अहिले स्थायी समिति मात्र सक्रिय छ।

महाधिवेशन नगरेको अवस्थामा हुन लागेको राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि सहभागी हुनेछन्। काठमाडौंमा हुन लागेको सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन प्रचण्डले एक सातायता लेखिरहेका छन्।

‘हाम्रो पार्टीमा बहुपदीय संरचना कायम रहन्छ, विधानमै त्यो उल्लेख छ,’ प्रचण्डनिकट एक नेताले नेपालखबरसँग भने, ‘अध्यक्षले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लेखिरहनुभएको छ।’ 

राष्ट्रिय सम्मेलनबाट माओवादी पार्टीले आगामी कार्यदिशा, वैचारिक पक्ष र सांगठनिक संरचनाबारे निर्णय गर्नेछन्। 

‘महाधिवेशनभन्दा तल्लो तहको राष्ट्रिय सम्मेलनमा हामी नेतृत्वभन्दा बाहेक पार्टीको कार्यदिशा, वैचारिक पक्ष र संगठनात्मक संरचनाको निर्णय गर्छौँ,’ ती नेताले भने, ‘महाधिवेशनमा जस्तो संशोधन गर्ने हुँदैन, आवश्यक सुझाव भने दिन सक्छ।’

२०७३ पछि माओवादी केन्द्रको कुनै महाधिवेशन वा राष्ट्रिय सम्मेलन भएको छैन। प्रत्येक पाँच वर्षमा राष्ट्रिय सम्मेलन वा महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने व्यवस्था छ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराले अर्काे वर्ष महाधिवेशन गरिने बताए।

‘एक व्यक्ति एक समिति’ नीति पारित गरेको माओवादीले २ उपाध्यक्ष राख्ने तयारी गरेको छ।

‘अहिलेसम्म २ जना उपाध्यक्ष राख्ने विषयमा छलफल भएको छ,’ ती नेताले नेपालखबरसँग भने, ‘त्यसो हुँदा एक जना वरिष्ठ उपाध्यक्ष राखिन्छ।’

अध्यक्षपछिको शक्तिशाली कार्यकारी पद भने महासचिव हुनेछ।

‘संगठन चलाउने भएकोले महासचिव शक्तिशाली नै हुन्छ,’ ती नेताले थपे।

२ सय ९९ सदस्यीय केन्द्रीय समितिमध्ये राष्ट्रिय सम्मेलनबाट १ सय २० जनाजति केन्द्रीय सदस्य निर्वाचित गर्नेछ। 

माओवादीको अन्तरिम विधान २०७८ मा १४ केन्द्रीय निकायको व्यवस्था गरिएको छ। 

जसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, राष्ट्रिय परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च छन्।

यस्तै केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एक तिहाइ (१००) सदस्य रहेको पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ सदस्य रहेको (३३) स्थायी समितिको व्यवस्था गरेको छ।

माओवादीले दैनिक कार्य सञ्चालनका लागि अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको एक केन्द्रीय कार्यालय पनि बनाउनेछ।

माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षगरी ९ पदाधिकारी हुनेछन् भने भूगोल, जनसंख्या हेरेर प्रदेश समिति सदस्यको संख्या १ सय ७५ देखि २ सय ७५ सम्म रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .