ad ad

राजनीति


एमालेमा जनवाद सकियो, ओलीको डनवाद सुरु भयो, कांग्रेसले तह लाउँछ : गगन थापा

एमालेमा जनवाद सकियो, ओलीको डनवाद सुरु भयो, कांग्रेसले तह लाउँछ : गगन थापा

कार्यक्रममा बोल्दै गगन थापा। तस्बिर : नेपालखबर


नेपालखबर
मंसिर १२, २०७८ आइतबार १४:५८, काठमाडौँ

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमाले महाधिवेशनको बन्द सत्रलाई 'ओली सेसन' को संज्ञा दिएका छन्। 

नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा आइतवार बोल्दै नेता थापाले यसो भनेका हुन्। 

उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको पनि जिकिर गरे। 

थापाले एमालेमा अब जनवाद सकिएको बताउँदै केपी शर्मा ओलीको डनवाद शुरु भएको आरोप पनि लगाएका छन्। 

नेता थापाले तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरेका काम हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको बताए। ओलीको आदर्श पुरुष उनै हुन सेन रहेको आरोप पनि उनले लगाए। 

 हुन सेनविरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लखेटिने बताएका छन्। 

‘बन्द सत्र कस्तो भइरहेको रहेछ भनेर जान्न चासो लाग्यो । त्यो पनि बन्द सेसन होइन, एक प्रकारले ओली सेसन नै चलिरहेको थियो । मैले बिहान जे भनेको थिएँ, कि नारायणीको किनारमा त्यहाँ कोही पनि मानिस स्वतन्त्र भएका छैनन्’, उनले भने, ‘त्यहाँ प्रतिष्पर्धा चलिरहेको छ। त्यो प्रतिष्पर्धामा भाग लिन्न भनेर एक जना उठेछन्, भीम रावल। भीम रावलले झण्डै पिटाइ खाएर प्रहरीले सुरक्षा दिइरहेको अवस्था छ। विधिवत रुपमा एमालेबाट हिजोदेखि जनवाद सकियो, त्यहाँ अब केपी ओलीको डनवाद मात्रै बाँकी छ।’ 

ओलीको आदर्श पुरुष उनै हुन सेन रहेको उनले दोहोर्‍याए। 

भिडियो

 

‘तत्कालीन प्रधानमन्त्री केपी ओलीको आदर्श पुरुष कम्बोडियाका प्रधानमन्त्री हुन सेन हो। हुन सेन २० औँ वर्षदेखि कम्बोडियाको प्रधानमन्त्री हुनुहुन्छ। कम्बोडियामा प्रजातन्त्र छ, प्रेस पनि छ, अदालत, अख्तियार सबै छ, चुनाव पनि हुन्छ। २५ वटा कम्बोडियाको पार्टीले चुनावमा भाग लियो । चुनावमा भाग लिनु भन्दा केही समयअघि मात्रै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई राजद्रोहको मुद्दा लगाइदिए’, थापाले भने, ‘त्यो पार्टीले अर्को नेता चुन्यो, उसलाई जेल हालियो। तै पनि पार्टीले चुनावमा भाग लिन्छु भन्दा पार्टीलाई प्रतिवन्ध लगाइयो। १२५ निर्वाचन क्षेत्रमा २५ पार्टीले भाग लिँदा हुनसेनको पार्टीले १२५ सिटमा नै जित निकाल्यो। कम्बोडियामा प्रेस छ, तर हुनसेनविरुद्ध लेख्नेलाई भीम रावल झैँ लखेटिन्छ। उसविरुद्ध फैसला गर्ने न्यायाधीशले त्यही दिनबाट अदालत छोडेर जानुपर्छ।’

नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने पनि बताए। 

१० औँ महाधिवेशनपछि नेतृत्वमा आउने एमालेले जनवाद गुमाएर देशको प्रजातन्त्र सक्ने बाटोमा अघि बढेको पनि आरोप लगाए। 

नेता थापाले एमाले अहिले बरालिएको भन्दै त्यसलाई सही ठाउँमा ल्याएर प्रतिष्पर्धा गर्ने ल्याकत कांग्रेसले राख्नु पर्ने पनि बताएका छन्।

‘हामीले के कुरा बुझ्नु पर्छ भने नेकपा एमालेले राष्ट्रिय राजनीतिमा लिने पोजिसन, उसले लिने राजनीतिक कार्यदिशाले नेपाली कांग्रेससँग धेरै ठूलो महत्व राख्छ । चितवन महाधिवेशनपछि आएको नेकपा एमालेले आफ्नो भित्रको जनवादलाई सकाएको मात्रै होइन, देशको प्रजातन्त्रलाई सक्ने बाटोमा यो अघि बढेर आउँछ । त्यो शक्तिको रुपमा आउँछ’, उनले भने, ‘अब एमालेसँग केही समय हामीले जुध्दै गर्दा हिजो माओवादीलाई हतियारबाट बाहिर निकालेर संसदीय राजनीतिमा ल्याएको जस्तै एमाले बरालियो, बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली कांग्रेसले गर्न सक्नुपर्छ। नचाहिने कुरा गरेमा हप्काउने तागत कांग्रेसले राख्नुपर्छ। एमाले हाम्रो शत्रु होइन तर बरालिएकोलाई ठीक ठाउँमा ल्याएर प्रतिष्पर्धा गर्ने काम कांग्रेसको हो। यो तागत कांग्रेसले अधिवेशनबाट ल्याउनु पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .