नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद् विस्तारमा गठबन्धनसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
रुपन्देहीको बुटवलमा मंगलबार आयोजित कार्यक्रममा उनले कांग्रेस बाँकेका पूर्वसभापति गजेन्द्र हमाललाई उद्योग वाणिज्य मन्त्री बनाइएको बारेमा जबरा र गठबन्धनका नेताहरुले स्पष्टीकरण दिनुपर्ने बताएका हुन्।
हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यथार्थ कुरा बताउनुपर्ने नेता सिंहको भनाइ छ। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको गल्तीको स्पष्टीकरण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिनुपरेको बताए।
‘गल्ती सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ हामीले दिनुपर्ने,’ नेता सिंहले भने, ‘प्रचण्डजीले कांग्रेसले हो भनेर स्पष्टीकरण दिनुपरेको छ, जनताले पत्याउनुपर्यो नि। यो विषयमा प्रधानन्यायाधीश पनि विवादमा तानिएकाले स्पष्टीकरण दिनुपर्छ।’
उनले प्रधानमन्त्री देउवालाई आफू प्रधानमन्त्री हुँदा भएको आईजीपी काण्ड र प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेसले भोग्नु परेको नतिजा सम्झन पनि आग्रह गरे। कांग्रेससँग २५ प्रतिशत सांसद नहुँदा पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निगाहले कांग्रेसले सत्ताको नेतृत्व गर्न पाएको सिंहको भनाइ थियो।
फरक प्रसङ्गमा उनले मोतीपुर घटनाको यथार्थ सार्वजनिक गर्न माग गरे। गोली लागेर चार जनाको ज्यान जानु दुःखद भन्दै सिंहले सरकारले मानव सुरक्षा गर्न नसकेको आरोप लगाए।
पैदल हिँडेर न्याय माग्न माइतीघर मण्डला पुगेका माथि प्रहरी लगाएको भन्दै उनले लोकतान्त्रिक पार्टीका सभापति तथा प्रधानमन्त्री देउवाले जनताको दुःखलाई वेवास्ता गरेको आरोप लगाए।
Shares
प्रतिक्रिया