ad ad

राजनीति


नेपाल–ईयू संयुक्त आयोगको १३ औँ बैठक सम्पन्न,  साझेदारी सुदृढ गर्ने प्रतिबद्धता

नेपाल–ईयू संयुक्त आयोगको १३ औँ बैठक सम्पन्न,  साझेदारी सुदृढ गर्ने प्रतिबद्धता

नेपालखबर
मंसिर ८, २०७८ बुधबार २२:२, काठमाडौँ

नेपाल-युरोपेली संघ (ईयू) बीचको सहकार्य र साझेदारी अझ सुदृढ गर्ने प्रतिबद्दता व्यक्त गर्दै नेपाल—ईयू संयुक्त आयोगको १३ औँ बैठक सम्पन्न भएको छ। 

तहाचलस्थित होटेल सोल्टीमा आयोजित बैठकमा द्विपक्षीय हितका बृहत् क्षेत्रमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

ईयूले आगामी ६ वर्षसम्म नेपाललाई दिने विकास सहायता, जलवायु परिवर्तनका चुनौती सामनाका लागि द्विपक्षीय सहकार्य, कोरोना महामारीपछिको पुनर्स्थापनामा सहयोग, नागरिक उड्डयन र जनस्तरको सम्पर्कलगायत मुद्दामा बैठकमा छलफल भएको छ। 

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरे भने युरोपेली पक्षको नेतृत्व युरोपियन एक्सटर्नल एक्सन सर्भिस अन्र्तगत एसिया तथा प्रशान्त विभागका निर्देशक पाओला पाम्पालाओनीले  गरिन्। 

बैठकमा नेपालले युरोपेली प्रतिनिधिमण्डललाई नेपालमा लगानी बढाउन आग्रह गरेको छ। युरोपेली प्रतिनिधिमण्डलले नेपालको संक्रमणकालीन न्यायका मुद्दा चाँडै टुंगो लगाएर शान्तिप्रक्रिया पुरा गर्न आग्रह गरेको छ। 

सो अवसरमा परराष्ट्र सचिव पौड्यालले कोरोना महामारी नियन्त्रणमा ईयूले नेपाललाई दिएको सहयोगका लागि धन्यवाद दिए। उनले कार्बन उत्सर्जन घटाउन तथा हरित प्रबद्र्धनका लागि ईयूले उपलब्ध गराउन लागेको २४ करोड अनुदान सहयोगका लागि आभार पनि व्यक्त गरे। 

नेपाल र ईयूबीच संयुक्त राष्ट्रसंघलगायत अन्र्तराष्ट्रिय बहुपक्षीय सहकार्य बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बैठकमा नेपाली पक्षले नेपाली जहाजलाई युरोपेली आकाशमा जारी प्रतिबन्ध हटाइदिन आग्रह गरेको छ। 

त्यसैगरी अतिकमविकसित मुलुकको सूचीबाट विकासशील मुलुकको सूचीमा स्तरोन्नति गर्न नेपालले चालेका प्रयासमा सहयोग गरिदिन समेत नेपाली पक्षले ईयूलाई आग्रह गरेको छ। 

नेपाल र ईयूबीच कोरोना महामारीपछि पहिलो पटक भौतिक उपस्थितिमा बैठक भएको हो। सन् २०२० अक्टोबरमा नेपाल—युरोपेली संघको १२ औँ बैठक भर्चुअल माध्यमबाट आयोजना भएको थियो। 

उच्चस्तरीय युरोपेली प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, महिला तथा समाजकल्याणमन्त्री उमा रेग्मी, पर्यटनमन्त्री प्रेम आलेसँग भेटेको थियो। त्यसैगरी केही मानवअधिकारीवादीसँग भेटेर युरोपेली प्रतिनिधिमण्डलले नेपालको संक्रमणकालीन न्यायमा थाती रहेको मुद्दाबारे छलफल गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .