ad ad

राजनीति


एमालेको नयाँ नेतृत्व चयन गर्न मतदान सुुरु, अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धा

एमालेको नयाँ नेतृत्व चयन गर्न मतदान सुुरु, अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म प्रतिस्पर्धा

मतदानमा सहभागी हुँदै केपी शर्मा ओली (दायाँ) र विष्णु पौडेल। तस्बिर : विक्रम राई/नेपालखबर।


नेपालखबर
मंसिर १४, २०७८ मंगलबार ४:४२, चितवन

चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयनका लागि अहिले (मंगलबार) बिहान ४ बजेदेखि मतदान सुरु भएको छ।  

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्षका उम्मेदवार केपी ओलीले बिहान ४ बजे विद्युतीय मतदान गरी निर्वाचन सुरु गरेका हुन्। 

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव तथा विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका उम्मेदवार प्रतिस्पर्धामा छन्। 

अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन्। 

एमाले निर्वाचन आयोगले मतदान राति २ बजे सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको भए पनि २ घण्टा ढिला अहिले बिहान ४ बजे मतदान सुरु भएको हो। 

एमालेका साविक अध्यक्ष केपी शर्मा ओलीले ‘सर्वसम्मत’ नेतृत्व चयन गर्न भन्दै आइतबार मध्यराति बन्दसत्रमा केन्द्रीय समिति र पदाधिकारीको सूची सार्वजनिक गरे। र, आफैंले नाम पढेर हतारहतार हलबाट अनुमोदन गराए।

तर उनकाे त्याे सर्वसम्मत प्रयास आफ्नै लागि लागू हुन सकेन। किनकि उनलाई चुनौती दिँदै साविक उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिए। 

त्यसपछि सोमबार बिहान बाध्य भएर निर्वाचन प्रक्रिया सुरु गरिएको हो। 

यस क्रममा पनि वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव (तीन) निर्विरोध निर्वाचित भए। किनकि यसमा क्रमशः ईश्वर पोखरेल, शंकर पोखरेल तथा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालबाहेक अरूको उम्मेदवारी परेन। 

तर अध्यक्ष, सचिव, उपाध्यक्ष तथा केही क्लस्टरका केन्द्रीय सदस्य पदका लागि पनि निर्धारित नामभन्दा बढीले उम्मेदवारी दिएपछि चुनाव गर्नुपरेको हो। 

विद्युतीय उपकरणबाट मतदान गर्नुपर्ने भएकाले प्राविधिक कारण पनि निर्वाचनकाे सुरुवात ढिला भएकाे हाे। 

पदाधिकारीतर्फ एक अध्यक्षका लागि दुई, ६ उपाध्यक्षका लागि लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेका छन्।  

जसअनुसार अध्यक्षमा केपी शर्मा ओली र भीम रावल, उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवासचन्द्र नेम्वाङ तथा सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट उम्मेदवार हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .