ad ad

राजनीति


होटल र हलहरु बुक हुन थाले, अब कांग्रेसको महाधिवेशन हुन्छ : गगन थापा

होटल र हलहरु बुक हुन थाले, अब कांग्रेसको महाधिवेशन हुन्छ : गगन थापा

नेपालखबर
कात्तिक २९, २०७८ सोमबार १२:३६, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आइतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन्। 

सोमबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले यस्तो बताएका हुन्। 

उनले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका हुन्। 

थापाले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताएकभा छन्। 

समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामूहिक क्षयिकरणको प्रमाण भएको पनि उनले बताए। 

नेपाली कांग्रेसका नेताहरु पार्टीभित्र विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक पटक चुकेको पनि थापाले बताए। 

‘हिजो हामीले केन्द्रिय समितिको बैठक सम्पन्न गर्यौं, केन्द्रीय कमिटीको बैठक सम्पन्न गरेपछि प्रदेशका निर्वाचन संयोजकहरु तोकेका छौँ। अधिवेशनको निम्ति व्यवस्थापन गर्ने समितिहरु बनाएका छौँ, हिजोको बैठकपछि भने साथीहरुलाई अब अधिवेशन हुन्छ भन्ने कुराको ढुक्क भयो, ढुक्क हुनुभएको मैले पाएको छु, किनभने पार्टीले अब होटल नै बुक गर्न थाल्यो, हल नै बुक गर्न थाल्यो भनेपछि बल्ल अधिवेशन हुन्छ भन्ने कुराको साथीहरुलाई ढुक्क भएको अवस्था छ', उनले भने, 'यद्यपि कतिपय जिल्लामा अझै पनि प्रारम्भिक अधिवेशन सम्पन्न भइरहेको, कतिपय ठाउँमा अझै विवाद छ, केही साथीहरु अनसन बसिरहनु भएको छ, केही साथीहरु अनसन बस्ने तयारीमा हुनुहुन्छ।'

थापाले सभापति शेरबहादुर देउवाले महाधिवेशनको १५/२० दिनअघिसम्म पनि नियुक्ति गरिरहेको भन्दै अझै केही आशंका रहेको बताए। 

'नेपाली कांग्रेस जस्तो पार्टीको अधिवेशनको सन्दर्भमा अधिवेशन आउनु भन्दा १५/२० दिन अघिसम्म पनि पार्टीको जिम्मा दिएको साथीहरुलाई अधिवेशन हुन्छ कि हुँदैन भन्ने अलमल रहने कुरा आफैँमा हामी कति तल झरिसक्यौँ भन्ने कुराको प्रमाण हो', उनले भने, 'हामीले आफ्नो अधिवेशन ढुक्क भएर हुन्छ भन्ने अवस्था बनेन। हामीले जति भने पनि निर्वाचन आयोगलाई तारन्तार दबाव नदिएको भए, पुस पहिलो साताभित्र आयोगलाई नेतृत्वको नाम बुझाउनै पर्छ भन्ने अनिवार्य बाध्यता नआएको भए अझै महाधिवेशन सर्थ्यो होला। कांग्रेसका नेताहरु विधानको सर्वोच्चतालाई कायम गर्ने कुरामा पटक–पटक चुकेका छन्।’

नेता थापाले अहिले अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्ने बताएका छन्। 

उनले नेपाली कांग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा कांग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताए। नेता थापाले नेपाली कांग्रेस राष्ट्रिय निर्णय गर्दा मतदाता र आम जनता खुशी हुने गरी गर्नुपर्ने बताए।

'आज अदालतमा यत्रो ठूलो समस्या देखिरहेका छौँ,अदालत स्वतन्त्र रहनु पर्छ, न्यायालय शुद्ध हुनुपर्छ, अदालत भित्रको नेतृत्व नै विचलित भयो भने त्यहाँ भित्र न्याय मर्छ र स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि काँग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ, त्यो कुरामा चुक्यो भने मतदाता रिसाउँछ हाम्रो मत घट्छ,'  उनले भने, 'कांग्रेसको १२/१५ लाख यस्तो मतदाता छ, कांग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मत हाल्दैन, दण्ड दिन्छ, त्यो मतदाता जोगाउनु पर्नेछ, ३५ लाख मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसले लिएर जानुपर्छ, मतदाता जम्मा पार्न अबको काँग्रेसले ४/५ वर्षमा के गर्छ भनेर बताउनु सक्नुपर्छ, काँग्रेसले ५ वर्ष मौका पायो भने के गर्छ भन्ने कुराको योजना बनाएर जनताको बीचमा जाने जसको आधारमा नयाँ मतदातालाई काँग्रेसलाई मत हाल्ने वातावरण होस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .