ad ad

राजनीति


बद्री पाण्डेद्वारा कांग्रेस सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

बद्री पाण्डेद्वारा कांग्रेस सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा

सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणाका लागि सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता बद्री पाण्डे।


नेपालखबर
मंसिर १३, २०७८ सोमबार ११:४६, काठमाडौँ

नेपाली कांग्रेसको आसन्न १४औं  महाधिवेशनका लागि युवा नेता बद्री पाण्डेले  सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। 

सोमबार बिहान काठमाडौंको अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरेर पिछडिएको क्षेत्रअन्तर्गत उनले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

बाजुराबाट राजनीति गरिरहेका पाण्डे संस्थापन इतर समूहनिकट नेता हुन्। 

‘विद्यार्थी राजनीतिबाट आएको हुँ १२औं (सेती अञ्चलबाट) र १३औं महाधिवेशनमा खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको हुँ’, पत्रकार सम्मेलनमा पाण्डेले भने, ‘अब खुला छोडेर पदाधिकारीमा जाने अवसर आएको छ।  म पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा उम्मेदवारी दिनेछु।’ 

यस्तै उनले अर्कोपटक अर्थात् १५औं  महाधिवेशनमा उपसभापति वा महामन्त्री पदमा उम्मेदवारी दिने जानकारी पनि दिए। 

‘अर्को पल्ट यही पदमा दोहोर्याउन्न। उपसभापति वा महामन्त्रीमा उम्मेदवार बन्न पाएन भने बरु खाली बस्छु। थप योग्यता बनाउँछु। म यसमा प्रतिबद्ध छु’, उनले भने।  

पार्टी नसुध्री राजनीति नसुध्रिने र राजनीति नसुध्री देश नसुध्रिने उल्लेख गर्दै नेता पाण्डेले भने, ‘पार्टी सुधार नै अबको जिम्मेवारी हो। पार्टी सुधार्न नेता सुध्रिन जरुरी छ। अब नेता सुधारेर देश सुधार्ने अभियानमा लाग्छु।’

आफूले चार ‘ब’मा जोड दिएको उनले बताए। ती हुन्- १. विचार : वैचारिक स्पष्टता/एकरूपता, २ विधान : विधानको अक्षरशः पालना, ३ बैठक : नियमित बैठक र ४ व्यवस्थपन : कार्यकर्ता/जनता, कार्यालय र अर्थको व्यवस्थापन। 

यस्तै एक व्यक्ति एक पद, एक कार्यालयको व्यवस्था गरिए मात्र लोकतन्त्र स्वस्थ  स्वच्छ बनाउन सकिने धारणा नेता पाण्डेले राखे। 

यस्तै राजनीति सबैले गर्ने कुरा नभएको तर सबैले गर्न थालेको उनले बताए। 

‘केहीले राजनीति गर्ने तर सीमित अवधिका लागि मात्र गर्ने हो’, उनले भने, ‘यसो गर्दा राजनीतिमा भएका विकृति हटाउन सहयोग पुग्छ।’

इतर समूहले साझा उम्मेदवार तय गरिनसकेका कारण आफूले उम्मेदवारी दिने घोषणा गरेको उनले बताए। इतर समूहको सभापतिको नाम भने खुलाएनन्।

इतरबाट वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला आकांक्षी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .