राजनीति


घनश्याम भुसालको क्षेत्रमा महाधिवेशन प्रतिनिधि छान्नै सकस

विष्णु पौडेलको क्षेत्रमा सर्वसम्मत चयन
घनश्याम भुसालको क्षेत्रमा महाधिवेशन प्रतिनिधि छान्नै सकस

फाइल तस्बिर


सुदीप भण्डारी
कात्तिक २८, २०७८ आइतबार १३:११, बुटवल

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालको गृहजिल्ला रुपन्देहीमा महाधिवेशन प्रतिनिधि छान्नै सकस भएको छ।

उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्रमा भने प्रतिनिधिहरू सर्वसम्मत भएका छन्। 

जिल्लाका ५ मध्ये २ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधि टुंग्याउन सकस परेको हो। 

क्षेत्र नम्बर २, र ५ मा सर्वसम्मत प्रतिनिधिहरू छानिएका छन्। क्षेत्र नम्बर १ मा मतदानबाट टुंगो लगाइएको छ।

घनश्याम भुसालको क्षेत्र रुपन्देही ३ र मर्चवार क्षेत्र रुपन्देही ४ मा अझै प्रतिनिधि टुंगिन सकेका छैनन्। 

क्षेत्र नम्बर ३ बाट ममता पौडेल र उमा अधिकारी सर्वसम्मत चयन भएका छन्। भुगोलबाट चुनिने ४ मध्ये क्षेत्र नम्बर ३ ‘क’ बाट विश्वराज बराल अनुप र हितराज पन्थीको नाममा टुंगो लागेको छ। 

३ ‘ख’ का प्रतिनिधिमा सहमति हुन सकेको छैन। ३ ‘ख’ बाट २ जनाको लागि ८ जना उमेदवार रहेका छन्। 

उमेद्वारहरुबीच सहमति प्रयास भइरहेको एमाले प्रदेश कमिटी सदस्य राजेन्द्र पन्थीले बताए। 

‘३ ‘क’ को अस्ति नै टुंगिएको हो। ‘ख’ को प्रयास भइरहेको छ’, उनले भने, ‘आइतवार दिउँसोसम्म टुंगो लाग्छ। सहमति प्रयास हुँदै छ।’

प्रदेश सभा निर्वाचन क्षेत्र ३ ‘ख’ मा सहमति नभएमा मतदान हुने छ। मतदान भएमा २ जनाको लागि मात्रै सिंगो निर्वाचन क्षेत्र नम्बर ३ बाट चार जनाको लागि नै चुनाव हुने छ। 

३ ‘क’ बाट टुंगिएका विश्वराज बराल र हितराज पन्थी पनि प्रतिस्पर्धामा जानुपर्ने हुन्छ। ‘महिलाहरुका लागि चुनाव गर्नु परेन। अरूका लागि प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ कै चुनाव हुन्छ,’ प्रदेश कमिटी सदस्य पन्थीले भने।  

यसअघि पालिका अधिवेशनमा पनि घनश्याम भुसालको निर्वाचन क्षेत्र सिद्धार्थ नगरपालिकामा सहमति हुन नसकेपछि मतदान भएको थियो। भुसालकै क्षेत्र पर्ने सियारी र तिलोत्तमामा पनि नेतृत्व चयनमा सकस परेको थियो। 

यस्तै जिल्लाको दक्षिण मर्चवार, रुपन्देही ४ मा पनि सहमतिमा सकस परेको छ। विगतका चुनावमा एमालेका लागि कमजोर क्षेत्र पनि हो। कार्यकर्ता समेत थोरै भएकाले यो क्षेत्रबाट २ पुरुष र एक महिला मात्रै महाधिवेशन प्रतिनिधि चुनिने छन्। 

२ पुरुषको लागि ९ जना र १ महिलाको लागि २ जना उम्मेदवार मैदानमा छन्। उनीहरुबीच सहमति प्रयास भइरहेको एमाले क्षेत्रीय इन्चार्ज बाबुलाल यादवले बताए। 

‘हिजो पनि सहमति जुट्न सकेन। आज शिव सुवेदी (जिल्ला अध्यक्ष) लाई बोलाएका छौं’, उनले भने, ‘सहमति भयो भने राम्रै हो। हुन नसके मतदान हुन्छ।’

रुपन्देही क्षेत्र नम्बर १ मा सहमति हुन नसकेपछि शनिबारै मतदान भएको थियो। मतदानबाट महिलातर्फ दुई जना उपमेयर चयन भएका छन्। 

तिलोत्तमाकी उपमेयर जागेश्वरी देवी र देवदहकी उपमेयर विद्यालक्ष्मी गुरुङ महाधिवेशन प्रतिनिधि चुनिएका हुन्। खुल्लातर्फ प्रदेश सांसद डा. कृष्ण न्यौपाने, ध्रुव खरेल, ऋषिराम सापकोटा, यज्ञ गैरे निर्वाचित भएका छन्। 

अर्का उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र पर्ने रुपन्देही २ मा शनिवार साँझ मात्रै सर्वसम्मत भएको हो। 

२ बाट चुनिएका प्रतिनिधिमा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, जिल्ला अध्यक्ष तथा बुटवलका मेयर शिवराज सुवेदी, तिलोत्तमाका मेयर बासुदेव घिमिरे, सैनामैनाका मेयर चित्रबहादुर कार्की, गोपाल राना, बलबहादुर आचार्य, बाबुराम भट्टराई, र मोहन चापागाईँ रहेका छन्। 

महिलामा बुटवलकी उपमेयर गुमादेवी आचार्य, सावित्रा अर्याल र ज्ञानु केसी छन्। 

जिल्लाको पश्चिम रुपन्देही क्षेत्र नम्बर ५ बाट भूमिलाल सापकोटा, जीवनाथ पाण्डे, शिव पौडेल, रामचन्द्र यादव र कल्पना हरिजन सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चुनिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad