ad ad

राजनीति


बागमती र प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति

बागमती र प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति

नेपालखबर
असोज २१, २०७८ बिहिबार १८:०, काठमाडौँ

सरकार विस्तारका लागि वजनदार मन्त्रालय नदिएको भन्दै असन्तुष्ट बनेको एकीकृत समाजवादी पार्टीलाई मनाउन सत्तारुढ गठबन्धनले बागमती र प्रदेश १ को मुख्यमन्त्री दिने सहमति गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको तीन घण्टा लामो बैठकबाट यस्तो सहमति बनेको हो। 

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको स्थायी कमिटी बैठकको बीचमै बालुवाटार पुगेर असन्तुष्टि राखेका थिए। 

उनले संघीय सरकारमा मन्त्रालय बाँडफाँटमा आफूलाई अन्यायमा पारिएको गुनासो बैठकमा राखेको स्रोतले जनाएको छ। 

पार्टी बैठकमा पनि नेताहरुले मन्त्रालय बाँडफाँट र मन्त्रीको संख्यालाई लिएर असन्तुष्टि जनाएका थिए। एकीकृत समाजवादीको असन्तुष्टिकै कारण बिहीबार मन्त्रिपरिषद् विस्तार हुन सकेन।

बालुवाटार बैठकमा प्रदेश १ र बागमती दुवै प्रदेशमा हाल रहेका एमालेका मुख्यमन्त्री परिवर्तन गर्ने सहमति जुटेको छ।

बालुवाटारमा भएको सहमतिबारे अध्यक्ष नेपालले पार्टी बैठकमा ब्रिफिङ गरिसकेका छन्। समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले संघदेखि प्रदेशसम्म एकै पटक सहमति भएको बताएका छन्।

उनका अनुसार बागमती र प्रदेश १ मा मुख्यमन्त्री आफूहरुको तर्फबाट बनाउने कुरामा गठबन्धनका कांग्रेस र माओवादीसहितका दलले जनाएका हुन्। 

बागमतीमा कांग्रेसका इन्द्र बानियाँले पनि मुख्यमन्त्री दाबी गरेका थिए। एकीकृत समाजवादीले पाउने भएपछि त्यहाँ अब एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन्। 

उता प्रदेश १ मा एमालेका भीम आचार्यलाई विस्थापित गरेर समाजवादीकै राजेन्द्र राई मुख्यमन्त्री बन्नेछन्। दुवै प्रदेशमा विपक्षी गठबन्धन बहुमतमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .