विवेकशी साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्नो पार्टी पनि भर्खरै महाधिवेशन सकेको नेकपा एमालेजस्तै भएको बताएका छन्।
एमालेको दसौं महाधिवेशनमा जे देखियो, अनि आफ्नै पार्टीमा जे देखियो, त्यसले पार्टीहरूमा नेता होइन ‘मालिक’, अनि कार्यकर्ता होइन ‘दास’ रहेको पुष्टि भएको बताएका हुन्।
उनले आफ्नो पार्टीलाई एमालेजस्तै भनेर अध्यक्ष रवीन्द्र मिश्रलाई पनि केपी शर्मा ओलीकै स्थान (मालिक) मा राखेका छन्।
‘नेपाली समाजमा दासप्रथा उन्मूलन भएको रहेनछ। त्यो दासप्रथा पार्टीहरूमा सरेको रहेछ’, एमालेको महाधिवेशन सकिएको रात (मंगलबार) पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज नेता होइन, पार्टीहरूमा मालिक छन्। अनि कार्यकर्ताहरू (सबै होइन) ‘दास’ छन्।’
उनले अगाडि लेखेका छन्, ‘एमालेमा जे देख्यौँ, अब राप्रपा र कांग्रेसमा जे देख्छौँ, हाम्रोमै जे देखियो त्यसले प्रमाणित गर्छ। नागरिकलाई विवेकशील बनाउने अभियान चाहियो।’
मंगलबार राति सम्पन्न एमालेको दसौं महाधिवेशनले एमालेको अध्यक्षमा पुनः ओलीलाई नै अध्यक्ष बनाएको छ भने अन्य पदाधिकारीमा पनि ओलीले छानेकै मानिस परेका छन्। सुरुमा ‘सर्वसम्मत’का लागि भन्दै ओलीले पेस गरेको सूची बन्दसत्रले ताली बजाएर अनुमोदन गरेको भए पनि भीम रावलले निर्वाचन नै गर्नुपर्ने अडान लिएपछि एमालेको नयाँ नेतृत्व चयनका लागि चुनाव गरिएको थियो। मंगलबार विद्युतीय माध्यमबाट गरिएको मतदानबाट भीम रावललाई भारी मतले हराउँदै ओली पुनः अध्यक्ष बन्न सफल भएका हुन्।
यस्तै विवेकशील साझा पार्टीमा पनि केही समयअघि अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेको विरोध रहँदारहँदै पनि उनको उपस्थितिबिनै केन्द्रीय कमिटी बैठक राखेर संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गरिनुपर्ने राजनीतिक प्रस्ताव दुईतिहाइ बहुमतबाट पारित गराएका थिए। त्यसपछि भएको पार्टीको आधिकारिता विवादमा पनि निर्वाचन आयोगले मिश्र पक्षलाई नै आधिकारिक ठानेपछि पाण्डे पक्ष रुष्ट छ। र, लगभग अर्काे पार्टी खोल्ने मनस्थितिमा पुगिसकेको छ।
Shares
प्रतिक्रिया