नेकपा एमालेको पालिकास्तरीय अधिवेशनअन्तर्गत रुपन्देहीका कतिपय स्थानीय तहमा ‘सर्वसम्मत’ नेतृत्व चयन भए पनि केहीमा भने सहमति जुटाउन सकस भइरहेकाे छ।
रुपन्देही एमाले उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसालको गृह जिल्ला हो।
जिल्लाका १० वटा पालिकामा नेतृत्व चयन भइसकेको र बाँकीमा आजसम्म हुने एमाले जिल्ला अध्यक्ष शिव सुवेदीले जानकारी दिए।
‘१० वटामा नेतृत्व चयन भइसक्यो। ६ वटामा अधिवेशन चलिरहेको छ’, बुधबार बिहान उनले नेपालखबरसँग भने, ‘आज दिउँसोसम्म टुंगिन्छ।’
उनका अनुसार एमाले बुटवल नगर कमिटीको अध्यक्षमा किसन ज्ञवाली चयन भएका छन् भने उपाध्यक्षमा शोभाखर खनाल चुनिएका छन्। सचिव र उपसचिवको टुंगो लाग्न बाँकी छ।
सिद्धार्थनगरमा र तिलोत्तमामा कुनै पनि पदाधिकारी चयन हुन सकेका छैनन्। सिद्धार्थनगरको अध्यक्ष पदका लागि धुव्रप्रसाद अधिकारी, चक्रबहादुर थापा र थानेश्वर पौडेलको उम्मेदवारी परेका छन्।
तिलोत्तमा नगर अध्यक्षका लागि मीनप्रसाद पोखरेल, नेत्र बन, सुरेन्द्रश्री विश्वकर्मा, तामनाथ पाण्डेले उम्मेदवारी दिएका छन्।
तिलोत्तमाका केही भाग र सिद्धार्थनगर घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्छ।
भुसालकै क्षेत्र पर्ने सियारीमा पनि नेतृत्व चयन हुन सकेको छैन। यहाँ पनि उमेदवारी दर्ता भएर सहमतिको प्रयास भइरहेको हो।
जिल्लाको पूर्वी भागमा रहेको देवदह नगरपालिकामा पनि एमालेले नेतृत्व टुंग्याउन सकेको छैन। सैनामैना नगरपालिकामा चेतनारायण न्यौपाने नगर अध्यक्षमा चयन भएका छन्।
उनी माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका हुन्।
गत शनिबार देशभर वडा अधिवेशन गरी सर्वस्रम्मत नेतृत्व चयन गरेको एमालेले पालिका अधिवेशनमा पनि सहमतिबाटै कमिटी निर्वाचित गर्ने दाबी गरेको छ।
Shares

प्रतिक्रिया