सर्वोच्च अदालतमा सोमबार बन्दीप्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका ६ इजलास तोकेका छन्। त्यसमा चार संयुक्त र दुई एकल इजलास रहेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दा सुनुवाइका लागि बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्रै सुनुवाइका लागि पेसी तोकेका छन्। ती मुद्दामा सुनुवाइ हुँदैछ।
गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको आरोपका कारण न्यायालयमा प्रश्न उठेपछि जवाफ माग गर्दै न्यायाधीशहरुले सुनुवाइ गर्न इन्कार गरेका छन्।
गत सोमबारदेखि नै मुद्दाको सुनुवाइ ठप्प छ। मुद्दाको सुनुवाइ प्रभावित भएको सोमबार एक हप्ता भएको छ।
सर्वोच्च अदालतको गत सोमबार पूर्ण बैठक (फुलकोर्ट) को बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको तर्क गरिरहेका छन्।
उनले त्यो जिम्मेवारी पूरा गर्न आफू सक्षम रहेको जनाउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ-आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।
सोमबार पनि प्रधानन्यायाधीश र न्यायाधीशबीच छलफल गर्ने तय भएको छ। आइतवारको छलफलमा जबराले अपमानपूर्वक निकाल्न खोजिएकाले त्यसका लागि आफू तयार नभएको बताएका छन्।
अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन। त्यसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन्।
Shares

प्रतिक्रिया