ad ad

राजनीति


एमाले महाधिवेशनः नारायणगढ–बुटवल राजमार्गमा आजैदेखि ठूला सवारीसाधनलाई रोक

एमाले महाधिवेशनः नारायणगढ–बुटवल राजमार्गमा आजैदेखि ठूला सवारीसाधनलाई रोक

फाइल तस्बिर (दाउन्ने सडकखण्ड)


रासस
मंसिर ९, २०७८ बिहिबार १४:११, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । 

सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ । विशेषगरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताए।

साँघुरो र उकालो÷ओरोलो सडक रहेको दाउन्नेमा मालबहाक सवारीसाधनका कारण दिनहुँ जाम हुने गरेको छ । महाधिवेशनमा आउने सवारीसाधनको सङ्ख्या बढी हुने र त्यसको सहजताका लागि सवारीसाधनमा रोक लगाएको प्रजिअ पङ्गेनीले बताए।

 सो खण्डमा जाम भइहालेमा तत्काल बाटो खुलाउन क्रेनको व्यवस्था गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम हुँदै आउने मानिस दाउन्ने सडक हुँदै चितवन जानुपर्ने हुन्छ । लुम्बिनी प्रदेशबाट मात्रै ८० हजार कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको छ । “दाउन्ने सडकको अवस्थाका कारण मालबहाक ट्रक, टिपर र अन्य खाली ट्रकलाई पूर्ण रुपमा रोक लगाइएको छ” प्रजिअ पङ्गेनीले भने, “बुटवल हुँदै काठमाडौँ जाने यात्रुबाहक बससमेत पोखरा हुँदै आवतजावत गर्ने गरी व्यवस्था मिलाइएको छ ।” 

अन्य निजी गाडीलाई पनि पोखरा हुँदै आवतजावतको व्यवस्था मिलाउन लुम्बिनी प्रदेश ट्राफिक कार्यालयसँग समन्वय गरिएको प्रजिअ पङ्गेनीले बताए। पूर्व–पश्चिम भएर आवतजावत गर्ने सवारीसाधनलाई आज साँझदेखि नै रुपन्देही र गैँडाकोटबाट रोक लगाइनेछ। आवतजावतमा थप सहजता ल्याउन चार वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना)का दुई जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको प्रजिअ पङ्गेनीले बताए।

 एमालेको राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम चितवनको नारायणी किनारमा भोलि शुक्रबार हुँदै छ। उद्घाटन कार्यक्रममा एमालेले ५ लाख मानिस उतार्ने गरी तयारी भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .